बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
साफ महिला च्याम्पियनसिपको टिकट बिक्री प्रकरण

आर्थिक अनियमितता भएको एन्फा वरिष्ठ उपाध्यक्षको आरोप, छानबिन र कारबाहीको माग

आइतबार, २५ कात्तिक २०८१, १५ : २३
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपका क्रममा टिकट बिक्रीमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले आइतबार काठमाडौँमा पत्रकारसम्मेलन आयोजना गरी आफू आबद्ध संघकै पदाधिकारहरूमाथि आर्थिक अनियमितताको आरोप लगाएका हुन् । उनले यसको निष्पक्ष छानबिन र दोषी उपर कारबाहीको माग पनि गरेका छन् ।

‘महिला साफ च्याम्पियनसिपको गेट टिकट बिक्रीमा नेपालको प्रचलित कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकाले त्यसमा अनियमितता र भ्रष्टाचार भएको मेरो बुझाई छ,’ कार्यक्रममा उनले भने ।

उनले महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीका लागि टेण्डर आव्हान गर्ने प्रक्रिया नै गलत भएको आरोप पनि लगाए । ‘टेण्डर आव्हानको समयभित्र एउटामात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिन्छ,’ वरिष्ठ उपाध्यक्ष खड्का भन्छन् ।

टिकटको दर निर्धारण तथा व्यवस्थापनका लागि एन्फा कार्यसमितिका सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकासनारायण श्रेष्ठ, प्रविण यादव, सरेश साह र संजिव पाण्डे सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

एन्फाले महिला साफ च्याम्पियनसिपको टिकट बिक्री गर्न माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिसँग सम्झौता गरेको थियो । ‘टेण्डर दिइसकेपछि पुनः अवैधानिक तरिकाले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थप्रेरित देखिन्छ । एन्फाले टिकट बिक्री गर्दा अनलाइन प्लेटफर्ममार्फत गर्नुपर्नेमा त्यो पनि गरेको देखिँदैन,’ खड्काको आरोप छ ।

माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले ८० लाख रुपैयाँमा एन्फासँग टिकट बिक्रीको अधिकार खरिद गरेको थियो । तर, माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकट बिक्रीका क्रममा सम्झौता विपरितको काम गरेको आरोप लगाउँदै एन्फाले अन्तिम समयमा सम्झौता रद्द गरेको थियो ।

त्यसपछि एन्फाले फाइनलको टिकट आफै बिक्री गर्ने निर्णय लिएको थियो । एन्फाले आफै टिकट बिक्री गर्ने निर्णय फाइनलभन्दा एक दिनअघि मात्र गरेको थियो । नेपाल र भारतबिचको सेमिफाइनल खेलका लागि निर्धारण गरिएभन्दा बढी टिकट बिक्री गरेको आरोप माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिमाथि लगाइएको थियो ।

एन्फाले फाइनलमा साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकेको थियो । एन्फाले फाइनल खेलका लागि ११ हजार (भीआईपीतर्फ एक हजार र साधारण प्यारापिटतर्फ १० हजार) टिकट बिक्री गरिएको बताएको थियो ।

अन्तिम समयमा आएर एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले खल्ती डिजिटल वालेट एपबाट टिकट बिक्री गरेको साधारण प्यारापिटतर्फको चार हजार एक सय टिकटलाई पनि मान्यता दिइएको थियो । तर, वरिष्ठ उपाध्यक्ष खड्काले आफ्नै निर्णय विपरित एन्फाले फाइनलमा भीआईपीतर्फ एक हजार ८२ र साधारण प्यारापिटतर्फ १० हजार एक सय ३५ टिकट बिक्री गरेको आरोप पनि लगाएका छन् ।

उनले महिला साफ च्याम्पियनसिपमा टिकट बिक्री सम्बन्धी गलत निर्णयका कारण एन्फालाई एक करोड ५० लाख रुपैयाँ क्षति पुगेको आरोप पनि लगाएका छन् । उनले साफ च्याम्पियनसिपमा टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम महिला खेलाडीहरुलाई वितरण गरिनु पर्ने माग पनि राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप