च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत–पाकिस्तान विवाद : भारत बिनाको प्रतियोगिता प्रस्ताव !
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली पाकिस्तान भ्रमणमा नजाने निश्चित भइसकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पनि गराइसकेको छ ।
भारतीय टोली पाकिस्तान नजाने भएपछि आईसीसीले प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने छलफल पनि अगाडि बढाएको छ । तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) भने प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने पक्षमा देखिएको छैन ।
भारतीय टोली च्याम्पियन्स लिग खेल्न पाकिस्तान भ्रमणमा आउनु पर्ने पीसीबीको अडान छ । भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नजाने भएपछि पीसीबी यो विवादलाई आईसीसीअन्तर्गतको विवाद निराकरण समिति (न्यायिक निकाय) सम्म लैजाने योजनामा छ ।
पाकिस्तानी र भारतीय सञ्चारमाध्यमका अनुसार, पीसीबीले यो विवादलाई आईसीसीको विवाद निराकरण समितिमा पनि लैजाने तयारी गरेको हो । यस्तो समाचार बाहिरिएपछि च्याम्पियन्स ट्रफी विवाद गम्भीर मोडमा पुगेको छ ।
यसका अतिरिक्त पीसीबीले भारतलाई सहभागी नगराई च्याम्पियन्स ट्रफी खेलाउनु पर्ने प्रस्ताव पनि आईसीसी समक्ष लैजाने भएको छ । पीसीबीले च्याम्पियन्स ट्रफीको तयारीका लागि लाहोर, कराँची र रावलपिण्डीमा रंगशालाको स्तर सुधार्न ठुलो रकम लगानी गरेको छ ।
भारतीय टोलीले पाकिस्तानको भ्रमण नगर्दा आफूलाई निकै ठुलो आर्थिक नोक्सानी हुने दाबी पीसीबीले गर्दै आएको छ । यसका अतिरिक्त बीसीसीआईले अन्तिम समयमा आएर भ्रमण रद्द गर्ने निर्णय लिनु खराब मानसिकताको उपज भएको दाबी पनि पीसीबीले गरेको छ ।
‘पाकिस्तानले च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार निकैअघि पाएको हो । लामो समयदेखि हामी प्रतियोगिताको तयारी पनि गरिरहेका छौँ । यसबिचमा पटक–पटक आईसीसीको बैठक पनि भएको छ । तर, बीसीसीआईले त्यतिबेला पाकिस्तानमा आफूहरूले च्याम्पियन्स ट्रफी नखेल्ने कुरा उठाएन । अहिले अन्तिम समयमा आएर यो विषय उठाउनु खराब मानसिकताको उपज हो,’ पीसीबीका एक अधिकारीले भनेका छन् ।
च्याम्पियन्स ट्रफीलाई लिएर बीसीसीआई र पीसीबीबिच विवाद बढ्दै गएपछि आईसीसी पनि दबाबमा परेको छ । च्याम्पियन्स ट्रफीलाई लिएर आईसीसीले नोभेम्बर ११ तारिखमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर, पीसीबी र बीसीसीआईबिच बढेको विवादका कारण आईसीसीले त्यो कार्यक्रम पनि रद्द गरेको समाचारमा जनाइएको छ ।
यसअघि पनि पीसीबीले बीसीसीआईविरुद्ध आईसीसीमा उजुरी गरेको थियो । तनावपूर्ण राजनीतिक सम्बन्धका कारण सन् २०१२–१३ सिजनपछि भारत र पाकिस्तानबिच दुईपक्षीय क्रिकेट शृङ्खला खेलिएको छैन ।
त्यसयता यी दुवै राष्ट्रले आईसीसीद्वारा आयोजित प्रतियोगिताहरुमा मात्र आपसमा भिडन्त गर्दै आएका छन् । सोही विषयलाई लिएर पीसीबीले सन् २०१८ मा बीसीसीआईसँग क्षतिपूर्तिको माग गर्दै उजुरी दर्ता गराएको थियो ।
भारतले दुईपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेका कारण आफूहरूलाई ठुलो आर्थिक नोक्सानी भएको दाबीसहित पीसीबीले उजुरी दर्ता गराएको थियो । त्यतिबेला पीसीबीले बीसीसीआईविरुद्ध सात करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको थियो । आईसीसीको न्यायिक समितिमा त्यो उजुरीमाथि तीन दिनसम्म सुनुवाइ भएको थियो । तर, अन्त्यमा आईसीसीको समितिले पीसीबीको उजुरीलाई खारेज गर्ने निर्णय लिएको थियो ।
अहिले आएर बीसीसीआईले खेलाडीको सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान भ्रमण नगर्ने निर्णय लिएको हो । पीसीबीका अधिकारीहरुले भने च्याम्पियन्स ट्रफीका क्रममा पाकिस्तानमा सुरक्षाको कुनै प्रश्न नरहेको बताउँदै आएका छन् ।
पीसीबीका अध्यक्ष मोहसिन नकवीले भारतीय टोलीले पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेल्ने विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् । ‘भारतले भ्रमण रद्द गरेको विषयमा आधिकारिक रूपमा हामीलाई कुनै जानकारी छैन । हाइब्रिड मोडलको विषयमा पनि छलफल भएको छैन,’ उनले भनेका छन् ।
उनले पीसीबी ‘हाइब्रिड मोडल’ को विषयमा छलफल गर्न तयार नरहेको पनि बताएका छन् । ‘हाइब्रिड मोडल’ अन्तर्गत भारतले च्याम्पियन्स ट्रफीको आफ्नो सबै खेल कुनै ‘न्यूट्रल भेन्यू’ मा खेल्नेछ । तर, अहिले पीसीबी यसका लागि तयार देखिएको छैन ।
पाकिस्तानी टोलीका पूर्वकप्तान राशिद लतिफले पनि भारतको यस्तो व्यवहारबाट आफू चिन्तित बनेको बताएका छन् । ‘भारतको व्यवहार यस्तै रहने हो भने पाकिस्तानले आईसीसीको आयोजनामा हुने सबै प्रतियोगिता बहिष्कार गर्न सक्छ । यो हामी सबैका लागि चिन्ताको विषय हो,’ उनले भनेका छन् ।
पाकिस्तान च्याम्पियन्स ट्रफीको साबिक विजेता पनि हो । च्याम्पियन्स ट्रफीको अघिल्लो संस्करणको फाइनलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
‘प्रतियोगितामा सहभागी नहुने कुनै बलियो आधार चाहिन्छ । भारत जहिले पनि सुरक्षाको कारण देखाउँछ । च्याम्पियन्स ट्रफीजस्तो ठुलो प्रतियोगितामा अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्डजस्ता टोली सहभागी हुन सक्छन् भने भारतीय टोली किन पाकिस्तान आउन सक्दैन ? पछिल्लो समय सुरक्षाको विषय भारतका लागि यो गतिलो बहाना बनेको छ,’ लतिफ भन्छन् ।
च्याम्पियन्स ट्रफी आईसीसी)ले आयोजना गर्ने महत्त्वपूर्ण प्रतियोगितामध्ये एक हो । भारतले च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल पाकिस्तानमा नभई ‘न्यूट्रल भेन्यू’ मा खेल्न बताएको छ । सोही अनुरूप भारतले आफ्नो सबै खेल दुबईमा खेल्ने सम्भावना बढी छ ।
यसअघि एसिया कप पनि पाकिस्तानमै आयोजना भएको थियो । तर, भारतीय टोली एसिया कप खेल्न पाकिस्तान भ्रमणमा गएको थिएन । भारतले आफ्नो खेल श्रीलंकामा खेलेको थियो । तर, पाकिस्तानी टोली भने आईसीसी एकदिवसीय विश्वकप खेल्न भारत भ्रमणमा गएको थियो ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक पाकिस्तान, भारत, बंगलादेश, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान गरी आठ टोलीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम