आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
फ्लाइओभर निर्माण

ग्वार्को फ्लाइओभर निर्माणको दोस्रोपटक म्याद थप्ने तयारी

वित्तीय प्रगति ४५ प्रतिशत, पुल निर्माण लगभग पूरा
सोमबार, २६ कात्तिक २०८१, २१ : ००
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माण यसअघि थप गरिएको पुस ८ गतेभित्र नसकिने भएको छ । फ्लाइओभरको निर्माण कार्य सम्पन्न गर्नका लागि दोस्रो पटक म्याद थप गर्नुपर्ने देखिएको छ । यसका लागि फेरि तीन महिना म्याद थप गर्नुपर्ने सडक विभाग गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

‘तोकिएको अवधिमा नसकिने देखिएको छ । थप तीन महिना लाग्छ । ‘वाटर टेबल’ बढेको छ गरेको कामको करेक्सन पनि गर्नुपर्ने छ,’ निर्देशक झाले रातोपाटीसँग भने ।

सरकारले ३० मिटर स्पानको ४ लेनको पुलसहितको फ्लाइओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँलाई जिम्मा दिएको थियो । रेलिगर जेभीले १७ करोड ६ लाख बराबरको रकममा बनाउने गरी २०७८ साल फागुन १२ गतेदेखि निर्माणका लागि काम सुरु भएको थियो । ठेक्का सम्झौताअनुसार यो फ्लाइओभर सम्पन्न गर्नुपर्ने म्याद २०८० फागुन ११ गते (२ वर्ष) रहेको थियो । तर सो अवधिमा सम्पन्न गर्न नसकेपछि फेरि म्याद थप भएको थियो । 

प्रगति कति ?

सरकारले तीन वर्षअघि निर्माण कम्पनीसँग ३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल निर्माण गर्नेसहितको एमएसई वाल भएको ५ सय मिटर  अप्रोच सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । उक्त  सडकमा कालोपत्रे १२ सेमी अलकत्र हुनुपर्ने, १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी सबबेस हुनुपर्ने सम्झौता छ । यसैगरी उक्त सडकमा ट्राफिक लाइटसमेत जडान गर्नुपर्ने सम्झौता छ । यसको लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये ७ करोड ७७ लाख ३३ हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी भएको छ । यसको मतलब वित्तीय प्रगति ४५.५४ प्रतिशत वित्तीय प्रगति भएको छ । 

पुल निर्माण कार्य ९८ प्रतिशत 

यो फ्लाइओभरमा ९८ प्रतिशत पुल निर्माण कार्य सम्पन्न भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । २ प्रतिशतमा पुलको रेलिङ, पेभमेन्ट रङ्गरोगन लगायतका कार्य बाँकी रहेको छ । सरकारले ३० मिटर स्पानको ४ लेनको प्रिकास्ट गर्डर पुल निर्माण गर्ने लक्ष्य लिएको थियो । जसको निर्माण कार्य लगभग सकिन लागेको जनाएको छ । 

सडक निर्माणको प्रगति कति ?

सरकारले ग्वार्को फ्लाइओभरमा ५ सय मिटर अप्रोच सडक (एमएसई वाल भएको) निर्माण गर्ने लक्ष्य लिएको छ । जसमा कालोपत्रे (१२ सेमी अलकत्र, १५ सेमी डिबिएम, ३० सेमी बेस, ३० सेमी सबबेस हुनुपर्ने छ । 

जसमध्ये कोटेश्वरतर्फ ३२० मिटर रहेको छ भने सातदोेबाटोतर्फ १८०  मिटर एमएसई वाल भएको अप्रोच सडक निर्माण गर्नु पर्ने छ । जसका लागि प्रिकास्ट कङक्रिट फेसिया प्यानल जडान कार्य भइरहेको छ । जसमध्ये कोटेश्वरतर्फ २५६ मिटरमा जडान सकिएको आयोजनाले जनाएको छ । सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटरमा जडान सकिएको छ ।  अझै  १२४ मिटरमा जडान हुन बाँकी छ । नयाँ माटो दब्ने क्रम रोकिएपछि जडान कार्य अघि बढाइने भएको छ ।  तटबन्धनको कार्य सम्पन्न भएपछि कालो पत्रे सुरु गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप