१० बजे, १० समाचार
आज २०८१ कार्तिक २५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान; कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई, कोशीका पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्यायो प्रहरीले, कालिकोटमा जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति, कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै ‘कम्फरटेबल’ ः ओली, सरकारले एसपीपी सम्झौता गर्न लागेको प्रचण्डको आरोप लगायत छन् ।
१. राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान; कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अजरबैजानतर्फ प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति पौडेललाई विमानस्थलमा उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले बिदाइ गरे ।
२. कोशीका पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्यायो प्रहरीले
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विराटनगरबाट काठमाडौँ ल्याएको छ । मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई आइतबार नै प्रहरीले विराटनगरमा नियन्त्रणमा लिएको थियो । लगत्तै उनलाई काठमाडौँ ल्याएर अदालतमा पेस गरिएको थियो । अदालतले अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
३. कालिकोटमा जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु
कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा आइतबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । उक्त जीप वडा नम्बर ५ को खिनदेखि थिर्पुतर्फ जाँदै थियो । जीप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
४. रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
५. कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै ‘कम्फरटेबल’ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता साझेदारी अहिलेसम्मकै कम्फरटेबल भएको बताएका छन् । पार्टीको सचिवालय बैठकमा उनले कांग्रेससँगको समन्वय र सहकार्यमा कुनै अप्ठ्यारो अहिलेसम्म नदेखिएको जिकिर गरेका हुन् ।
६. सरकारले एसपीपी सम्झौता गर्न लागेको प्रचण्डको आरोप
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाएका छन् । माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओली सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।
७. दुई न्यायाधीश र दुई राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार नै दुई नेपाली राजदूत पनि नियुक्त गरेका छन् ।
८. नेपालमा कम्पनी खोल्नमात्र होइन, बन्द गर्न पनि गाह्रो
२०८० असार मसान्तसम्म नेपाल सरकारमा तीन लाख ४२ हजार ३४ कम्पनी दर्ता छन् । जसमध्ये प्राइभेट लिमिटेड तीन लाख ३० हजार २३३ रहेका छन् । बाँकी ११ हजार ८०१ कम्पनीमध्ये २,२०२ पब्लिक लिमिटेड, ५,६७८ नाफा वितरण नगर्ने कम्पनी र ३,९२१ वटा वैदेशिक लगानी भएका कम्पनी छन् । यीमध्ये करिब ५० प्रतिशत कम्पनी वर्षौंखि कारोबार सञ्चालन नगरेका तर प्रक्रियागत रूपमा बन्द नभएका अवस्थामा रहेको पूर्वउद्योगसचिव भरत थापा बताउँछन् । नेपालमा कम्पनी खोल्न, सञ्चालन गर्न र बन्द गर्न निकै गाह्रो रहेको उनले बताए ।
९. चाडपर्वको अवसरमा प्रदर्शित नेपाली फिल्मलाई दर्शकको उल्लेख्य साथ
पछिल्लो समय केही नेपाली फिल्मले राम्रो व्यवसाय गरेका छन् । चाडपर्वको समय पारेर प्रदर्शनमा आएका केही नेपाली फिल्म हिन्दी फिल्मलाई समेत पछि पार्न सफल भएका छन । यो दुई महिनामा ६ नेपाली फिल्मले राम्रो दर्शक पाए । यो अवधिमा रिलिज भएका सबैजसो हिन्दी फिल्मले नेपाली दर्शक पाउन सकेनन् ।
१०. प्रहरीमा ८ डीआईजी पद रिक्त
नेपाल प्रहरीमा ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । डीइआईजीहरू बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेसँगै रिक्त सङ्ख्या ८ पुगेको हो । कार्तिक १४ मा बढुवा समितिले गुरुङ र ढकाललाई बढुवा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा