आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

डीपीलाई ‘कार्यवाहक’बारे प्रश्न गर्दा स्वर्णिम मुस्कुराए

सोमबार, २६ कात्तिक २०८१, २० : ३२
सोमबार, २६ कात्तिक २०८१

पोखरा । रवि लामिछाने ज्यूँदो छँदासम्म पार्टी सभापति रहने घोषणा गरेका रास्वपा उपसभापति डीपी अर्यालसहितका नेताहरूले सोमबार दिउँसो कास्की प्रहरीको हिरासतमा आधा घण्टा बिताए ।

डीपीले आइतबारको भाषणमा भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो । हिरासतमा बसे पनि, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

उनी त्यतिमा मात्रै रोकिएनन् । अगाडि भने, ‘जेलबाट पार्टी चलाएका उदाहरण विश्वमा धेरै छन् । जेलबाट निस्केको भोलिपल्ट सरकारकै नेतृत्व गरेका पनि उदाहरण छन् ।’

लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक म्याद थपिदिएको छ ।

डीपीको उक्त भाषणले एउटा प्रश्न जन्माएको छ– रवि लामिछाने ज्यूँदो छँदासम्म रास्वपामा अब अरु नेता सभापति बन्न सक्दैनन ? वा रविको अवसानसँगै रास्वपा सकिने हो ?

सोमबार रविलाई हिरासतमै भेटेर फर्केपछि डीपीले आफ्नो भनाइलाई सुधारेर भने, ‘नमरुञ्जेल भन्ने कुरा पनि टिका–टिप्पणी भैरहेको छ । फेरि पनि भन्छु– विधानले दिएसम्म र उहाँले चाहेसम्म पार्टीको सभापति हो । उहाँलाई जीवित राख्नुप¥यो, मार्ने किसिमबाट नजाउँ भनेको हो ।’

रास्वपामा दुई जना उपसभापति छन् । सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका डीपीलाई कार्यवाहकबारे सभापतिसँग भएको छलफल सम्बन्धी प्रश्न सोधियो । उनले भने, ‘कार्यवाहक सभापति गौण कुरा हो । हामी दुवै जनाले भन्दै आएका छौँ । सिग्नेचरी नै रोकियो भने त्यसमा सभापतिज्यूसँग सल्लाह गरेर अधिकार लिन्छौँ ।’

डीपीलाई कार्यवाहकको बारेमा प्रश्न गर्दा छेउमै रहेका अर्का उपसभापति डा. स्वर्णिम वाग्ले मन्द मुस्कुराए । उनी हालसम्म कार्यवाहकको बारेमा बोलेका छैनन् । रास्वपाभित्र रविको उत्तराधिकारी खोजी भइरहेको छ । एकाथरी डीपीलाई उत्तराधिकारी मान्छन् भने अर्काेथरी स्वर्णिमले पार्टी हाँक्नुपर्ने बताउँछन् ।

सोमबार कार्यवाहकको विषयमा सोधिएको प्रश्नबारे डीपीले जवाफ दिइरहँदा स्वर्णिमचाहिँ ‘फ्लाइट छुट्न लागेको’ भन्दै बाहिरिए ।

अहिले चलिरहेको प्रदर्शनमा पनि रास्वपाको क्याप्टेन खोजी भइरहेको छ । आन्दोलनको नेतृत्वबारे प्रश्नमा कार्यवाहक प्रवक्ता मनिष झाको प्रतिक्रिया छ, ‘आन्दोलनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको छ । पुरानो दलजस्तो यो क्याप्टेन, यो अर्काे भन्ने होइन । हामी सबै क्याप्टेन हो । त्यो पाइँदैन भन्ने त हुँदैन । हामी सबैजना आफ्नो जिम्मेवारीमा लागेर काम गरिरहेका छौँ ।’

कानुनी रूपमा अगाडि बढ्दै जाँदा त्यसैगरी चल्न सकिने भन्दै उनले अहिले नै हतारो गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारे ।

रविसँग हिरासतमा गरिएको छलफलबारे नेताहरू खुलेर नबोले पनि मंगलबार बस्ने केन्द्रीय समितिको बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनबाट स्पष्ट हुने नै छ । रवि लामिछानेले उनीहरूलाई आफूमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसबारे अझै धेरै जनतालाई जानकारी गराउन अह्राए । नेताहरू मुन्टो हल्लाएर बाहिरिए । रास्वपाले यसअघि नै दोस्रो चरणको सशक्त आदोलन गर्ने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ ।

मंगलबार रविलाई बुटवल लैजाने तयारी छ । रास्वपाको आन्दोलन भने निर्क्यौल भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप