बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सर्पमाथि पिएचडी गर्ने पहिलो नेपाली भन्छन् : सर्पबाट पनि मान्छेलाई यस्तो फाइदा हुन्छ

आइतबार, ०६ जेठ २०७५, ११ : ४२
आइतबार, ०६ जेठ २०७५

चितवन माडीका देवप्रसाद पाण्डेको अगाडि अहिले डाक्टर थपिएको छ । उनले जर्मनको एक विश्वविद्यालयबाट चिकित्सकीय महत्वका सर्पहरू’को बारेमा अध्ययन गरेका छन् ।

अर्थात मानिसलाई टोक्ने सर्प, त्यसको उपचार र विषको प्रभावका बारेमा उनको अध्ययन केन्द्रित थियो ।

 चितवनको माडी माविबाट २०५० सालमा उनले एसएलसी पास गरेपछि वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएस्सी सकेका थिए । 

२०५९ सालमा उनले प्राणीशास्त्रमा एमएस्सी सके । 

जर्मन एकेडेमिक एक्स्चेन्ज संस्था मार्फत जर्मनीको एक विश्वविद्यालयमा पिएचडीका फेलोसिप प्राप्त भएपछि २०६७ चैतमा उनी जर्मन लागे । 

२०७२ असोजमा पिएचडी सकेर उनी नेपाल फर्किए । 

पिएचडी सकेपछि के गर्ने भनेर बसेको बेला उनले प्रोफेसरसँग आफूले पिएचडीपछि यस्तो काम गर्न खोजेको छु भनेर आफ्नो रुचि सुनाए । 

प्रोफेसरले तिम्रो रुचि जस्तै श्रीलङ्का र अस्ट्रेलियाका विश्वविद्यालयले संयुक्त रूपमा अनुसन्धान गरिरहको बताए । 

उनले नेपाल  गएर सोही टोलीमा समावेश भएर अनुसन्धान गर्नका लागि प्रस्ताव गरे र उनले सो टोलीसँगै सर्पसम्बन्धी अनुसन्धान गरे । 

उनले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई केन्द्र बनाएर सर्प र सर्पदंशबारे अनुसन्धान गर्न थाले । 

पश्चिम नेपालमा कस्ता खाले विषालु सर्पले टोक्दा रैछन् ? 

कस्ता खाले सर्पहरू पाइँदो रैछ एउटा प्रोफाइल बनाउनुप¥यो भनेर काम सुरु गरे । 

अनि भारतबाट आयात गरिनेप्रति विष निरोधक औषधिले नेपालका सर्पले टोकेका बिरामीको राम्रो उपचार भइरहेको छ कि छैन ? 

यसबारेमा अनुसन्धान योजना बनाएर केही महिना उनले अध्ययन गरे । 

नेपालमा सर्पले टोकाइको अवस्था, त्यसबाट हुने मृत्युदर र अपाङ्गता हुनेबारेमा उनले पिएचडीका लागि अध्ययन गरेका थिए । 

उनको अध्ययन शीर्षक चिकित्सकीय महत्वका सर्पहरू थियो । 

यो भनेको मान्छेलाई डस्ने सर्प र सर्पको डसाइबाट बिरामीलाई अस्पताल लानुपर्ने अवस्था हो । 

उनले यो अवस्थाका सर्पहरूबारे अध्ययन गरेका थिए । उनी नपवलपरासीदेखि इलामसम्म गरी दर्जनभन्दा बढी अस्पताल घुमे । 

ती अस्पतालबाट उनले विभिन्न सर्पहरूका प्रजाति र तिनीहरूको अवस्थाको बारेमा अध्ययन गरे । 

उनी ती क्षेत्रका गाउँघरमा सर्पको अध्ययनका लागि पुगे । 

पक्की घरको कोठामा झुलभित्र गएर सर्पले टोक्यो

उनले अध्ययनका क्रममा पक्की घरको कोठामा गएर झुलभित्र सुतेको मान्छेलाई टोकेको पनि फेला पारे । 

उनको अध्ययन अनुसार तराईमा धेरैले ज्यान गुमाउनुपर्ने कारक सर्प भने करेंत हो । यो सर्प बङ्गारस सेरुलियस भन्ने प्रजातिअन्तर्गत पर्छ ।

 यो सर्प नेपालको पहिलो समस्याका रूपमा रहेको उनको निष्कर्ष छ । 

उनले यो सर्पको ४६ वटा केस अध्ययन गरे । लक्षण, बिरामीले भनेको आधारमा यो सर्पले टोकेका बिरामीको उपचार प्रक्रियादेखि नै अध्ययन गर्न थाले । 

उपचार भइरहेका बिरामीलाई पछ्याए भने सर्पले टोकेर मृत्यु भएको परिवारलाई पनि भेटे । सर्पले टोेकेको ठाउँको वस्तुस्थिति, त्यहाँको वातावरणको पनि अध्ययन गरे । 

सर्पले धनी, गरिब, महल, झुपडीमा बस्नेलाई टोक्ने उनी बताउँछन् । उक्त सर्पको प्रजातिले सम्पन्न मान्छे, पक्की घरमा बस्नेलाई पनि झुलभित्र गएर पनि टोकेको उनले भेट्टाए । 

चितवनको भरतपुर अस्पतालबाट  २ सयदेखि ५ सय मिटर दूरीमा रहेका पक्की घरहरूमा सर्पले टोकेको उनले फेला पारेका थिए ।

सहरको मुख्य भागमा पनि सर्पले टोक्ने गरेको पाएपछि सर्पले गाउँका मान्छेलाई मात्र हैन सहरका मान्छेलाई पनि टोक्ने गरेको उनले पत्ता लगाए ।

३ सय ४९ सर्पहरूलाई उनले अनुसन्धानका लागि लिएका थिए । 

यी सबै सर्प विषालु भने थिएनन् । 

त्यसपछि दोस्रो खतरनाक सर्पका रूपमा कमन कोब्राको अध्ययन गरेका थिए । तेस्रो सर्पको प्रजातिका रूपमा उनले हरेउको अध्ययन गरेका थिए । 

यस्तै चौथोमा रसेल्स भाइपर, जसलाई नेपालीमा बाघे सर्प भन्छन् । 

हरेउलाई ह्वाइट लिप, ग्रिन लिप भाइपर पनि भनिन्छ । 

कमन करेंतलाई सामान्यतया चुरे सर्प भन्छन् । 

जसको कालो शरीर छिर्केमिर्के प्रकारको हुन्छ । 

यो सर्पको नाममा नेपालमा विभिन्न भागमा फरक फरक रहने गरेको छ । 

उनले अध्ययन गरेको दोस्रो सर्प कमन करेंत हो, जसलाई नेपालीहरूले नाग भन्ने गरेका छन् । यसको टाउको फिँजारिएको पात जस्तो हुने गरेको छ । 

यस्तै ह्वाइट लिप ग्रिन पिट भाइपर अर्थात हरेउको ओठ सेतो र हरियो जिउमा टीकाटीका हुने गरेको छ । 

आँखा र नाकमा ताप संवेदनशील खाल्डो हुने गरेको छ । तराईका बेल्टका अस्पतालमा उनले गरेको अध्ययन अनुसार यस्ता सर्पको उपस्थिति तराईदेखि पहाडसम्म रहेको छ । उच्च पहाडी क्षेत्रमा पनि यो प्रजातिका सर्पहरू पाइन्छन् । 

यस्तै रसेल्स भाइपर अर्थात बाघे सर्प उनले १० वटा जतिको मात्रै अध्ययन गरे । यो प्रजातिको सर्प नवलपरासीको त्रिवेणीस्थित नेपाली सेनाले सञ्चालन गरेको अस्पतालमा पाएका हुन् । 

सर्पले टोकेपछि मारिएको सर्पसहित मान्छेहरू अस्पताल आएका बेला उनले त्यसबारे अध्ययन गरेका थिए । यो सर्पको टोकाइको असर र उपचारबारे अध्ययनका लागि पनि आफू घरघरमा पुगेको उनले बताए । 
यस्तै अर्को प्रजातिको सर्पको अध्ययनका लागि पनि उनी ५० भन्दा बढी परिवारको घरमा पुगेर टोेकेको ठाउँलाई निरीक्षण गरेका थिए । 

नेपालमा कति प्रजातिका सर्प छन् ?   

उनले गरेको अध्ययनअनुसार नेपालमा ७१ प्रजातिका सर्पहरू देखिए । पछि अध्ययन गर्ने थप ३ प्रकारका सर्प भेटिएका छन् । 

उनको अध्ययनका लागि भने तयार पारिएको गाइडलाइनमा भने ८९ प्रकारका सर्प तोकिएको थियो । यी सर्पहरू यहाँ बस्छन्, यो खान्छन् भन्ने विस्तृत अध्ययन भने भएको छैन । उनको अनुमानमा नेपालमा सय प्रजाति हाराहारीमा सर्प हुनुपर्छ । 

एसियाका विभिन्न देशमा पाइने सर्पको प्रजातिको अध्ययन हो । अरू देशको र नेपालको उस्तैउस्तै वातावरण भएका स्थानमा एउटै प्रकारका सर्पहरू हुनुपर्छ भन्ने उनको आँकलन हो । 
सर्प कस्तो खालको प्राणी हो ? 

‘प्राणीशास्त्रको भाषामा भन्नुपर्दा सर्प चिसो रगत भएको घस्रने प्राणी हो । खुट्टा नभएको कत्लाको साहाराले घिस्रिएर हिँड्न प्राणी हो । 

बाहिरी वातावरण परिवर्तन तथा तापक्रम अनुसार यसले आफूलाई समायोजन गर्ने हुन्छ । बाहिरी तापक्रम बढ्यो भने जमिनको भित्री सतहमा चिसो खोज्दै जाने हुन्छ  । 

तर यसको विपरीत तातो रगत भएका स्तनधारी तथा चरा वर्ग भने अत्यधिक गर्मी भए पनि त्यसलाई सहेर बस्न सक्छन् । 

तातो रगत भएका प्राणीको पसिना आउने प्रद्धतिका कारण तापक्रमको अवस्थाहरूलाई सामन्जस्य गर्न सक्छन् । जाडो महिनामा प्रायः सर्पहरू लुक्ने गर्छन् भने बेस्सरी गर्मी भयो भने पनि सर्पहरू बाहिर निस्कँदैनन् । 

‘पानी पर्दा, शीतल मौसमको समयमा बढीजसो सर्पहरू बाहिर आउने गर्छन् । बाहिर उनीहरू आहाराको खोजीमा यताउता हिँड्ने गर्दछन्’ उनले बताए ।  

मान्छेलाई टोकेर मारिएका करेंत सर्पहरूबारे अध्ययन गर्दा उनीहरूको पेट खाली पाएको उनको अनुभव छ । कतिपय सर्पको पेटमा भने कुखुराको चल्ला पनि भेटिएको उनले बताए । एउटा सर्पको पेटमा भने उनले चराको प्वाँख पनि भेटे । 

भ्यागुता र सर्प खाएको पनि भेट्टाए साथै त्यहाँ साङ्लो पनि भेट्टाएका थिए । 

अधिकांश सर्पले मुसा खाने गर्छन् । 

उनीहरू मुसाको प्वालभित्र गएर मुसा खोजेर खान्छन् । कतिपय सर्प पानी र जमिन दुवै मनपराउने हुन्छन्, तिनीहरू भ्यागुता र माछाहरू पनि खाने गर्छन् । खासगरी सर्पहरूले सानाखाले स्तनधारी प्राणी, कीरा, फट्याङ्ग्रा पनि खाने गर्दछन् । अजिङ्गरले भने ठूला स्तनधारी प्राणीलाई समेत खाने गर्छ । 

उनले अध्ययनका क्रममा करेंत सर्प तराईमा मात्र नभएर पहाडमा पनि पाइन थालेको फेला पारे ।  

कास्कीमा एकजनाको करेंत सर्पको टोकाइबाट मरेको पाएकाले पहाडमा पनि यो सर्प रहेको उनको अनुमान छ । 

नवलपरासी, चितवन, सिन्धुली वरिपरिका जिल्लादेखि इलामसम्मका क्षेत्रमा उनले सर्पदंशको अध्ययन गरेका थिए । 

सर्पले मान्छेलाई किन डस्छ ?  

डा. पाण्डे भन्छन्– ‘प्राकृतिक हिसाबले मान्छेलाई खोज्दै आएर पक्कै डस्दैन । सर्पको रोजाइको आहारा मान्छे हुँदै होइन । कुनै कारणबस भएको त्यो एउटा घटना हो । सर्प र मान्छेबीचमा कुनै कारणबस भएको द्वन्द्व हो, त्यसकारण हामी त्यो पीडामा परेका हौँ । रसेल्स भाइपरले डसेका १० वटा केसहरू, ४६ वटा कमन करेंतले डसेका केसहरू घरमा पुगेर अध्ययन गर्दा के निष्र्कष निकालेँ भने मान्छेहरू जहाँ बस्छन्, खान्छन्, काम गर्छन्, ती ठाउँहरू सर्पलाई असाध्यै मन पर्छन् । मान्छे घरभित्र सुत्छ, त्यही धानको भकारी हुन्छ । भकारीमा मुसा खोज्दै सर्प आउँछ, त्यहाँ द्वन्द्व सुरु हुन्छ र घटना घट्छ । यो मेरो अनुमान हो ।’ 

उनले एक पटक एउटा भ्यागुतालाई सर्पले पछ्याउँदै आएको भेट्टाए । 

त्यो देखेपछि एकजना मान्छेले त्यसलाई मार्न खोजे तर पाण्डेले  रोके । त्यसले भ्यागुतोलाई सर्पले के गर्छ, कसरी खान्छ भनेर उनले हेर्न खोजे । 

सर्पले भ्यागुतो समात्यो र भ्यागुतो कराउन थाल्यो । एकछिनपछि विषले भ्यागुतो म¥यो । तर सर्प घरभित्र पस्न लाग्यो भनेर त्यसलाई मारिदिए ।

उनी भन्छन्– ‘त्यो घटनाबाट मैले के पाएँ भने भ्यागुताका लागि चाहिने आहारा मानिस बसेको ठाउँ वरिपरि पनि हुन्छ । आहाराको खोजीका लागि हिँडेको सर्प र मान्छेबीच भेट भएपछि द्वन्द्व उत्पन्न हुन्छ ।  सर्प आहारा र बसोबासका लागि मान्छे भएको स्थानतिर आइरहेको हुन्छ ।’ 

सर्पबाट मान्छेलाई के फाइदा हुन्छ ? 

उनी भन्छन्– ‘सर्पले टोक्नु सर्पको कारणबाट भएको हैन, हाम्रो कारणबाट भएको हो । सर्पको मार्गमा हामीले बाधा उत्पन्न गराएपछि निम्तिएको एउटा द्वन्द्व हो । सर्प कति पनि दोषी छैन । हामी दोषी छौँ । राति टर्च बालेर हिँड्यो भने, झाडी भएको ठाउँमा लौरो टेकेर हिँड्यो भने पनि सर्पले टोक्दैन । सर्प धेरै हुने ठाउँमा कम्तीमा ओछ्यान टक्टक्याउने, झुल लगाएर सुत्ने गर्नाले पनि सर्पबाट पनि बच्न सकिन्छ ।’ 

उनले सर्पबाट बायोलोजिकल, इकोलोजिकल, मेडिकल तथा अन्य विविध तरिकाबाट फाइदा पुग्ने बताए । 

सर्पबाट जैविक फाइदाको कुरा गर्दा यसले पारस्थितिक प्रणाली अर्थात इकोसिस्टममा सहयोग गर्छ । वातावरणलाई स्वस्थ राख्न यसले ठूलो भूमिका खेल्छ । यसका लागि मानिसहरूले केही लगानी गर्नुपर्दैन, मुसा नमारिदिए पुग्छ । 

अहिले विश्वभरी बाघ बचाउने अभियान सुरु भएको छ । विश्व नै बाघ बचाउने अभियानमा लागेको छ । यसको कारण भनेको पाकृतिक क्षेत्रको पारिस्थितिक पद्धतिलाई जोगाउने हो । 

बाघ जस्तै सर्प पनि पारिस्थितिक प्रणालीको एक सदस्य हो । सर्पहरू पनि मांसाहारी हो । जसरी पारिस्थितिक प्रणालीका लागि बाघले भूमिका खेल्छ, त्यसैगरी सर्पले पनि भूमिका खेल्छ । बाघको जति भूमिका त सर्पले खेल्न सक्दैन तर तल्लो तहबाट सर्पले भूमिका खेल्छ । यसरी अप्रत्यक्ष रूपमा सर्पले पारिस्थितिक पद्धतिलाई सन्तुलन बनाई मानिसलाई सहयोग गरिरहेको हुन्छ । 

सर्पहरू औषधीय गुणले पनि सम्पन्न हुन्छन तर यसका लागि मानिसहरूले मिहिनेत गर्नुपर्ने हुन्छ । धेरै सर्पहरूको विष औषधीका लागि प्रयोग गरिन्छ । 

सर्पले डस्यो भने त्यसलाई सन्चो बनाउन पनि प्रतिविषका रूपमा सर्पको विषलाई नै प्रयोग गरिन्छ । योबाहेक संसारमा अरू विकल्प पनि छैन । 

यस्तै मुटुरोग, रक्तचाप, क्यान्सरलगायतका रोगको उपचारका लागि बनाइएका थुप्रै औषधि सर्पबाट नै बनिरहेका छन् । क्यान्सरका लागि औषधि बनाउन यसबारे अध्ययन भइरहेको छ । रक्तञ्चारसँग सम्बन्धित औषधिहरू, पेनकिलर बनेको छ भने कोब्राबाट कोब्रोस्किन भन्ने औषधि बनेको छ । 

यसबाट दुखाइ नियन्त्रण गर्ने औषधी बन्छ । मान्छे दुर्घटना प¥यो वा अप्रेसन गर्नुप¥यो भने उसलाई इन्जेक्सन दिइन्छ, जसले गर्दा दुखाइका कारण उसले मर्नुपर्दैन । सर्पबाट यस्ता महँगा महँगा औषधिहरू बन्छन् । औषधिका गुण भएका कारण सर्प लाभदायी छन् तर त्यसलाई उपयोग गर्न जान्नुपर्ने डा. पाण्डे बताउँछन् ।  

अर्कोतर्फ मान्छेलाई टोक्ने, डरलाग्दो भए पनि मान्छेहरू यसलाई हेर्न चाहन्छन्, सर्प हेर्न आकर्षित हुन्छन् । चिडियाखाना तथा पार्कमा राखेर मान्छेको कौतुहलता पूरा गर्न पनि सकिन्छ । 

नेपालमा हरेक वर्ष कति सर्पदंश हुन्छ ? 

विश्व स्वास्थ्य सङ्गठनले सन् १९८७ मा अध्ययन गरेपछि औपचारिक रूपमा नेपालमा सर्पबारे अध्ययन अनुसन्धान भएको छैन । त्यो समय बर्सेनि नेपालमा कम्तीमा पनि २० हजारलाई सर्पले टोक्ने गरेको आँकडा आएको थियो । 

अहिले वार्षिक कति सर्पदंश हुन्छ, यसको आधिकारिक आँकडा नभएको उनी बताउँछन् ।  

सरकारी तवरबाट यस्ता अध्ययन, अनुसन्धानका लागि सहयोग नभएको प्रति भने उनको दुखेसो छ । नेपाल सरकारले यस्ता विषयमा अध्ययनको संवेदनशीलता नबुझ्ने, काममा ढिला गरिदिने समस्यादेखि आफू दिक्क भएको उनले बताए । उनले सर्पबारे अझै अध्ययन अनुसन्धान गर्न चाहेको तर सरकारी निकायबाट सहयोग नभएको बताए । अहिले उनले अध्ययनका लागि पेश गरेको फाइल वन बन्त्रालयमा अड्किएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप