प्रत्येक जातजातिलाई आफ्नो धर्म–संस्कृति तथा साहित्यको विकास गर्ने अधिकार छ : डा.कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुने बताएका छन् ।
आइतबार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्म जयन्तीको अवसरमा इलाम, सन्दकपुर–४, माबु हाङमादेनमा पुगेर उनले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताए ।
राष्ट्रिय विभूति लिङ्देनको सालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको समुद्घाटनलाई सम्बोधन गर्दै उनले राज्यव्यवस्थाको सयकडौँ वर्षको ढाँचा फेरिए पनि कैयन सामाजिक मान्यतामा परिवर्तन नआएको भन्दै यसभित्र रहेका प्रशस्त अन्तरविरोधहरुलाई आफूले स्वीकार गर्ने बताए ।
‘साहित्य समाजको ऐना हो र यसको राजनीतिक सीमा हुँदैन । त्यस्तै संस्कृति व्यक्ति र समुदायको पहिचान हो । यसको सुरक्षा र संवर्धनमा म सदा तपाईँहरूको साथ रहने छु‚’ उनले भने‚ ‘यो अलौकिक भूमिमा तपाईँहरूले मलाई बोलाएर जुन मान र सम्मान दिनुभयो त्यसले म भावविह्ल भएको छु । मलाई लाग्दछ यो म माथि महागुरु फाल्गुननन्दको कृपा हो । हामी सबैलाई महागुरु फाल्गुननन्दको कृपा बर्सिरहोस्।’
सम्बोधनको पूर्णपाठ
यस ऐतिहासिक धार्मिक एवं सांस्कृतिक सभाका सभाध्यक्ष ज्यु,
किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ज्यु,
विशिष्ट व्यक्तित्व ज्युहरू,
उपस्थित दाजुभाइ–दिदीबहिनीहरू,
किराँत धर्म तथा साहित्य उत्थान सङ्घको विशेष समन्वयमा पूर्वको यस रमणीय स्थलमा पूजनीय किराँत धर्मगुरु आत्मानन्द लिङ्देन “सेइङ्” तथा गुरुआमा साँवा पवित्रहाङ्मा लिङ्देनज्यूको हस्तबाहुलीवाट राष्ट्रिय विभूति एवं समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको समुद्घाटन सहित फाल्गुनन्द लिङ्देनको १४० औँ जन्म जयन्तीको अवसरमा आयोजित यस आध्यात्मिक एवं धार्मिक कार्यक्रममा मलाई प्रमुख आतिथ्यता ग्रहण गर्न गरेको अनुरोधलाई मैले बढो सङ्कोचको साथ स्विकार्न पुगेँ ।
मेरो यस क्षेत्रमा रहेको ज्ञानको सीमितताको कारण यहाँ प्रमुख अतिथिको रूपमा उपस्थित भइरहँदा कता कता तपाईँहरूबाट पाएको माया, सदभाव र प्रेमलाई न्याय गर्न सक्दिन की भन्ने सङ्कोचमा छु । यस कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएकोमा म अत्यन्त आभारी छु र महागुरुको पवित्र तपोभूमिमा तपाईंहरूसँग सत्सङ्ग गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु ।
धर्म र अध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहँदै आएको छ । यसक्रममा महागुरुको अवतरणले यो रमणीय भूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रूपमा पहिचान बनाउन सफल भएको छ । तपोभूमि नेपाल उत्तर र दक्षिणबाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ परापूर्वकाल देखि ।
विश्वका अनेकन् धर्म, संस्कृति र सभ्यताहरू विभिन्न कालखण्डमा उदाए र अस्ताए पनि । तर नेपालको हिमाल पहाडका बिच पल्लवित यस किराँत धर्म र संस्कृतिले हजारौँ वर्षदेखि नेपालभित्र मात्र होइन आज देश बाहिर पनि आफ्नो पृथक् पहिचान राख्न सकेकोमा हामी सबै गौरवान्वित छौँ ।
सत्य, दया, न्याय र अहिंसाका पूजक महागुरुको नवअवतार यस पवित्र भूमिमा भएकोमा हामी सबै आफूलाई भाग्यमानी ठान्दछौँ । यहाँ म गीताका ती श्लोकहरू पनि स्मरण गर्न चाहन्छु जसमा भनिएको छ “साधु सन्त र गुरुहरूको उद्धार, पाप विकारको गर्न विनाश, धर्म सुसंस्थापनाको खातिर, लिन्छु म अवतार युग युगमा” ।
किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जीवनको उल्लास, खुसीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएका छन् । त्यस्तै उदार, स्वतन्त्र चिन्तन गर्ने र पारस्परिक सम्मानमा आधारित पारिवारिक एवं सामाजिक सम्बन्धको कारणले सरल र सुरुचिपूर्ण छन् । स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तर्राष्ट्रिय समुदाय बिच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्याएकोे कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएका छन् ।
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहँदै आएको छ । शताव्दीयौं देखि नेपालीहरूले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति परम्पराको अनुपालन गर्दै आइरहेका छन् । सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले “नेपाली राष्ट्रियता” निर्माण भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुन्छ र यसमा राज्यव्यवस्थाको दायित्वलाई नकार्न सकिँदैन । नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको छ । राज्यव्यवस्थाको सयकडौँ वर्षको ढाँचा फेरिएको छ । तर ढाँचा फेर्दैमा कैयन सामाजिक मान्यतामा परिवर्तन आएको छैन । यसमा प्रशस्त अन्तर्विरोध पनि रहेको कुरा मलाई स्विकार्न सङ्कोच छैन ।
अन्तमा, म राजनीतिकर्मी हुँ । राजनीतिकर्मीका सीमा, बाध्यता र अप्ठ्यारा पनि हुन्छन् । यस गरिमामय सभामा मलाई निमन्त्रणा गरेकोमा मैले आफूलाई धन्य ठानेको छु , यति मात्र होइन भविष्यमा पनि म तपाईँहरूको साथमा रहने प्रण गर्दछु । म जुन राजनीतिक पार्टीप्रति प्रतिबद्ध छु त्यस मार्फत पनि सदा यस संस्था र यो समुदायको हक हितमा समर्पित रहने छु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
साहित्य समाजको ऐना हो र यसको राजनीतिक सीमा हुँदैन । त्यस्तै संस्कृति व्यक्ति र समुदायको पहिचान हो । यसको सुरक्षा र संवर्धनमा म सदा तपाईँहरूको साथ रहने छु । यो अलौकिक भूमिमा तपाईँहरूले मलाई बोलाएर जुन मान र सम्मान दिनुभयो त्यसले म भावविह्ल भएको छु । मलाई लाग्दछ यो म माथि महागुरु फाल्गुननन्दको कृपा हो । हामी सबैलाई महागुरु फाल्गुननन्दको कृपा बर्सिरहोस् । धन्यवाद, जय नेपाल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन