शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत–पाकिस्तान विवाद

‘पाकिस्तानले आईसीसीको सबै प्रतियोगिता बहिष्कार गर्न सक्छ, यो चिन्ताको विषय हो’

आइतबार, २५ कात्तिक २०८१, १४ : १८
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी नहुन भारतीय टोली पाकिस्तान भ्रमणमा नजाने निश्चित भइसकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पनि गराइसकेको छ ।

भारतीय टोली पाकिस्तान नजाने भएपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने छलफल पनि अगाडि बढाइएको छ । तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अझै पनि भारतीय टोली पाकिस्तान भ्रमणमा आउनु पर्ने अडानमा छ ।

बीसीसीआईले खेलाडीको सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण नगर्ने निर्णय लिएको हो । पीसीबीका अधिकारीहरूले भने च्याम्पियन्स ट्रफीका क्रममा पाकिस्तानमा सुरक्षाको कुनै प्रश्न नरहेको बताउँदै आएका छन् । 

पीसीबीका अध्यक्ष मोहसिन नकवीले भारतीय टोलीले पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेल्ने विषयमा आफूहरूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् । ‘भारतले भ्रमण रद्द गरेको विषयमा आधिकारिक रूपमा हामीलाई कुनै जानकारी छैन । हाइब्रिड मोडलको विषयमा पनि छलफल भएको छैन,’ उनले भनेका छन् ।

Federal-Interior-Minister-Senator-Mohsin-Naqvi-addressing-a-press-conference-in-Lahore

उनले पीसीबी ‘हाइब्रिड मोडल’ को विषयमा छलफल गर्न तयार नरहेको पनि बताएका छन् । ‘हाइब्रिड मोडल’ अन्तर्गत भारतले च्याम्पियन्स ट्रफीको आफ्नो सबै खेल कुनै ‘न्यूट्रल भेन्यू’ मा खेल्न चाहेको छ । तर, अहिले पीसीबी यसका लागि तयार देखिएको छैन ।

‘हामी लामो समयदेखि भारतप्रति नरम छौँ । भारतले पटक–पटक पाकिस्तानी भूमिमा खेल्न अस्वीकार गरे पनि यसबिचमा हामीले भारतीय भूमिमा धेरैपटक प्रतियोगिता खेलिसकेका छौँ । तर, भारतले पटक–पटक पुरानै व्यवहार देखाउँछ भने हामी पनि सोच्न बाध्य हुनेछौँ,’ उनले भनेका छन् ।

नकवीले सबैभन्दा पहिले पीसीबीसमक्ष ‘हाइब्रिड मोडल’ को प्रस्ताव लिखित रूपमा आउनु पर्ने धारणा पनि राखेका छन् । ‘सबैभन्दा पहिले हामीसँग हाइब्रिड मोडलको प्रस्ताव लिखित रूपमा आउनुपर्छ । त्यसपछि हामी पनि आफ्नो सरकारसँग सल्लाह गर्छौँ र सोही अनुसार निर्णय लिन्छौँ,’ उनी भन्छन् ।

पाकिस्तानी टोलीका पूर्वकप्तान राशिद लतिफले भने भारतको यस्तो व्यवहारबाट आफू चिन्तित बनेको बताएका छन् । ‘भारतको व्यवहार यस्तै रहने हो भने पाकिस्तानले आईसीसीको आयोजनामा हुने सबै प्रतियोगिता बहिष्कार गर्न सक्छ । यो हामी सबैका लागि चिन्ताको विषय हो,’ उनले भनेका छन् ।

maxresdefault

पाकिस्तान च्याम्पियन्स ट्रफीको साबिक विजेता पनि हो । च्याम्पियन्स ट्रफीको अघिल्लो संस्करणको फाइनलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

तनावपूर्ण राजनीतिक सम्बन्धका कारण सन् २०१२–१३ पछि भारत र पाकिस्तानबिच दुईपक्षीय क्रिकेट शृङ्खला खेलिएको छैन । त्यसयता यी दुवै राष्ट्रले आईसीसीद्वारा आयोजित प्रतियोगिताहरुमा मात्र आपसमा भिडन्त गर्दै आएका छन् ।

‘प्रतियोगितामा सहभागी नहुने कुनै बलियो आधार चाहिन्छ । भारत जहिले पनि सुरक्षाको कारण देखाउँछ । च्याम्पियन्स ट्रफीजस्तो ठुलो प्रतियोगितामा अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्डजस्ता टोली सहभागी हुन सक्छन् भने भारतीय टोली किन पाकिस्तान आउन सक्दैन ? पछिल्लो समय सुरक्षाको विषय भारतका लागि यो गतिलो बहाना बनेको छ,’ लतिफ भन्छन् ।

rasid latif

पूर्वकप्तान लतिफले पाकिस्तान र भारतबिचको भिडन्त विश्व क्रिकेटमा सबैभन्दा बढी हेरिने खेल भएको पनि बताएका छन् । ‘आईसीसीले यो कुरा बुझ्नु पर्छ । यदि पाकिस्तानले आईसीसीको सबै प्रतियोगिता बहिष्कार गर्‍यो भने आईसीसीको औचित्य पनि समाप्त हुन सक्छ,’ उनले भनेका छन् ।

च्याम्पियन्स ट्रफी आईसीसी)ले आयोजना गर्ने महत्त्वपूर्ण प्रतियोगितामध्ये एक हो । भारतले च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल पाकिस्तानमा नभई ‘न्यूट्रल भेन्यू’ मा खेल्न बताएको छ । सोही अनुरूप भारतले आफ्नो सबै खेल दुबईमा खेल्ने सम्भावना बढी छ ।

264638

यसअघि एसिया कप पनि पाकिस्तानमै आयोजना भएको थियो । तर, भारतीय टोली एसिया कप खेल्न पाकिस्तान भ्रमणमा गएको थिएन । भारतले आफ्नो खेल श्रीलंकामा खेलेको थियो । तर, पाकिस्तानी टोली भने आईसीसी एकदिवसीय विश्वकप खेल्न भारत भ्रमणमा गएको थियो ।

च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक पाकिस्तान, भारत, बंगलादेश, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान गरी आठ टोलीको सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप