आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विमानस्थल सञ्चालनसँगै थपियो उत्साह

सोमबार, २६ कात्तिक २०८१, ०२ : ३०
सोमबार, २६ कात्तिक २०८१

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै यहाँका निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरु उत्साहित भएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रुपन्देही तथा आसपास ठूला होटलहरु निर्माण सुरु भएका थिए । पाँचवटा पाँचतारे होटलसहित करिब दुई सय होटलको भविष्य विमानस्थलसँगै अन्योलमा थियो । हाल विमानस्थल सञ्चालनसँगै होटल व्यवसायी हौसिएका छन् । 

शनिबार मात्र भैरहवा विमानस्थलबाट जजिरा एयरलाइन्स, फ्लाइ दुबई र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एयर एसियाले भने एक सातापहिले देखि नियमित उडान सुरु गरेको छ । त्यस्तै, कतार एयरवेज, एयर अरेबियाले पनि भैरहवाबाट उडानका लागि चासो देखाएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले लामो समयदेखि सञ्चालन हुन नसकेको विमानस्थल सञ्चालनमा आउँदा उड्डयनकर्मीसहित सबै क्षेत्रमा उत्साह थपिएको बताए । 'यसले आउँदो दिनमा अझै गति लिँदै जानेछ, थप यात्रुहरु यसप्रति आकर्षित हुँदै जानेछन् भन्ने विश्वास लिएका छौँ,' तिवारीले भने, 'आगामी दिनमा यो विमानस्थलबाट उड्ने यात्रुहरुको सङ्ख्या बढ्दै जाने अपेक्षा छ ।'

उडान बढ्दा विमानस्थलका कर्मचारी मात्र नभई समग्र पर्यटन व्यवसायी तरङ्गित बनेका छन् । लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले चारवटा उडानले पर्यटन व्यवसायीमा आशा जगाएको बताए । 'होटल व्यवसायमा लगानी गरेका लगानीकर्ताहरुमा यसले हौसला बढाएको छ,' ज्ञवालीले भने, 'आउने दिनहरुमा अझै लगानी भित्र्याउने आशा जागेको छ ।'

भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रमा पर्यटनले फड्को मार्ने विश्वास लिइएको अध्यक्ष ज्ञवालीले बताए । पर्यटन व्यसायसँगै निजी क्षेत्र पनि विमानस्थल सञ्चालनले हौसिएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन भएको अढाई वर्षपछि भएको चहलपहलले निजी क्षेत्रमा उत्साह जागेको बताए । 
'हामीले चुनौतीहरुलाई स्वीकार गर्दै ठूलो लगानी गरेका छौँ, प्रायः मृतावस्थामा बसेका होटलहरुमा यसले प्राण भरेको छ,' उनले भने, 'पर्यटकहरुको आगमनसँगै यहाँका उत्पादन बजारीकरण, पर्यटन प्रवद्र्धनसँगै समग्र आर्थिक अवस्था चलायमान बनाउनेमा हामी उत्साहित छौँ ।'

विमानस्थल सञ्चालनसँगै यसको निरन्तरतामा भने व्यवसायीहरुले आशङ्का व्यक्त गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले भैरहवामा कार्यालय नराखेको, स्वास्थ्य परीक्षण गर्न अझै काठमाडौँ धाउनुपर्ने, पहिलोपटक श्रमका लागि काठमाडौँ जानुपर्ने बाध्यता अझै देखिन्छ । 'सरकारले अझै गर्नुपर्ने कामहरु अविलम्ब लागू गर्न माग गर्दछौँ,' अध्यक्ष श्रेष्ठले भने, 'यसका लागि निजी क्षेत्रले के सहयोग गर्नुपर्ने हो गर्न तयार छौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप