काठमाडौँ । उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनु जरुरी छ । माटोमा पाइने खाद्य तत्त्वको मात्रा मिल्नुपर्छ । तर नेपालमा माटो परीक्षण खासै गरिएको पाइँदैन ।
विज्ञहरूका अनुसार नेपालमा करिब ३० प्रतिशत किसानले कुनै न कुनै समयमा एक पटक माटो परीक्षण गराएको पाइन्छ । तर निरन्तर रूपमा माटो परीक्षण भने गरेको भेटिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धान काटिसकेपछि माटो परीक्षण गर्ने उपयुक्त समय भएको उल्लेख गरेको छ । माटो परीक्षण कसरी गर्ने, कहाँ हुन्छ माटो परीक्षण, कति खर्च लाग्छ, यसको फाइदा कस्ता छन् जस्ता विषयमा केन्द्रित रहेर नार्क अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारमा कार्यरत माटो वैज्ञानिक डा. रोशनबाबु ओझासँग सरिता थारूले गरेको कुराकानी :
माटो किसानका लागि उत्पादनको मध्यम हो । समग्र रूपमा जीवन र जगतसँग जोडिएको विषय हो, माटो । यसलाई हामीले विभिन्न पक्षबाट विभिन्न आयामबाट बुझ्न सकिन्छ ।
माटो परीक्षण भनेको के हो भने, जस्तो हाम्रो शरीरको अवस्था कस्तो छ ? हाम्रो शरीरलाई के आवश्यक परेको छ ? हामी कतिको बिरामी परेका छौँ ? हाम्रो शरीरमा विभिन्न भिटामिनको मात्र कस्तो छ ?विभिन्न खाद्य तत्त्वको मात्र कस्तो छ भनेर हेर्छौँ, हो त्यसरी नै माटोमा पनि खाद्य तत्त्वहरू हुन्छ जुन बोटबिरुवाले लिने गर्दछ । त्यो खाद्य तत्त्व माटोबाट बोटबिरुवाबाट लिन्छ । क्रमशः बोटबिरुवाले माटोबाट खाद्य तत्त्व लिँदै गर्दा माटोमा खाद्य तत्त्वको अभाव भइरहेको हुन्छ । कुन खाद्य तत्त्वको अभाव कति भएको छ ? भनेर वा कुन खाद्य तत्त्व कस्तो अवस्थामा छ, भनेर थाहा पाउन माटो परीक्षण गर्नुपर्छ ।
हामीले जुन मल दिइरहेका हुन्छौँ, त्यो अन्धाधुन्ध हुन्छ । माटो परीक्षण गर्दा मल कति दिनुपर्छ भनेर जानकारी हुन्छ । माटोमा प्राङ्गारिक पदार्थ कति छ, भन्ने जानकारी हुन्छ । त्यसको अलावा माटोमा पीएचको मान कति छ, थाहा हुन्छ । त्यसले माटोको दिगो व्यवस्थापन गर्नलाई सहज गर्दछ ।
माटो परीक्षण विशेष गरी किसानले नै गर्ने हो । किनकि खेतीपाती जसले गर्छ, उहाँले गर्नुपर्छ । त्यसबाहेक इन्जिनियरिङका लागि, विभिन्न कन्स्ट्रक्सनका कामका लागि माटो परीक्षण गर्नुपर्छ । यो माटो परीक्षण र किसान वा खेतीपातीका लागि माटो परीक्षण गर्नु फरक हो ।
सबैभन्दा पहिला किसानले परीक्षणका लागि माटो संकलन गर्नुपर्छ । त्यसको विधि छ । जुन विधि किसानले विभिन्न सामाजिक सञ्जालबाट हेर्न सक्नुहुन्छ । सङ्कलन गरिएको माटो परीक्षण केन्द्रमा पठाउनु पर्छ । परीक्षण गरिएको माटोको नतिजा अनुसार प्राविधिकको सल्लाह अनुसार किसानले माटोमा मलको प्रयोग गर्नुपर्छ ।
माटो परीक्षणका लागि विभिन्न निकाय छन् । प्रदेश अन्तर्गतका निकायहरू पनि छन् । जस्तै, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको सुन्दरपुरमा माटो परीक्षण हुन्छ । बागमती प्रदेशको हेटौँडामा र ललितपुरको हरिहर भवनमा माटो परीक्षणको ल्याब छ । गण्डकी प्रदेश कास्कीको पोखरामा माटो परीक्षण गर्ने ल्याब छ । लुम्बिनीको खजुरामा माटो परीक्षण हुन्छ ।त्यसरी नै मधेस प्रदेशमा सप्तरीको राजविराज, कोशीमा सुनसरीको झुम्कामा माटो परीक्षण हुन्छ । यस्तै, कर्णालीको सुर्खेतमा माटो परीक्षणको ल्याब छ ।
यसरी प्रदेशगत ल्याबहरू छन् । केन्द्रीय ल्याबहरू पनि छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ल्याबमा पनि माटो परीक्षण हुन्छ । नार्कका अनुसन्धान केन्द्रहरूमा पनि माटो परीक्षणको सुविधा छ । पछिल्लो समय पालिकास्तरमा मिनी ल्याबहरू पनि सञ्चालनमा आएका छन् । समग्रमा उपयुक्त ठाउँमा जाने भनेको नगरपालिकाको कृषि शाखा हो । त्यहाँका कृषि शाखामा अथवा कृषि ज्ञान केन्द्रमा गएर माटो परीक्षणबारे बुझ्न सकिन्छ । माटो परीक्षणका लागि सङ्कलन गर्ने बित्तिकै माटो परीक्षणमा लैजानु पर्छ भन्ने छैन । माटो परीक्षण गर्नका लागि सङ्कलन गरिएको माटो पछि लैजान पनि सकिन्छ । धान काटिसकेपछि यसबेला माटोको परीक्षण गर्ने उपयुक्त समय हो । बारी खाली भएको बेलामा माटो सङ्कलन गर्न सजिलो हुन्छ । त्यो नमुना सङ्कलन गरी सकेपछि घाम नपर्ने ठाउँमा तर सुख्खा ठाउँमा माटो राख्नुपर्छ । एक वा दुई महिनापछि माटो परीक्षण गराउन सकिन्छ । नजिकको प्रयोगशालामा पठाउन सकिन्छ । यसबेला माटो परीक्षण गर्दा वर्षभर माटोलाई के आवश्यक पर्छ भनेर निर्क्योल गर्न सजिलो हुन्छ ।
माटो परीक्षण गर्न सकिने दुईदेखि तीनस्तरका ठाउँ छन् । प्रदेशस्तरमा जानु भयो भने सहुलियतपूर्ण दरमा माटो परीक्षण गर्न सकिन्छ । त्यहाँ एक सय रुपैयाँमा माटो परीक्षण हुन्छ । नार्कमा आउनु भयो भने सात सय रुपैयाँसम्म लाग्छ । तपाई निजी क्षेत्रमा माटो परीक्षण गर्न जानुभयो भने दुई हजार रुपैयाँसम्म लाग्छ ।
सैद्धान्तिक रूपमा एउटा बाली लगाइसकेपछि अर्को बाली लगाउनु पूर्व माटो परीक्षण गर्नुपर्छ । तर व्यावहारिक रूपमा यो सम्भव देखिँदैन । राज्यले पनि त्यो स्तरको सुविधा पनि दिन सक्ने अवस्था छैन । त्यसैले गर्दा वर्षको एक पटक माटोको परीक्षण गर्न सकिन्छ । यो पनि सम्भव छैन भने कम्तीमा पनि तीन वर्षमा एकपटक माटोको परीक्षण अवश्य गर्नुपर्छ । हालैको एक अध्ययनले नेपालमा २० देखि ३० प्रतिशत किसानले मात्रै माटोको परीक्षण एक पटक गर्नु भएको छ । त्यो पनि नियमित होइन कि एक न एक पटक माटो परीक्षण गर्नुभएको हो ।
यसमा धेरै वैज्ञानिक आधार छन् । एउटा हो धान काट्नु अगाडि मनसुन सिजन हुन्छ । मनसुनका कारणले माटोमा भएको खाद्य तत्त्व पखालेर कति जान्छ भन्ने हुन्छ । अर्को भनेको, धान धेरै खाद्य तत्त्व लिने बाली हो । धानपछि कसैले गहुँ लगाउनु हुन्छ । कसैले मुसुरो, तोरी वा मकै या भनौँ तरकारी, आलु लगाउनु हुन्छ । ती सबै बालीहरूलाई बढी मात्रामा खाद्य तत्त्व आवश्यक पर्छ । धान काटिसकेपछिको यो बेला केही समय खेत खाली राखेर बाली लगाउने चलन छ । कोशेबाली लगाउनका लागि उपयुक्त हुन्छ की भनेर माटो परीक्षण गर्न उपयुक्त हुन्छ । किनकि कोशे बालीले माटोमा नाइट्रोजन सञ्चित गर्दछ । माटो परीक्षण गर्नु धेरैको बुझाइमा माटोको पीएच मात्रै नाप्ने र चुना हाल्ने भन्ने छ । तर त्यो होइन । माटोमा आवश्यक भए अनुसारको खाद्य तत्त्वको व्यवस्थापन गर्नु माटो परीक्षणको मुख्य उद्देश्य हो । त्यसमा अलिकति ध्यान दिएमा दिगोरुपमा माटो व्यवस्थापन गर्न सकिन्छ ।
प्रतिक्रिया