यी सांसद जसको बोली बिक्छ
काठमाडौँ । वाद–प्रतिवाद, चर्का भाषण, आरोप–प्रत्यारोप संसद् बैठकमा दैनिक रूपमा देखिने विषय हुन् । सदनमा विषयवस्तु केन्द्रित बहसमात्र होइन, आधार र तथ्यहीन विषय पनि उठ्ने गरेको छ ।
बहस गर्ने अधिकार सांसदलाई छ । बहसबाटै संसदीय व्यवस्था पनि परिपक्व हुँदै जान्छ । सदनमा बहसको केन्द्रविन्दुमा जनताको दैनिकीसँग जोडिएको सार्वजनिक महत्त्वका कुरामात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय पनि पर्छन् । सदनमा विषयहरू उठुन् भनेरै आकस्मिक, शून्य र विशेष समयको व्यवस्था गरिएको हुन्छ । यी तीनै समयमा बोल्ने व्यवस्था भने फरकफरक छन् । कम्तीमा ३ मिनेटभित्र एउटा सदन बैठकदेखि अर्काे सदन बैठकको बिचमा घटेका घटना आकस्मिक समयमा सांसदले उठान गर्न सक्छन् । शून्य समय एक मिनेटको हुन्छ, जहाँ जनसरोकारको विषय उठान गर्न सकिन्छ । विशेष समयमा दलीय प्रतिनिधित्वको आधारमा सभामुखले समय दिएपछि उक्त समय सीमाभित्र सांसदहरूले विषय राख्ने गर्दछन् ।
त्यसबाहेक विधेयक, बजेट तथा संसद्को अन्य विषयमा रोस्टममा उभिएर सांसदले विषयवस्तुमा आधारित रहेर आफ्नो कुरा राख्न सक्छन् ।
संसदमा प्रतिनिधित्व गर्ने २७३ सांसदले आ–आफ्नो विषय आफ्नै शैलीमा राख्ने भए पनि सबै ‘माननीय’ले बोलेका विषय समान चासोका साथ हेरिँदैन । सञ्चारमाध्यममा पनि सबै सांसदले बोलेका विषय समाचार बन्दैनन् । जसले फरक ढङ्गबाट कुरा उठाउन सक्छ, उसले बोलेका विषयमा मात्र सञ्चार माध्यमले समाचार बनाउने गर्छन् ।
‘बोल्न त सबैले बोल्छन् । तर, केही २/४ सेलिब्रेटी सांसदले बोलेमात्र अर्थपूर्ण सुनिन्छ । बाँकीलाई जनताले बेवास्ता गरिदिन्छन्,’ एक सांसदले अनौपचारिक संवादको क्रममा भने, ‘महिला सांसदको झन् कम कुरा आउँछ । मिडियाले पनि २÷४ जना बाहेक अरूलाई मतलब गर्दैनन् ।’
हुन पनि संसदमा धेरै सांसदले विषय राख्छन् । ती सबै विषय जनतासम्म पुग्दैनन् । केही सीमित सांसदको कुरामात्र जनतामाझ पुग्ने गर्दछ । अझ ‘पपुलिस्ट’ कुरा भए त्यस्ता सांसदको भाषण जनतासम्म पुग्छ । तर, संसदीय व्यवस्थामा सांसदले संसदमा बोलेका कुरा रेकर्ड हुन्छ । संसद् सचिवालयले सांसदले बोलेको कुरा उतारेर राख्छ ।
सांसदको काम प्रश्न सोध्ने र सरकारलाई जनताप्रति जवाफदेही बनाउने हो । जनसरोकारको विषयमा सदनमा बहस गराउने हो । सदन जनताको प्रतिनिधित्व हुने थलो हो । सदनप्रति सम्पूर्ण राज्यसंरचना नै जवाफदेही बन्नु पर्छ । त्यसैले पनि हरेक विषय सदनमा छलफल र बहस हुने गर्दछ ।
पूर्वप्रशासक जैनेन्द्र जीवनका अनुसार जनताको चासोमा सबै सांसद परेका छैनन् । यसका पछि अनेक कारणमध्ये उनीहरूले उठाउने विषय प्रमुख रहने जीवनको भनाइ छ ।
सांसदले कति अध्ययनशील भएर, कति सूचना राखेर, विषयवस्तुको कति गहिराइमा पुगेर सदनमा आवाज उठाउँछ भन्ने बारेमा सम्बन्धित क्षेत्रका जनता जानकार हुन थालेका छन् ।
‘चुनाव लक्षित भएपछि आफ्नो निर्वाचन क्षेत्रको कुरा उठ्ने भयो नै । थोरै सांसदहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा धेरै तयारी गरेर बोल्नुहुन्छ,’ उनले भने, ‘जसलाई जनताले रूचाउँछन् नै ।’
विशेष गरेर प्रधानमन्त्री नहुँदै पनि केपी शर्मा ओलीले सदनमा गरेको सम्बोधन चासोका साथ सुनिन्छ । उनको प्रस्तुति शैली, विषयको बुझाइ तथा ‘उखान टुक्का’ प्रयोग गरेर आफ्ना कुरा राख्ने गरेका कारण प्रायः धेरैले चासो राख्ने गर्छन् ।
यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा बोल्दा चौतर्फी चासो हुन्छ नै । उनको सम्बोधनको केन्द्रमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली पर्ने गरेका छन् । ओलीप्रति उनको प्रहार र उनले बेला बेला दिने भावनात्मक भाषणको चर्चा सञ्चारमाध्यमदेखि राजनीतिक वृत्तमा हुने गरेको छ ।
सामाजिक सञ्जाल, मूलधारका मिडिया तथा वैकल्पिक मिडियाहरूमा समेत उनले बोलेका कुरामा बहस हुँदै आएको छ ।
यसबाहेक पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र शेरबहादुर देउवाले सदनलाई सम्बोधन गरे केही हदसम्म चासो हुने गरेको छ ।
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री पुस्तापछि चासोका साथ हेरिने, सुनिने र चर्चा गरिने पात्र हुन् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । थापाले सदनमा के बोल्छन् भन्ने चासोमात्र होइन, उनले लिने अडानले राजनीतिक मुद्दा नै स्थापित हुँदै आएको देखिन्छ ।
उदाहरणका लागि गगनले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’, सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति बनाउने जस्ता विषयलाई मुद्दाको रूपमा स्थापित गराए । यसबाहेक कांग्रेसबाट बोल्दा अर्का महामन्त्री विश्वप्रकाश शर्माको सम्बोधन पनि चर्चामा रहने गर्दछ । मन्त्री बनेर गए पनि पार्टीका पूर्वप्रमुख सचेतक रमेश लेखकले शालीन ढंगबाट कानुनी कुरालाई उद्धृत गर्दै राख्ने विषयले सदनमा बहस सिर्जना गर्दछ ।
नेकपा एमालेबाट धेरै बोल्ने सांसद हुन् रघुजी पन्त । प्रायः सञ्चारमाध्यममा आएका विषयलाई जोड दिएर बोल्ने उनले प्रतिपक्षमा हुँदा सत्तलाई चुनौती दिने र सत्तामा हुँदा प्रतिपक्षलाई चुनौती दिने काम गरिरहेका हुन्छन् । अनुभवी राजनीतिज्ञ उनको अभिव्यक्तिले बेलाबखत खुब चर्चा कमाउने गर्दछ ।
एमालेबाटै मुख्य सचेतक महेश बर्ताैलाको अभिव्यक्तिले पनि चर्चा पाउने गरेको छ । कानुनका विद्यार्थीसमेत रहेका बर्ताैलाले नीतिगत बहसमा आफूलाई उभ्याउने प्रयास गर्दै आएका छन् ।
यता, सांसद योगेश भट्टराईले बोलेको विषयले कतिपय अवस्थामा संसदमा सत्ता र प्रतिपक्ष आमनेसामने हुने अवस्था आउने गरेको छ । उदाहरणको रूपमा संसदमा उनले केही साता अघि माओवादी युद्धलाई ‘हिंसा’ भनेपछि एमाले–माओवादी आमनेसामने हुँदा संसद् बैठकनै अवरूद्ध भएको थियो ।
नेकपा माओवादी केन्द्रबाट सांसदहरू माधव सापकोटाले अध्ययन र तर्कसङ्गत विषय उठान गर्ने गरेका छन् । तथ्यपरक उनका अभिव्यक्तिको पक्ष विपक्षमा सामाजिक सञ्जालमा बहस हुने गरेको पाइन्छ ।
यस्तै सांसदहरू सुदन किराती, देवेन्द्र पौडेल लगायतको अभिव्यक्ति पनि अर्थपूर्ण रहेको देखिन्छ ।
‘कांग्रेसबाट गगन, विश्वप्रकाशहरूको अभिव्यक्ति अर्थपूर्ण र सदनमा गुञ्जयमान हुन्छन् । गगन थापाले बोल्दा सबैको ध्यान त्यहीँ हुन्छ,’ विश्लेषक जीवनले भने, ‘सचेतकहरू बोल्दा चासो हुने नै भयो । एमालेबाट योगेश भट्टराई, महेश बर्ताैला लगायतले बोल्दा जनतासम्म पुगेको देखिन्छ ।’
रास्वपबाट स्वयं सभापति रवि लामिछाने के बोल्छन् भन्ने चासो आम जनतामा हुन्छ । ‘पपुलिस्ट बन्न खोजेको’ आरोप रास्वपा नेताहरूलाई पटकपटक लाग्ने गरे पनि उनीहरूले दिने अभिव्यक्ति भने जनता र मूलधारसहित वैकल्पिक मिडियामा चासोका साथ हेरिन्छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णीम वाग्ले, सुमना श्रेष्ठ, सोविता गौतम लगायतका सांसद बोल्दा पनि जनतामा चासो हुन्छ ।
राप्रपाबाट स्वयं अध्यक्ष राजेन्द्र लिङ्देन तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जनमत पार्टीबाट अध्यक्ष सीके राउत लगायतका नेताहरू बोल्दा अर्थपूर्ण र सदनमा बहस सिर्जना हुने गर्दछ ।
‘नयाँ सांसदहरू केही मुद्दा स्थापित गरौँ भनेर पनि बोलेका हुन्छन् । तर, धेरैचाहिँ पार्टीको प्रचार गर्न बोलेका हुन्छन्,’ विश्लेषक जीवनले थपे ।
कस्ता विषय उठाइनुपर्छ सदनमा ?
विश्लेषकहरूकै कुरा मान्ने हो भने पनि जनताको भाषामा बोल्ने कुरातिर सांसदहरूको रुचि देखिएको पाइँदैन । तयारी गरेर नबोल्ने तथा अरूले चिटिक्क पारेर लेखिदिएको कुरा वाचन गर्ने प्रवृत्ति सांसदहरूमा देखिन्छ ।
आफ्नै पक्षको, आफ्नै पार्टीको सरकार छ भने पनि सांसदको काम सरकारलाई खबरदारी गर्ने नै हो । तर, संसदमा सरकारलाई खबरदारी गर्ने प्रचलन कम हुँदै गएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका समस्या र जनताले भोगेका कठिनाइहरू, जनताले पाएको दुःखलाई सांसदले विषय बनाउनै पर्छ । निर्वाचन क्षेत्रप्रति जवाफदेही र भोटका लागि भए पनि सांसदले जनसरोकारको विषय उठाउँछन् ।
जैनेन्द्र जीवनका अनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा तयारी साथ बोल्ने सांसदको सङ्ख्या एकदमै न्यून छ । अझ नयाँ दलमा त पपुलिजमको रोग हाबी भएको बुझाइ उनको छ ।
‘कोही बोल्दै नबोल्ने सांसद छन् । कोही लहडमा बोल्ने सांसद पनि छन् । पार्टी लाइनमा बोल्ने सांसद पनि छन् । पार्टीको प्रचार गर्न बोल्ने सांसद पनि छन्,’ उनले भने ।
सांसद भएर आएपछि आफ्नो दल वा सीमित सांसदप्रति मात्र जिम्मेवार हुन नमिल्ने जीवनको तर्क छ । उनले भने, ‘उसको काम सिङ्गो राज्यका जनताको हितमा उभिनु हो । तर, हल्ला गर्ने, स्टण्ट गर्ने काम भइरहेको छ । शालीन भएर निर्वाचन क्षेत्रसँग सम्बन्धी कुरा उठाउने काम हुन छाडेको छ ।’
विषय अध्ययन गरेर शालीन ढंगले कहिल्यै नबोल्ने भए किन सांसद बन्नु भनेर उनले प्रश्नसमेत गरे । उनले भने, ‘सांसद अध्ययनशील हुनुपर्छ । ऊसँग सूचना हुनुपर्छ । अखबार, मिडिया हेर्नुपर्छ । सचिवालय पनि दिएको छ, चुस्त दुरुस्त हुनुपर्छ ।’
सांसदले के बोल्यो भन्दा पनि कस्ता मुद्दा उठाएर सदनलाई दिशा दिने र संसदीय व्यवस्थालाई थप बलियो बनाउने काम ग¥यो कि गरेन भन्ने महत्त्वपूर्ण भएको बुझाइ उनको छ ।