आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

ओलीको ब्रिफिङ : ब्रिक्स घोषणा र ट्रम्पका कारण तेस्रो विश्वयुद्धको सम्भावना टर्‍यो !

सरकार सञ्चालन अहिलेसम्मकै ‘कम्फरटेबल’, कांग्रेसको आलोचना स्वाभाविक
आइतबार, २५ कात्तिक २०८१, १५ : ०९
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफूलाई सरकार सञ्चालन गर्न अहिलेसम्मकै ‘कम्फरटेवल’ भएको ब्रिफिङ गरेका छन् ।

पार्टीको हेडक्वाटर मानिने सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको चार महिने कार्यकालको अनुभव सुनाउँदै सत्ता साझेदार कांग्रेससँगको सहकार्य र समन्वयमा कुनै अप्ठ्यारो नभएको बताए । उनले दुई दलबिचको सहमति अनुसार नै गठबन्धन सरकार पूरा समय जाने दाबीसमेत गरे ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकमा सरकारको ब्रिफिङ गर्ने क्रममा प्रधानमन्त्री ओलीले कतिपय व्यक्तिले सरकार आजै ढल्ने, भोलि नै ढल्ने भनेर प्रचारवाजी गरे पनि गठबन्धनमा कुनै समस्या नरहेकाले सरकार पूरै कार्यकाल जाने दाबी गरे । उनले सोही अनुसार धारणा सार्वजनिक गर्न नेताहरूलाई निर्देशनसमेत दिएका छन् ।

‘सरकार अहिले नै ढल्छ, भोलि नै ढल्छ भनेर भ्रम छर्ने प्रयास भइरहेको छ । यो भ्रममा नपर्न साथीहरूलाई आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने, ‘बरु मैले अहिलेसम्म सरकारको नेतृत्व तीन पटक गरेँ । तीमध्ये सबैभन्दा कम्फरटेबल यो पटक भएको महसुस भएको छ । किनभने अहिलेसम्म हामीले गरेका निर्णय र नियुक्तिहरूमा हामी समन्वयमै अघि बढेका छौँ ।’

सरकारबारे कांग्रेसका केही नेताले गरेको आलोचनालाई अन्यथा मान्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड थियो । ‘कांग्रेसका केही साथीहरूले सरकारबारे केही आलोचना गरेको सुनिएको छ । त्यसलाई अन्यथा लिन जरुरी छैन’, ओलीले बैठकमा भनेका थिए ।

बैठकमा खासगरी ओलीले तीन वटा विषयमा सन्देश दिन खोजेको एक सचिवालय सदस्यले बताए । ‘पहिलो, संयुक्त सरकार राम्रोसँग चलिरहेको छ । दोस्रो, कांग्रेससँगको सहकार्य सहमतिभन्दा दायाँबायाँ जाँदैन र तेस्रो, भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई राष्ट्रहितकै पक्षमा उपयोग गर्नुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्यले रातोपाटीसँग भने ।

ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले ब्रिक्स सम्मेलनले हामीलाई पनि आर्थिक रूपमा सकारात्मक प्रभाव पार्छ भन्ने विश्लेषण सुनाएका थिए ।

तेस्रो विश्वयुद्धको सम्भावना टर्‍यो

बैठकमा ओलीले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोहोरिएको र उनले उठाउँदै आएका विषयबारे संश्लेषण गरेका थिए ।

‘तेस्रो विश्वयुद्ध हुन्छ भन्ने जुन खालको हल्ला पिटाइएको छ र आशङ्काहरू बढाउने काम भएको छ तर अब तेस्रो विश्वयुद्ध टरेर गयो’, बैठकमा ओलीले अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्दै भने, ‘अमेरिकाको निर्वाचनमा ट्रम्पको आगमन र ब्रिक्स सम्मेलन, सम्मेलनले गरेका घोषणालगायतले विश्वयुद्धको सम्भावना टरेर गएको छ ।’

ब्रिक्स सम्मेलन र ट्रम्पको विजय दुवैले गर्दा विश्व शान्तिको सकारात्मक प्रभावमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्याङ्कन गरेर फाइदा उठाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

भारतबारे संशय कायमै !

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारत र चीन दुवै मित्र शक्ति रहेको र उनीहरूसँगको सम्बन्धलाई समदूरीमा राखिएको समेत बैठकमा बताएका थिए । त्यसक्रममा ओलीले २०७२ को भूकम्पपछि भारतले नाकाबन्दी गरेकोमा मात्र विरोध गरेको भन्दै त्यसै विषयलाई लिएर कतिपयले अनावश्यक भनेर टिप्पणी गरिरहेकोमा असन्तुष्टि जनाए ।

‘नाकाबन्दीको विरोधमात्र गरेको हो हामीले । त्यसैबखत चीनसँग नाका खोल्ने ट्रेड ट्रान्जिट सम्झौता गरियो, जसले गर्दा भारतले नाकाबन्दी फिर्ता लिनुपर्ने बाध्यता भयो तर यसमा भारत रिसायो । ऊ रिसाउनुपर्ने आवश्यकता होइन’, ओलीको भारतबारे टिप्पणी थियो ।

त्यसक्रममा ओलीले पछिल्लो पटक भएको चीन र भारतबिचको सम्झौता समेत नेपालका लागि महत्त्वपूर्ण रहेकाले नेपालले सन्तुलन मिलाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै आफू नेतृत्वको सरकार सोही अनुसार अघि बढिरहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय परिस्थितिमा आएका बदलावहरू पनि सकारात्मक नै छन् । हामीले चिन्ता गर्नुपर्ने केही छैन, बरु अन्तर्राष्ट्रिय परिस्थिति समेत थप अनुकूल बन्दै गएका छन्’, प्रधानमन्त्रीले जोड दिँदै भनेका छन्, ‘हामीले यो परिस्थितिलाई हेरेर राष्ट्रहितका पक्षमा कदम चाल्नुपर्छ ।’

चीन भ्रमण र सम्झौता कार्यान्वयन जोड

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे संक्षिप्त रूपमा जानकारी गराएका थिए ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमै जोड दिइनेबारे छलफल भएको जानकारी दिए । ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमण छोटो हुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीहरूले गरेका भ्रमणहरूमा भएका समझदारी कार्यान्वयनमा जोड दिइनेछ’, ज्ञवालीले भने ।

लिलाबल्लभबारे ‘ग्रीन सिग्नल’

सचिवालय बैठकमा कोशीका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीबारे सामान्य छलफल भएको थियो । त्यसक्रममा अधिकारी आफैँले गल्ती गरेको महसुस गरेकाले उनले गरेको गल्तीअनुसार कारबाही हुनुपर्ने सचिवालय सदस्यहरूले बताएका थिए ।

सचिवालय सदस्यहरूको धारणा सुनेपछि ओलीले अधिकारीबाट गल्ती भएको आफूलेसमेत केही प्रमाण पाएको भन्दै उनलाई जोगाउन नसकिने बताएका थिए ।

‘उहाँका बारेमा गम्भीर कुराहरू आए । मैले पनि केही प्रमाणहरूबारे बुझेँ’, अधिकारीबारे ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कानुन जानेको व्यक्तिबाटै यस्तो गल्ती हुनु भनेको जानीजानी गल्ती गर्नु हो । त्यसैले उहाँले गरेको गल्तीअनुसार कारबाही भोग्नुपर्छ । यसमा पार्टीले सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ ।’ अधिकारी केही अघि जापान गएका थिए । उनीसँगै गएका तीन जनासँग नक्कली कागजात रहेको पुष्टि भएपछि जापानको अध्यागमनले उनको टोलीका सबैलाई फिर्ता पठाएको थियो । सोही प्रकरणमा अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप