प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि कम भएसँगै हवाई टिकटमा भएको ‘कालोबजारी’पूर्ण स्थितिमा आंशिक रूपमा सुधार भएको पर्यटन व्यवसायी बताउँछन् । यद्यपि यसको लाभ कुर्न भने एक महिनाभन्दा धेरै समय कुर्नुपर्ने देखिएको व्यवसायीहरू बताउँछन् ।
विमानस्थल सञ्चालनको समय कम हुन सुरु भएको गत शुक्रबारदेखि हो । त्योभन्दा अघिदेखि नै हवाई भाडा बढ्न थालिसकेको थियो । काठमाडौँ दिल्लीको एकतर्फी टिकट नै ६०÷७० हजारसम्म पुगेको थियो । प्राधिकरणको हस्तक्षेपपछि नोभेम्बर महिनाका लागि दिल्ली जाने भाडा ४०÷५० हजारसम्ममा झरेको हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक विष्णु पाण्डे बताउँछन् । डिसेम्बर दोस्रो साताका लागि भने यो भाडा १९/२० हजारसम्ममा आइपुगेको उनको भनाइ छ । सामान्य अवस्थामा दिल्ली जाने भाडा १३ देखि १५ हजारसम्म पर्ने गरेको थियो ।
नेपाल एशोसिएयस फर ट्राभल एण्ड टुर्स (नाट्टा) का सचिव समेत रहेको पाण्डेका अनुसार तत्कालै टिकट चाहिने हो भने अहिले पनि महँगो नै छ । सामान्य अवस्था हुँदा पनि जति छिटो टिकट चाहियो उति महँगो पर्छ । १० घण्टा एयरपोर्ट बन्द हुन थालेपछि डिमाण्ड र सप्लाईको आधारमा पनि भाडा बढेको थियो । योबाहेक अस्वभाविक रूपमा बढेको भाडा चाहिँ नियन्त्रणमा आउने देखिएको छ ।
पाण्डेका अनुसार अहिले भाडादरमा घट्नुमा टीबीए प्रणाली खारेज हुनु मुख्य कारण हो । एउटै ट्राभल कम्पनीलाई एकमुष्ट टिकट बेच्न नपाउने भएपछि टिकट होल्ड गरेर महँगोमा बेच्न पाइएन, त्यही भएर भाडा घटेको उनको भनाइ छ । नोभेम्बरसम्म चाहिँ धेरै टिकट बुकिङ भइसकेको र कतिपय एयरलाइन्सले निर्णय हुनुभन्दा अगाडि नै एकमुष्ट रूपमा टिकट किनिसकेको कारणले अपेक्षित रूपमा भाडा घट्न नसकेको देखिन्छ ।
पाण्डेका अनुसार दिल्लीजस्तै अन्य गन्तव्यमा समेत भाडा वृद्धिको अनुपात लगभग उस्तै छ । चीन जाने वा त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जानेहरूको भाडा टिकट भने अरूको तुलनामा कम मात्रै महँगिएको छ ।
त्यसो त, अहिले दिल्लीमा कट्टा भएका केही उडानहरु प्राधिकरणले समायोजन गरेको छ । उता भैरहवाबाट समेत उडान सुरु हुँदा समेत यसले भाडादर नियन्त्रणमा सहयोग पुगेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता