बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

सेयरबाट सुरु भएको ज्योति दाजुभाइको झगडा अस्पतालसम्म पुग्यो

आइतबार, २५ कात्तिक २०८१, १७ : ०४
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । लामो व्यापारिक विरासत बोकेको ज्योति समूह पछिल्लो समय पारिवारिक किचलोमा रुमल्लिएको छ । मणिहर्ष ज्योतिका छोरा र नातिहरूको विवादले यो समूहलाई प्रहरीदेखि अदालतसम्म पु¥याएको छ । पद्मज्योति र रुपज्योति सहोदर दाजुभाइ हुन् । यी दाजुभाइ र उनीहरूका छोराहरूले अहिले ज्योति समूह चलाइरहेका छन् ।

पद्य ज्योति र रूप ज्योति दाजुभाइबीच झन्डै दशकअघिदेखि सम्पत्ति विवाद छ । करिब १० वर्षअघि हिमालयन बैंकको सेयर किनबेचबाट सुरु भएको विवाद यतिबेला ग्राण्डी सिटी अस्पतालसम्म पुगेको छ । कात्तिक ११ गते पत्रपत्रिका एड्भोटोरियल नै छापेर विवादलाई थप छताछुल्ल बनाइएको थियो । 

जमलस्थित ज्योति भवनमा रूप ज्योतिको परिवारले ग्रान्डी सिटी अस्पताल चलाइरहेको छ । उक्त भवनको अधिकांश भाग अंशबन्डामा आफ्नो परेको पद्य ज्योति परिवारको भनाइ छ । पछिल्लो समय रुपज्योति समूहले अदालतको फैसला बमोजिम घर खाली नगराएको र युट्युब च्यानलमार्फत आफूमाथि लाञ्छना लगाएको भन्दै पद्म ज्योति समूहले आपत्ति जनाएको छ । पद्मज्योतिले आफ्नो घर आफैँले प्रयोग गर्न नपाएको, रूप ज्योतिले अस्पताल सार्न नमानेको, करोडौँ रुपैयाँ भाडा पनि बक्यौता रहेको बताउँदै आएका छन् । 

रूप ज्योतिले चलाएको ग्रान्डी सिटी अस्पतालले भने पद्म ज्योतिलाई साढे ४ करोड रुपैयाँ भाडा तिरिसकेको दाबी गरेको छ । अस्पतालले मासिक १ लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको बताएको छ । मासिक भाडा बुझाउने गरी पद्मको घर ज्योति समूहकै हस्पिटलले बहालमा लिएपछि बैंक खातामा अस्पतालले पटक–पटक उक्त रकम तिरेको बताएको छ । तर बैंक खातामा जम्मा गरेको बहाल पनि प्राप्त नभएको भन्दै पद्मज्योतिले झुट फैलाएको दाबी अस्पतालले गरेको छ । घर बहाल कर ४३ लाख ६२ हजार ३ सय ७५ रुपैयाँ बुझाएको र भौचरसमेत घरधनीलाई बुझाएको अस्पतालले बताएको छ ।

तर पद्य ज्योति पक्षले त्यसलाई अस्वीकार गरेको छ । भाडा नतिरेको भन्दै अस्पताल बसेको घर खाली गराउन पद्म ज्योतिको तर्फबाट विज्ञप्ति प्रकाशित गरिएको छ । यसप्रति अस्पतालले गम्भीर ध्यानाकर्षण भएको पनि बताइएको छ ।

बहालमा बसेकोलाई घरधनीले हटाउन सक्ने कानुनी अधिकार भए पनि अस्पताल बन्द नै गराउने नियतले गतिविधि गर्नु अमानवीय तथा अनैतिक कार्य रहेको अस्पतालको भनाइ छ । उक्त भवनमा अस्पतालको संवेदनशील युनिट रहेको र भाडासमेत अग्रिम बुझाइसकेकाले तत्काल खाली गर्न नसक्ने रूप ज्योतिको परिवारले जनाएको छ । 

अस्पताल रहेको भवनमा आफूले उपकरण जडान गर्न २० करोडभन्दा बढी लगानी गरेको रूप ज्योतिको भनाइ छ । ती उपकरणहरू निकाल्दा टुटफुट भएर नष्ट हुने भन्दै रूप ज्योतिले भवन खाली गर्न एक वर्षको समय दिनुपर्ने माग गरेको छ । तर पद्य ज्योति समूहले पहिलेदेखि नै आफ्नो अंशमा रहेको खण्ड खाली गर्न आग्रह गर्दा रूप ज्योतिको परिवारले आनाकानी गरेको बताउँदै आएको छ । गत साता पद्य ज्योतिको पक्षबाट काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू आएर एक हप्ताभित्र अस्पताल खाली गर्न आग्रह गरेका थिए । रूप ज्योतिले भने अस्पताल अन्यत्र सार्न पहल गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप