एमालेले विपक्षी हेरेर ६ उम्मेदवार टुङ्गो लगाउने, कांग्रेसलाई कीर्तिपुरसहित २ पदमा सकस
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि अधिकांश पदमा उम्मेदवार टुङ्गो लगाए पनि केही स्थानमा टुङ्ग्याउन बाँकी छ । ती स्थानमा विपक्षीका उम्मेदवार हेरेरमात्र टुङ्गो लगाउने एमालेको रणनीति छ ।
कोशीमा एक, मधेसमा चार र कर्णालीमा एक गरी ६ पदमा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकले जिल्ला र प्रदेशबाट सिफारिस भएका उम्मेदवार अनुमोदन गरेको निर्णय सुनाए पनि केही स्थानका उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन ।
बाँकी स्थानमा एकदुई दिनभित्र टुङ्गो लाग्ने नेताहरूले बताएका छन् । यस पटकको उपनिर्वाचनमा प्रमुख दलहरूले एक्लाएक्लै निर्वाचन लड्ने बताएका छन् । सत्तामा रहेका कांग्रेस एमालेले समेत एक्लाएक्लै निर्वाचन लड्ने तयारी गरेका छन् ।
- कोशीमा एक बाँकी
कोशी प्रदेशमा आठ पदमा हुने उपनिर्वाचनमध्ये एमालेले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा तुल्सीराम विश्वास, तेह्रथुमको लालिगुराँस वडानम्बर ८ मा बुद्धबहादुर लिम्बु, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा गंगा तामाङ, उदयपुरको त्रियुगा–१२ को वडाध्यक्षमा लक्ष्मीनारायण चौधरी र ९ मा मनोज खड्कालाई उम्मेदवार फाइनल गरेको छ ।
कोशी प्रदेशका सात पदमध्ये एमालेले ताप्लेजुङको सिरिजङ्गा वडानम्बर ३ को वडाध्यक्षको टुङ्गो लगाएको छैन ।
नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले सिरिजङ्गाको वडाध्यक्षमा जिल्ला कमिटीबाट उम्मेदवारको नाम सिफारिस गरिसके पनि निर्णय हुन बाँकी रहेको बताए ।
- मधेसमा तीन वडाको बाँकी
मधेसका रौतहट, धनुषा र महोत्तरीका तीन पदमा एमालेले अझै आफ्ना उम्मेदवार टुङ्गो लगाएको छैन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडानम्बर १ र ४ तथा धनुषाको धनुषाधाम नगरपालिका १ का वडाध्यक्षका उम्मेदवारको नाम ‘फाइनल’ गर्न बाँकी रहेको नेकपा एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले जानकारी दिए ।
‘मधेसका बाँकी वडामा अरु पार्टीका उम्मेदवार हेरेरमाात्र निर्णय गर्छौं’, श्रेष्ठले सोमबार रातोपाटीसँग भने, ‘नामहरू सिफारिस भइसकेका छन् । सार्वजनिक गर्नमात्र बाँकी हो । बाँकी पनि आजभोलि नै निर्णय गरेर सार्वजनिक गरिन्छ ।’
एमालेले मधेसमा सातमध्ये रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्षमा मो. नसिम अख्तर, वडानम्बर ८ मा जिउतीदेवी यादव, महोत्तरीको रामगोपाल नगरपालिका वडानम्बर २ मा मो. सकिवल खानलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रौतहटको इशनाथ–७ सहित चार पदमा एमालेले उम्मेदवारको टुङ्गो लगाउँन बाँकी छ ।
- बागमतीका यी हुन् उम्मेदवार
एमालेले बागमती प्रदेशका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि सबै पदमा उम्मेदवार टुङ्गो लगाएको छ ।
शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मानन्धरलाई नगर र काठमाडौँ जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधर, दोखखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै कीर्तिपुर नगरपालिका–१ र ४ क्रमशः हर्ष महर्जन, बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नुवाकोटको ककनी–२ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ । एमालेले नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र महानगर तथा उपमहानगरका वडाध्यक्षका उम्मेदवार प्रदेश कमिटीबाट टुङ्ग्याउने गरेको छ भने गाउँपालिकाको वडा अध्यक्ष पदको उम्मेदवारबारे जिल्ला कमिटीबाट निर्णय गर्ने गर्छ ।
एमालेले गण्डकी प्रदेशमा हुने एक मात्र स्थान गोरखा नगरपालिकाको वडा नम्बर ५ मा दुर्गामाया थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
- लुम्बिनीका ६ पदका यस्ता छन् उम्मेदवार
लुम्बिनीको गुल्मी, रोल्पा, बर्दिया, रुकुम पूर्व र कपिलबस्तुका रिक्त सबै स्थानका लागि उम्मेदवार टुङ्गो लागिसकेको एमालेले जनाएको छ । जसअनुसार कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १, रुकुम पूर्वको पुथाउत्तरगंगा उपाध्यक्षमा केशकुमारी तुलाचन र सोही गाउँपालिका वडानम्बर २ को वडाध्यक्षमा जीवन रोकायालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर १, रोल्पाको रुन्टिगढी गाउँपालिका ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडानम्बर ४ मा क्रमशः दलबहादुर थापा, वेगम पुन र विष्णु प्रसाद देवकोटाको नाम उम्मेदवारका रूपमा टुङ्गो लागेको एमालेले जनाएको छ ।
उपनिर्वाचन हुने सबै स्थानमा सर्वसम्मत उम्मेदवार चयन भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
कर्णालीका ८ पदमध्ये सात पदमा उम्मेदवार टुङ्गो लगाएको एमालेले दैलेखको महाबु गाउँपालिकाको उम्मेदवार टुङ्गो लगाएको छैन । बाँकी सात पदमा दैलेखकै दुल्लु नगरपालिका–१३ मा लालबहादुर शाही, कालिकोटको तिलागुफा नगरपालिका–४ मा ऐनबहादुर शाही, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहोरा, कुशे गाउँपालिकाको वडानम्बर ७ मा डम्बर बहादुर घर्ती, डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा जुना रोकाय, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ मा अमृत खत्री र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाहीलाई उम्मेदवार तोकेको छ ।
महाबुमा केही दिनभित्र उम्मेदवारको टुङ्गो लाग्ने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए ।
‘महाबुमा सिफारिस भइसकेको छ । एकदुई दिनभित्र टुङ्गो लाग्छ’, शाहीले भने, ‘अरु दलले कस्ता उम्मेदवार उठाउँछन्, सोही अनुसार प्रदेशले निर्णय गर्छ’, उनले भने ।
- सुदूरपश्चिममा पाँच उम्मेदवार
सुदूरपश्चिमका ५ जिल्लामा हुने उपनिर्वाचनमा एमालेले सबै पदको उम्मेदवार टुङ्गो लगाएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा दुर्गानाथ पुजार, डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा देवबहादुर थापा, दार्चुलाको दुहु गाउँपालिका–५ मा मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए ।
- कांग्रेसलाई कीर्तिपुर र स्वामीकार्तिक खापरमा सकस
जिसस प्रमुखबाहेक नेपाली कांग्रेसले ४२ मध्ये ४० वटा पदमा उम्मेदवार चयन गरिसकेको बताएको छ । नेपाली कांग्रेसले काठमाडौँको कीर्तिपुर नगरपालिका र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार चयन गर्न बाँकी राखेको छ ।
‘कीर्तिपुर नगरपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको बाँकी छ । अन्य सबै ठाउँमा उम्मेदवार टुङ्गो लागिसक्यो,’ स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति सदस्य मधु आचार्यले भने, ‘सोमबार बिहान कुरा भए अनुसार स्वामिकार्तिकमा आजै साँझसम्म उम्मेदवार टुङ्गो लाग्ला । प्रदेश सभापतिसँग मेरो कुरा भएअनुसार बढीमा दुई दिनभित्र कीर्तिपुर नगरपालिकाको पनि उम्मेदवार टुङ्गो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा राप्रपा सांसद शाहीको फरक मत
-
सुदूरपश्चिममा दलहरूबिच विषयगत समितिको भागवण्डा टुंगियो
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय