शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

फर्गुसन र फिलिप्सको घातक बलिङ, न्युजिल्याण्डको रोमाञ्चक जित

सोमबार, २६ कात्तिक २०८१, ०९ : ३६
सोमबार, २६ कात्तिक २०८१

कोलम्बो । श्रीलंकाको भ्रमणमा रहेको न्युजिल्याण्डको टोलीले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा न्युजिल्याण्ड ५ रनले विजयी बनेको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा श्रीलंका १९.५ ओभरमा १ सय ३ रनमा अलआउट पुग्यो । श्रीलंकालाई सस्तोमा समेट्न लोकी फर्गुसन र ग्लेन फिलिप्सले घातक बलिङ गर्दै ३–३ विकेट लिए । फर्गुसनले २ ओभरमा मात्र ७ रन खर्चिए भने फिलिप्सले १.५ ओभरमा ६ रन खर्चिएका थिए ।

श्रीलंकाका लागि पाथुम निशांकाले अर्धशतकीय इनिङ्स खेल्दै ५२ रन बनाए । ५१ बलमा उनले ६ चौका प्रहार गरे । भानुका राजपाक्षले १५ रन र महिस थिकसानाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले २ विकेट तथा मिचेल स्यान्टनर र जाकरी फोल्क्सले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । टोलीका लागि विल यङले सर्वाधिक ३० रन बनाए भने जोस क्लार्कसनले २४ रन तथा कप्तान स्यान्टनरले १९ रनको योगदान दिए ।

श्रीलंकाका लागि वासिन्दु हसरंगाले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट लिए । मथिसा पथिरानाले ३ विकेट, नुवान थुसाराले २ तथा महिस थिकसानाले १ विकेट हात पारे । 

न्युजिल्याण्डले टी–२० अन्तर्राष्ट्रियमा यति सानो लक्ष्य बचाऊ गरेको यो पहिलो अवसर थियो । योसँगै टी–२० शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शनिबार भएको पहिलो खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप