अक्टोबरको युद्धमा रुसलाई सबैभन्दा बढी मानवीय क्षति : बेलायती रक्षा प्रमुख
आइतबार, २५ कात्तिक २०८१, १५ : ५२
लन्डन । अक्टोबर महिना रुसका लागि युक्रेनसँग युद्ध सुरु भएयताकै सबैभन्दा खराब रहेको बताइएको छ । बेलायतका रक्षा प्रमुख एडमिरल टोनी राडाकिनले बीबीसीलाई यस्तो भनेका हुन् । ‘अक्टोबर महिनामा सबैभन्दा बढी रुसी सैनिक या त मारिएका छन् वा घाइते भएका छन् ।’
राडाकिनले बीबीसी वनको ‘सन्डे विथ लौरा कुएन्सबर्ग’ मा भने । राडाकिनका अनुसार अक्टोबर महिनामा औसतमा हरेक दिन १ हजार ५०० रुसी सैनिकहरू मारिएका वा घाइते भएका छन् ।
फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएयता मारिएका वा घाइते भएका रुसी सेनाको सङ्ख्या अहिलेसम्म ७ लाख पुगेको पनि उनले बताए । रुसले युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या सार्वजनिक गर्ने गरेको छैन । युक्रेनमा पुटिनले गरेको आक्रमणको असाधारण मूल्य रुसी जनताले चुकाउनु परिरहेको पनि राडाकिनको भनाइ छ ।