शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा सीमित भावना र बौद्धिकता

सोमबार, २६ कात्तिक २०८१, १२ : २७
सोमबार, २६ कात्तिक २०८१

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै हामी मानव अर्थात् बौद्धिक प्राणीको बौद्धिक क्षमता घट्दै गइरहेको आभास हुन थालेको छ । स्मरणशक्तिमा पनि ह्रास हुँदै गएको म स्वयंले अनुभव गरेकी छु ।

हरेक चिजको राम्रा र नराम्रा पक्ष हुन्छन् । म यस आलेखमा भने सामाजिक सञ्जालको प्रयोगले हामीलाई पारेको नराम्रा पक्षको चर्चा गर्दै छु । 

सामाजिक सञ्जालले हाम्रो भावना र सोचलाई खुम्च्याएर इस्टिकर, इमोजीमा सीमित गरिदिएको महसुस हुन्छ मलाई । यसको प्रयोगसँगै मानिसमा मपाइँत्व बढेको छ । के यो रिस पोख्ने ठाउँ हो त ? 

मानिसलाई अरुको व्यवहारका कारण मन खुसी हुनु वा दुख्नु स्वाभाविक हो, अरुले दिएको शारीरिक या मानसिक चोटका कारण दुःखी हुनु पनि स्वाभाविक हुन्छ । हिजोका दिनमा समाजमा झै–झगडा वा मनमुटाव हुँदा मिलाउने कुनै पक्ष हुन्थ्यो । अथवा हामी आफैँ पनि भेटिएका बेला आ–आफ्ना कुरा राखेर हल्का हुन्थ्यौँ । अचेल भने सामाजिकसञ्जालमा रिस वा कुण्ठ व्यक्त गरिन्छ । अचेल सामाजिकसञ्जालमा व्यक्त भावनाकै आधारमा मनमुटाव बढ््छ वा अरुले चिन्ने आधार बन्छ । पहिले ठुलाबडाको सल्लाह सुनिन्थ्यो, अचेल सामाजिक सञ्जालले देखाउँछ—  सबै ज्ञानी, सबै जान्ने, सबै सिपालु ।

अहिले मानिसको व्यावहारिकता व्यवहारमा कम सामाजिक सञ्जालमा बढी हुन थालेको छ । सामाजिक सञ्जालमा लाइक/कमेन्ट वा रियाक्सन इमोजीका आधारमा मानिसले साथी वा पराई ठानिरहेका छन् । हामी हरेकले कतै आफैँलाई एउटा सानो सोचमा सीमित राखेका त छैनौँ भनेर सोच्नुपर्ने बेला आएको छ । 

अहिले हामी कतिपयको बाध्यता पनि छन् अनलाइन बस्नुपर्ने, कतिको रहर पनि हुन सक्छ । अचेल काम वा पेसाका आधारमा पनि कतिपयलाई अनलाइन बस्नुपर्नै हुन्छ । कता कसले के म्यासेज गर्छ । चिनजानकै व्यक्तिले गरेको म्यासेज हेर्न भ्याइएन भने गुनासो सुरु हुन्छन् । अथवा, त्यस्ता गुनासा कुनै न कुनै माध्यमबाट आफूसम्म आइपुग्छन्— फलानाले मलाई इग्नोर गर्‍यो, अनलाइन हुँदा पनि बिजी भएजस्तो देखायो आदि । कतिले त पोस्टमा वा म्यासेजमा यस्ता भावना व्यक्त गर्छन् । यही भावनाले कतै न कतै सम्बन्धलाई असर गर्न थाल्छ ।

माया, दुःख, हाँसो सबै अहिले इमोजीमै सीमित भएको भान हुन्छ । कसैको मृत्यु भएको जनाउने पोस्टमा रोएको इमोजी हाल्दियो अनि सकियो । कसैलाई कुनै दुःख परेको जनाउने पोस्टमा पनि रोएको इमोजीले पुगिहाल्छ । कसैको प्रगति भएको जनाउने पोस्टमा हाँसेको इमोजीले चल्छ । कतै हाम्रा भावना इमोजीमै सीमित भएका त होइनन् ?

कोही हुन्छन्— हातमै मोबाइल छ, ऊ आफू फुर्सदमै छ तर नियतवश म्यासेज नहेर्ने र तुरुन्त रिप्लाई नगर्ने । किनकि आफू व्यस्त रहेको देखाउन छ उसलाई । के हाम्रो चित्त यति सानो थियो त पहिले ? यस्तै–यस्तै झिनामसिना कुरा त कति छन् कति !

अब लागौँ— हाम्रो भावनाको कुरातर्फ; खुसी, हाँसो र रोदनका कुरातर्फ । 

माया, दुःख, हाँसो सबै अहिले इमोजीमै सीमित भएको भान हुन्छ । कसैको मृत्यु भएको जनाउने पोस्टमा रोएको इमोजी हाल्दियो अनि सकियो । कसैलाई कुनै दुःख परेको जनाउने पोस्टमा पनि रोएको इमोजीले पुगिहाल्छ । कसैको प्रगति भएको जनाउने पोस्टमा हाँसेको इमोजीले चल्छ । कतै हाम्रा भावना इमोजीमै सीमित भएका त होइनन् ? 

हिजो आफन्त र साथीहरूबिच भेटघाट हुन्थ्यो, कुराकानी हुन्थ्यो, अचेल मानिसले आफन्तकै बारेमा पनि सामाजिक सञ्जाल हेरेर अड्कल गरिरहेको हुन्छ । मानिसबिच प्रत्यक्ष कुराकानी हुँदैनन्, उही मोबाइलमै भुलिरहेका हुन्छन् । आत्मीयता र सद्भाव देखावटी भएको छ । आदि कारण मानिसमा एक्लोपनको समस्या बढेका कुरा आइरहेका छन् । 

हाम्रा भावना यसरी खुम्चिँदै गयो भने भोलि हाम्रा सन्तानले साँचो माया के हो भन्ने नै बोध नगर्लान् भन्ने लाग्छ मलाई । टेक्नोलोजी हाम्रा लागि वरदान हो, यसलाई सही सदुपयोग गरौँ । टाढा भएका आफन्त, साथीभाइसँग सोधखोज गरी मोबाइलबाट नजिकिन एक सेकेन्ड लाग्दैन, तर नजिक भएकालाई भेटेर सोधखोज गर्ने हालखबर सोध्न पनि नबिर्सौं ।

सामाजिक सञ्जालले देखावटी पनि साह्रै बढेको छ । एउटाले धुमधामले चाडबाड मनाएको फोटो पोस्ट गर्छ, अनि अरुलाई त्यस्तै गर्नुपर्ने हुन्छ । मानिसले सामाजिक सञ्जालबाट देखाइरहेका छन्—  म पैसावाला हुँ, म धनी छु, यस्तो खान्छौँ, उस्तो लगाउँछौ । यी सबै कुराले मानिसको खर्च पनि बढिरहेको छ । हामीले भर्खरै तिज, दसैँ–तिहार मनायौँ, अचेल कति खर्च बढेको छ, यसबाटै अनुभव गर्न सक्छौँ । 

अहिले त सामाजिक सञ्जाल वा युट्युबमार्फत जसले जे भने पनि हुने ! सबलाई चर्चित हुनु छ, चाहे जेसुकै गरौँ । इज्जत नै फालेर चर्चा किन चाहिएको होला ?

हामी सामाजिक प्राणी हौँ, सही र गलत त छुट्याउँ । खुम्चिँदा–खुम्चिँदा कतिसम्म गिराउने सोचलाई ? आफूजति बुद्धिजीवी कोही छैन जस्तो गरी स्टाटस राख्यो, अरुले ओहो कति राम्रो सोच भनिदिन्छन्, त्यसरी देखाउनभन्दा व्यवहारमा लागु गरौँ । कम्तीमा नजिकबाट चिन्नेले त राम्रो भन्छन् । दिगो हुन सिकौँ, अडिग हुन जानौँ, इमानदार बनौँ, आत्मीयतालाई मर्न नदिऊँ, भावनाको कदर मनबाट गरौँ । कर्तव्य मनबाटै निभाउँ, देखाउनलाई होइन ।

हामी सबै यहाँ सीमित समयका लागि मात्र आएका छौँ । सबै चिज हाम्रो हातमा होला, सबै चिज हामी आफ्नो प्लान अनुसार पनि गरौँला ।

मसँग यति धन छ, यति सम्पत्ति छ, यति साथी छन्, यति गहना–गुडिया छ भनेर थाहा होला, तर कसैलाई आफूसँग कति समय बाँकी छ भन्ने थाहा छैन । त्यसैले गर्दा राम्रो सोचौँ, अरुलाई राम्रो गरौँ, अरुको टीका–टिप्पणी गर्दै भएको वा नभएको कुरामा बहस नगरौँ । किनकि अरुका बारेमा आफूलाई लागेको कुरा गरेर बोल्दा त्यहाँबाट अरुले तपाईंको सोच र तपाईंलाई चिन्ने मौका पाउँछन् । सके राम्रो गरौँ, नसके कसैलाई नराम्रो नगरौँ । जीवन अमूल्य छ, यसको सही ठाउँमा सही सदुपयोग गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेजिना आचार्य
रेजिना आचार्य
लेखकबाट थप