जापानमा लुक्न हिँडेका कञ्चन देवकोटा र पूर्वमन्त्री अधिकारीका लागि एउटै होटल बुकिङ
काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ ।
युवाहरूलाई फर्जी कागजात बनाएर बेचबिखन गर्ने नियतले जापान लगेको आरोपमा उनलाई अनुसन्धान गर्न अदालतबाट २ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘यसअघि पक्राउ परेका ६ जनासँगै म्याद मिलान हुनेगरी २ दिनको म्याद लिएका छौँ ।’
प्रहरीले यसअघि ६ जनालाई पक्राउ गरेर लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । पूर्वमन्त्री पक्राउ परेसँगै सो मुद्दा प्रहरीले मानव बेचबिखनमा पनि रुपान्तरण गरेको छ । पूर्वमन्त्री अधिकारी अर्काको खर्चमा जापान गएको देखिएको र ३ जनासँग बिचौलियाले रकम पनि लिएको पुष्टि भएपछि प्रहरीले आफ्नै प्रतिवेदनको आधारमा मुद्दा रुपान्तरण गरेको हो । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी प्रतिवेदनको आधारमा लिखत किर्तेसँगै मानव बेचबिखन मुद्दा पनि यसमा जोडेर अनुसन्धान थालेका छौँ ।’
कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका हुन् । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटालाई बस्ने व्यवस्था एउटै होटलमा गरेको भेटिएको छ ।’
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् ।
दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार डिपोजिट गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कञ्चन देवकोटा विद्यार्थी हुन् । बिएमा पढ्दै गरेका उनले जापान जान खोज्दा धादिङका महेश पाण्डेलाई भेटेको प्रहरीलाई बताएका छन् । देवकोटाले जापान जान १० लाख बुझाएको भेटिएको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलमा पक्राउ परेका हुन् ।
जनक राई यसअघि कपनमा फार्म हाउस चलाउँथे । फार्म हाउस चल्न छाडेपछि बेचेर उनी बिचौलियालाई रकम बुझाएर जापान हिँडेका हुन् ।
जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको छ ।
जापान पठाउने ‘गिरोह’ले नै फर्जी कागजात बनाएर उनीहरु उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘गिरोहका सदस्यले विमानस्थलमा कञ्चन देवकोटालाई ३ वटा परिचयपत्र दिएको देखिन्छ ।’ सो परिचयपत्र देवकोटाले अरु दुईजनालाई हस्तान्तरण गरे ।
लिलाबल्लभको पश्चात्ताप : एम्बुसमा परेँ
आइतबार मोरङबाट पक्राउ गरेर काठमाडौँ ल्याएपछि प्रहरीले पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । म्याद थपका लागि अदालतमा उपस्थित गराइएका अधिकारीले आफू ‘एम्बुसमा परेको’ अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । जापानमा आयोजित कार्यक्रममा जान आफ्नो पासपोर्ट लगायका कागजात बिचौलियालाई दिएको तर, उनीहरुले फर्जी कागजात बनाएको कुरा हङकङ पुगेपछि मात्र आफूले थाहा पाएको उनले जिकिर गरेका छन् ।
अधिकारीले पश्चात्ताप गर्दै भनेका छन्, ‘म एम्बुसमा परेँ ।’ अहिलेसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्रीको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सो गिरोहमा संलग्न २ जना अझै फरार छन् ।
गिरोहका सदस्यले जापान हिँडेका ३ जनाको मोबाइलमा मन्त्रीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानु’ भनेर म्यासेज गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘३ जनाको मोबाइलमा गिरोहका सदस्यले मन्त्रीको फोटो पठाएको देखिन्छ ।’
प्रहरीले पूर्वमन्त्री अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा २ (ग) अनुसारको कसुर गरेको मुद्दा लगाएको छ । मानव बेचबिखनबारे सो ऐनमा भनिएको छ, ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झुट्टा कागजात बनाई वा झुक्याइ विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थान बाहेक अन्य मुलकुमा गैरकानुनी रूपमा प्रवेश गराउने मानव तस्करी सम्बन्धी कार्य गरे वा गराएमा ।’
सो ऐन अनुसार कसुर पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
-
१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म
-
कडा सुरक्षा घेराबिच अखिल क्रान्तिकारीको मतगणना
-
रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना