बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

विदेश जाने प्रक्रियाका लागि काठमाडौँ आउनैपर्ने बाध्यता

कसरी चल्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?
सोमबार, २६ कात्तिक २०८१, ११ : ००
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि घटेसँगै अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । शनिबारमात्रै चार अन्तर्राष्ट्रिय उडान भएको भैरहवा विमानस्थलमा अहिले एक हप्तामा १७ वटा विमानले उडान भर्ने गरी कार्यतालिका स्वीकृत भएको छ ।

योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले केही समयको लागि बिजनेस पाउने निश्चित भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय उडान बढ्न थालेसँगै स्थानीयवासी मात्रै होइन, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरू पनि खुसी छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अहिलेको परिस्थितिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता र औचित्यलाई प्रमाणित गरेको बताउँछन् । उनले भने, ‘नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्नेहरूलाई अहिले भैरहवा विमानस्थल नहुँदो हो त के हुन्थ्यो होला भनेर सोच्नुपर्ने अवस्था बनेको छ ।’

२०७८ फागुनमा परीक्षण उडान भएको यो विमानस्थल उद्घाटनपछि केही नियमित उडान भएका थिए । तर यात्रुसँगै विमानस्थल बाहिरका पूर्वाधार अभावका कारण त्यहाँ अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन सकेन ।

उता २०७९ पुसमा परीक्षण उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने केही चार्टर्ड फ्लाइटबाहेक अन्य उडान हुन सकेको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बढेको अन्तर्राष्ट्रिय उडानले सबै उत्साहित छन् । यसलाई नियमित गर्ने चुनौती भने बाँकी नै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को सञ्चालन सामान्य अवस्थामा पुगेपछि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाइरहन्छ कि फेरि बन्द हुन्छ भन्नेमा धेरैको चासो छ ।

क्यानले त्यसो भनिरहँदा प्रचार नभएरै विमानस्थल सञ्चालन नभएको भन्ने कुरालाई पूरा विश्वास गर्न सकिने अवस्था भने छैन । त्यसो हुन्थ्यो भने पहिले अवतरण र उडान गरेका जहाजले किन निरन्तरता दिएनन् त ? यसको प्रस्ट उत्तर नियामकसँग पनि छैन ।

अहिले भैरहवामा भएको अन्तर्राष्ट्रिय जहाजको उडान ‘फोर्सफूल’ रहेकोमा दुई मत छैन । काठमाडौँ विमानस्थल सञ्चालन अवधि घट्नुअघि कुनै पनि उडान नहुनु र भैरहवा नजाने विमानलाई काठमाडौँको समेत अनुमति नदिने नियामकको नीतिले यसलाई प्रमाणित गरेको छ । त्यसो त, अहिले पनि भैरहवामा यात्रु भरिने अवस्था छैन । शनिबार १६१ यात्रु बोकेर आएको फ्लाइ दुबईको विमान १० जना यात्रु भैरहवामा ओरालेर बाँकी यात्रुसहित काठमाडौँ आएको थियो । त्यो दिन जजिरा बाहेक अरु विमान काठमाडौँ आएरै फर्किएका थिए । यसले भैरहवा विमानस्थलको सञ्चालन कति चुनौतीपूर्ण छ भन्ने देखाउँछ ।

स्तरोन्नति अघि वार्षिक ८० लाखलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता अबको ६ महिनापछि १ करोड २० लाख पुग्ने अनुमान छ । यो क्षमता सञ्चालन अवधि छोटिएपछि घटेको क्षमताको तुलनामा दोब्बरभन्दा पनि बढी हो । अहिलेकै अवस्था कायम रहने हो भने पाँच महिनापछि भैरहवाको एयर ट्राफिक फेरि काठमाडौँ नै फर्किने अवस्था नआउला भन्न सकिँदैन । यसका लागि फोर्सफूल उडानमार्फत् भइरहेको एयर ट्राफिक व्यवस्थापनलाई सामान्य बनाउन अनिवार्य देखिन्छ ।

भैरहवा विमानस्थललाई प्रतिस्पर्धी बनाउन सरकारले फ्युल खर्च घटाउने, ग्राउण्ड ह्यान्डेलिङ खर्च, पार्किङ खर्च, विमानस्थल चार्जसम्ममा निकै छुट दिएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) छुट गर्ने तयारी रहेको बताइन्छ । यसले सञ्चालन खर्च कम गराएर भाडा कम गर्ने र यात्रुको आकर्षण बढाउने सोच सरकार र नियामकको रहेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि खुम्चिएको अवस्थामा विमान कम्पनीहरूलाई भैरहवामा ‘बानी पार्न’ सके नियमित रूपमा सञ्चालन हुन अप्ठ्यारो नहुने बुझाइ नियामकको छ । क्यानका महानिर्देशक अधिकारीले भने, ‘अहिले जसरी ठुला जहाज भैरहवा आउन थालेका छन्, यसले नेपालमा अर्को एयरपोर्ट पनि रहेछ भनेर प्रचार भएको छ । यसले भोलिका दिनमा ट्राफिक बढाउँछ ।’

  • केन्द्रिकृत संरचनाले रोकेको भैरहवाको व्यवसाय विस्तार

क्यानले त्यसो भनिरहँदा प्रचार नभएरै विमानस्थल सञ्चालन नभएको भन्ने कुरालाई पूरा विश्वास गर्न सकिने अवस्था भने छैन । त्यसो हुन्थ्यो भने पहिले अवतरण र उडान गरेका जहाजले किन निरन्तरता दिएनन् त ? यसको प्रस्ट उत्तर नियामकसँग पनि छैन ।

तर, भैरहवा विमानस्थल सञ्चालनको प्रमुख बाधक भनेको विमानस्थलसँगै भिसा प्रक्रिया विकेन्द्रित हुन नसक्नु नै रहेको सरोकारवाला औँल्याउँछन् ।  

विद्यार्थी भिसामा जानलाई पनि काठमाडौँ आउनैपर्ने बाध्यता छ । आईईएलटीएस, टोफल, जीआरई, जीएमएटी, एसएटी लगायत भाषा परीक्षाहरू अहिले काठमाडौँबाटै हुन्छ ।

अहिले रोजगारी र अध्ययनलेखि पर्यटक तथा औषधोपचार भिसामा विदेश जानेहरू एक पटक भए पनि काठमाडौँ आउनैपर्ने बाध्यता छ । रोजगारीका लागि खाडी मुलुकदेखि अन्य देशमा जाने प्रक्रिया पूरा गर्न काठमाडौँ नआई हुँदैन ।

सरकारले २०७९ पुसदेखि प्रत्येक प्रदेशबाट श्रम स्वीकृति दिँदै आएको छ । तर, निजी क्षेत्र तथा कूटनीतिक नियोगबाट प्राप्त हुनुपर्ने सेवा विकेन्द्रित नहुँदा अहिलेसम्म पनि काठमाडौँको विकल्प भैरहवा वा पोखरा बन्न सकिरहेको देखिँदैन ।

उपत्यका बाहिर अहिले पनि म्यानपावर कम्पनीका पर्याप्त शाखा छैनन् । भएका केही शाखा पनि मान्छे खोज्ने र काठमाडौँ ल्याउनेमा मात्रै केन्द्रित छन् । त्यस्तै, बायोमेट्रिक, मेडिकल लगायत सेवा दिने संस्थाको उपस्थिति त प्रदेशमा शून्य छ ।

नेपालको प्रमुख गन्तव्य कतार जाने व्यक्तिको मेडिकल तथा बायोमेट्रिक गराउने जिम्मा कतार भिसा सेन्टर (क्युभीसी) ले पाएको छ, जो अहिले काठमाडौँमा मात्रै छ । त्यस्तै, अन्य खाडी मुलुक र मलेसियामा जान गाम्का अन्तर्गत सदस्य रहेका १८ वटा संस्थाबाटै मेडिकल गर्नुपर्छ । ती सबै अहिले काठमाडौँमै छन् । कोरिया जान भाषा परीक्षाका लागि काठमाडौँ नै आउनुपर्छ । जापानमा लागि पनि त्यही अवस्था छ । त्यसैले प्रत्यक्ष रूपमा दूतावासमा उपस्थित हुनु नपरे पनि अन्य प्रक्रियाका लागि काठमाडौँ आउनुको अर्को विकल्प तयार भइसकेको छैन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी रोजगारीका लागि धेरैजसो देशमा जान अहिले पनि काठमाडौँ आउनैपर्ने बाध्यता रहेको बताउँछन् । ‘धेरै देशमा ई–भिसा त छ, तै पनि मेडिकल र बायोमेट्रिकका लागि एक पटक त काठमाडौँ आउनैपर्छ । एक पटक आएर फर्किएपछि चाहिँ उतैबाट जाने व्यवस्था मिलाउन सकिन्छ ।’

विद्यार्थी भिसामा जानलाई पनि काठमाडौँ आउनैपर्ने बाध्यता छ । आईईएलटीएस, टोफल, जीआरई, जीएमएटी, एसएटी लगायत भाषा परीक्षाहरू अहिले काठमाडौँबाटै हुन्छ । त्यस्तै, अमेरिका, युरोप, अस्ट्रेलिया लगायत प्रमुख अध्ययन गन्तव्य मुलुकहरूमा जान चाहने विद्यार्थी भिसाका लागि अन्तरवार्ता दिनसमेत सम्बन्धित देशका दूतावास वा कन्सुलर कार्यालयमै जानुपर्छ । बायोमेट्रिक लगायतका प्रक्रियाको लागि पनि तोकिएको ठाउँमै भौतिक रूपमै उपस्थित हुनुपर्छ ।

नेपाल शैक्षिक परामर्शदाता संघ (इक्यान) शेषराज भट्टराईका अनुसार भौतिक रूपमा उपस्थित भएरै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था भएको अवस्थामा अहिले काठमाडौँ आउनैपर्छ । ई–भिसाको सिस्टम भएका र विश्वविद्यालयले अनलाइन अन्तरवार्ता लिएरै भिसा दिने देशका विश्वविद्यालयमा जान भने काठमाडौँ नआइकनै पनि जान सकिन्छ । यद्यपि केही मुलुकमा मात्रै यस्तो सुविधा छ । यी कार्यालय भने तत्कालै विकेन्द्रित भएर भैरहवाबाट सेवा दिने सम्भावना देखिँदैन ।

रोजगारीमा जाने श्रमिकका लागि पूर्ण रुपमा विकेन्द्रित सेवा दिन सके यसले काठमाडौँको भारलाई घटाउन मद्दत गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी बताउँछन् ।

पर्यटक भिसाका लागि भने केही सहज रहेको व्यवसायी बताउँछन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्य मुलुक युएई, थाइल्याण्ड, सिंगापुर, मलेसिया लगायत देशमा जानका लागि हवाई टिकट, होटल बुकिङ, विदेशी डलर सटही लिए सहज रूपमा जान पाइन्छ । कतिपय देशमा त ‘अन अराइभल भिसा’को व्यवस्थासमेत छ ।

अहिले नेपाललाई ३६ वटा देशले ‘अन अराइभल भिसा’को सुविधा दिएको अध्यागमन विभागले जनाएको छ । यसरी अनअराइभल भिसा सुविधा पाएका र इ–भिसाको व्यवस्था भएका मुलुकमा भिजिट भिसामा जान काठमाडौँ आउनुपर्ने अवस्था नहुने नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्टस् (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाइँ बताउँछन् । अमेरिका, बेलायत, अस्ट्रेलिया तथा केही युरोपेली देशहरूमा जान भने पहिलो पर्यटक भिसाका लागि दूतावाससम्मै पुग्नुपर्छ । त्यसैले यसका लागि पनि काठमाडौँ आउनैपर्ने बाध्यता छ ।

यसबाहेक औषधोपचारका लागि विदेश जानुपर्दा मेडिकल बोर्ड र स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिन्छ । त्यसको आधारमा मात्रै भिसा प्रक्रिया अघि बढ्ने र सटही सुविधा पाइने भएकाले यसका लागि काठमाडौँ आउनैपर्ने बाध्यता देखिन्छ । कूटनीतिक भिसा, खेलकुद, सांस्कृतिक वा अनुसन्धान प्रयोजनका लागि दिइने भिसा लगायतमा पनि कुनै न कुनै रूपमा दूतावास जोडिएको हुन्छ, जुन काठमाडौँ नआई सम्भव नै हुँदैन ।

  • के हुनसक्छ उपाय ?

अहिले काठमाडौँ आउनुपर्ने सबैभन्दा धेरै बाध्यता भनेकै रोजगारीमा जाने र अध्ययन भिसामा विदेश जानेहरूका लागि हो । पर्यटक भिसामा जानेलाई तुलनात्मक रूपमा कम समस्या देखिन्छ । व्यावसायिक कार्यका लागि जानेहरू पनि पर्यटक भिसामै जाने भएकाले खासै समस्या छैन । अरु प्रयोजनका लागि जानेहरूलाई समस्या भए पनि यस्तो व्यक्तिको संख्या कम रहेकाले यसले विमानस्थलको ट्राफिकमा खासै ठुलो प्रभाव पार्ने देखिँदैन ।   

रोजगारीमा जाने श्रमिकका लागि पूर्ण रुपमा विकेन्द्रित सेवा दिन सके यसले काठमाडौँको भारलाई घटाउन मद्दत गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी बताउँछन् । यो सम्भवसमेत रहेको उनको भनाइ छ ।

‘सरकारले चासो दिने हो भने पश्चिम क्षेत्रका व्यक्ति काठमाडौँ आउनै नपर्नेगरी बुटवल–भैरवालाई केन्द्र बनाएर सेवा दिन हामी तयार छौँ । मेडिकल गर्ने संस्था पनि तयार हुन्छन् जस्तो लाग्छ । कूटनीतिक प्रयास गरे बायोमेट्रिक गर्ने व्यवस्था पनि असम्भव छैन,’ भण्डारीले भने ।

त्यसका लागि सरकारले केही व्यवसायीलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ । ‘यसका लागि हामी सरकारसँग छलफल गरिरहेका छौँ,’ उनले भने ।

एउटा एयरलाइन्समा धेरै वर्गका टिकट हुन्छन् । सस्तो इकोनोमिक क्लासदेखि सबैभन्दा महँगो बाई क्लाससम्मका टिकटसमेत बिक्री गरिन्छन् । त्यसैले विमानस्थल सञ्चालन हुन सबै वर्गका व्यक्तिहरू आवतजावत गर्ने वातावरण बन्नुपर्छ । श्रीलंकन एयरलाइन्स नेपालका सेल्स म्यानेजर दीपक मैनाली श्रमिक, विद्यार्थी, पर्यटकदेखि व्यवसायीसम्म सबै प्रकारका यात्रुहरू आवतजावत गर्ने अवस्था भएमात्रै एयरपोर्ट दीर्घकालीन रूपमा सञ्चालन हुनसक्ने बताउँछन् । अबको पाँच महिनामा हुने तयारीले यसलाई निर्धारण गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप