हेटौँडा–१२ मा उपनिर्वाचन : पटकपटक हारेका कांग्रेस–एमालेविरुद्ध माओवादीलाई विरासत जोगाउने चुनौती
मकवानपुर । आगामी मंसिर १६ मा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने सूचीमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पद पनि छ ।
२०७९ वैशाखमा भएको स्थानीय तहका निर्वाचनबाट वडा अध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्षको निर्वाचनमा मुख्य तीन ठुला दलसँगै अन्य साना दलले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् । साना दलहरू राप्रपा नेपाल, एकीकृत समाजवादी, रास्वपा लगायतका दलहरूले उम्मेदवार उठाउने तयारी गरे पनि पनि निर्णय भने गरिसकेका छैनन् ।
राप्रपाले हेटौँडा–१२ को वडा अध्यक्षमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । हेटौँडा–१२ मा साना दलहरूले निर्वाचनमा सहभागिता जनाए पनि प्रतिस्पर्धा भने मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबिच नै हुने देखिन्छ । सोही अनुसार दलहरूले निर्वाचनको तयारी अघि बढाएका छन् ।
हेटौँडा–१२ कालागि एमाले, कांग्रेस र माओवादीले वडा अध्यक्षको उम्मेदवार तय गरिसकेका छन् । कांग्रेसले अर्जुन तिवारीलाई, एमालेले राजेश नगरकोटी र माओवादीले रविन प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले अघिल्ला २ वटा निर्वाचनमा पराजित भएका तिवारीलाई उम्मेदवार बनाउने निर्णय गर्दा एमालेले २०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेका नगरकोटीलाई नै दोहोर्याएको छ ।
माओवादीले भने नयाँ उम्मेदवार खडा गरेको छ । गत २०७४ को निर्वाचनमा वडा सदस्य पदमा पराजित भएका स्वर्गीय राजेश प्रधानका भाइ रविन प्रधानलाई माओवादीले टिकट दिएको छ । राजेशको गत २०८० साउन २४ मा डेंगु सङ्क्रमणका कारण निधन भएको थियो ।
- माओवादीलाई विरासत जोगाउने चुनौती
संघीयतापछिका २ वटा स्थानीय तह निर्वाचनमा हेटौँडा–१२ मा माओवादी केन्द्रले जित्दै आएको छ । २०७४ र २०७९ मा ललित बहादुर घलानले जित निकालेको हेटौँडा–१२ मा माओवादीलाई आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको उक्त वडामा मिश्रित बसोबास छ । एकातर्फ सांगठनिक रूपमा कमजोर बन्दै गएको माओवादीलाई विरासत जोगाउनु पर्ने चुनौती कायमै छ भने अर्कोतर्फ नयाँ उम्मेदवारलाई नागरिक माझमा परिचित गर्नुपर्ने बाध्यता छ । त्यसो त सो वडामा दुवै निर्वाचनमा माओवादी केन्द्र एकल रूपमा निर्वाचनमा भाग लिएको थियो । दुवै निर्वाचनमा माओवादी केन्द्रबाट घलानले झिनो मतले जित निकाल्दै आएका थिए ।
२०७४ को निर्वाचनमा माओवादीका घलानले १४० मतान्तरले र २०७९ मा ३१ मतान्तरले जितेका थिए ।
यता कांग्रेसबाट २ पटक पराजित भएका तिवारी तेस्रो पटक चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको अवस्था केही सुधार भए पनि आन्तरिक द्वन्द्वका कारण हेटौँडा–१२ को अध्यक्ष जित्न निकै कठिन छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँका विश्वास पात्रका रूपमा रहेका तिवारीलाई पार्टीभित्रको द्वन्द्व महँगो पर्ने देखिन्छ ।
यता पटक–पटक तेस्रो स्थानमा रहेको एमाले जित निकाल्ने दाउमा छ । जस अनुसार एमालेले सान्त्वना मत सङ्कलन गर्ने गरी गत निर्वाचनमा पराजित भएका नगरकोटीलाई नै उम्मेदवार बनाएको छ । यद्यपि सो वडामा एमालेको प्रभाव भने खासै बढेको देखिन्न ।
- विगतमा झिनो मतान्तर
हेटौँडा–१२ मा विगतको चुनावी मत परिणाममा मुख्य ३ दल बिचको मतान्तर अत्यन्त कम छ । गत २०७९ को चुनावमा हेटौँडा–१२ माओवादी केन्द्रका घलानले जित निकाल्दा कांग्रेस र एमालेसंग अत्यन्त झिनो मतान्तर निकालेका थिए ।
गतनिर्वाचनमा तीन दलका उम्मेदवारबिचको मतान्तरमा खासै फरक छैन । विजयी भएका माओवादीका घलान र दोस्रो भएका कांग्रेसका तिवारीबिच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।
सो निर्वाचनमा घलानले १ हजार ३७१ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले १ हजार ३४० मत पाएका थिए । एमालेका नगरकोटीले १ हजार ३२५ मत पाएका थिए । राप्रपाका सरन सिं थिङले १८३ मत पाएका थिए ।
२०७४ मा माओवादी केन्द्रका घलानले १ हजार १०३ मतसहित जित निकाल्दा कांग्रेससँग ११० मत र एमालेसँग १३४ मत अन्तर थियो । सो निर्वाचनमा कांग्रेसका तिवारीले ९९६ मत पाएका थिए भने एमालेका रामचन्द्र स्याङबोले ९६९ मत पाएका थिए । सो निर्वाचनमा एमाले र कांग्रेसबिच २७ मतको अन्तर थियो । उक्त निर्वाचनमा राप्रपाका चन्द्र बहादुर गोलेले ३०५ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
-
यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु