दोस्रो टी–२० अन्तर्राष्ट्रियमा पनि इङ्ल्यान्डसँग केही लागेन वेस्ट इन्डिजको
काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई पराजयको स्वाद चखाएको छ । इङ्ल्यान्डले सोमबार ब्रिजटाउनमा सम्पन्न खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई सात विकेटले हराएको हो ।
जितसँगै इङ्ल्यान्डले पाँच खेलको शृङ्खलामा २–० को अग्रता पनि हासिल गरेको छ । यसअघि आइतबार सम्पन्न पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजमाथि आठ विकेटको सजिलो जित हासिल गरेको थियो ।
सोमबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने १४.५ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ६१ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
इङ्ल्यान्डको जितमा कप्तान जस बट्लरले उत्कृष्ट अर्धशतकीय योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ८३ रन बनाए । उनले केवल ४५ बलको सामना गरी ६ छक्का र आठवटा चौका पनि हिर्काए ।
३४ वर्षीय अनुभवी ब्याट्सम्यान बट्लरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो २५औँ अर्धशतक हो । ओपनर ब्याट्सम्यान विल ज्याक्सले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले २९ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए ।
लियाम लिभिङ्स्टोनले पनि टोलीको खातामा अविजित २३ रन थपे । उनले ११ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ज्याकब बेथेल तीन रनमा अविजित रहे । ओपनर फिल साल्ट भने खाता खोल्नुअघि नै पभेलियन फर्किएका थिए ।
इङ्ल्यान्डले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो । क्यारेबियन टोलीका बलर रोमारियो सेफर्डले दुई विकेट लिए । अकेल होसैनले पनि एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोभमन पोवेलले सर्वाधिक ४३ रन बनाएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका पोवेलले ४१ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । रोमारियो सेफर्डले पनि टोलीको खातामा २२ रन थपे । क्यारेबियन टोलीका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो ।
वेस्ट इन्डिजले अतिरिक्त रूपमा २९ रन पाएको थियो । कप्तान पोवेल र सेफर्डवाहेक क्यारेबियन टोलीका अन्य ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । इङ्ल्यान्डका बलर डन मुसली, लियाम लिभिङ्स्टोन र सकिब महमुदले दुई–दुई विकेट लिए ।
इङ्ल्यान्ड र वेस्ट इन्डिजबिचको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल शुक्रबार ब्रिजटाउनमै खेलिने छ । यसअघि खेलिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’