ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि रोकिएलान् अहिले चलिरहेका युद्ध ?
वासिङ्टन डीसी । गएको हप्ता सारा विश्वको ध्यान अमेरिकामा भइरहेको राष्ट्रपति चुनावमा केन्द्रित थियो । निर्वाचनमा जितको फैसला निकै थोरै मात्रै मतान्तरले हुने अनुमान गरिएको थियो । तर रिपब्लिकन उम्मेदवार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहजै जित हात पारे ।
ट्रम्पले चुनाव जितेसँगै मध्यपूर्वमा इजरायल र हमास अनि लेबनानमा इजरायल र हिजबुल्लाहबीच चलिरहेको द्वन्द्वको के होला ? यसको असर इरानसँगको इजरायल सम्बन्धमा कस्तो पर्ला ? रुस–युक्रेनबिच लामो समयदेखि चलिरहेको द्वन्द्वको के अन्त्य होला ? आदि प्रश्न धेरैको मनमा उठिरहेको छ ? बीबीसी हिन्दीको विशेष साप्ताहिक कार्यक्रम ‘द लेन्स’मा कलेक्टिभ न्यूजरुमका पत्रकारिता निर्देशक मुकेश शर्माले अमेरिकी चुनावसँग सम्बन्धित यी प्रश्नहरूबारे छलफल गरेका थिए ।
उक्त छलफलमा अमेरिका र इजरायलका लागि पूर्व भारतीय राजदूत अरुणकुमार सिंह, रणनीतिक मामिलाका जानकार हर्ष पन्त र अमेरिकाबाट बीबीसी संवाददाता तरहब असगर र दिव्या आर्य सहभागी भएका थिए ।
युक्रेन, रुस र मध्यपूर्वको द्वन्द्व कसरी अन्त्य गर्लान् ट्रम्पले ?
अमेरिकामा चुनावी अभियानका क्रममा ट्रम्पले आफू सत्तामा आए भने युक्रेन, रुस र मध्यपूर्वमा जारी जतिसक्दो चाँडो अन्त्य हुने बताएका थिए । तर कसरी ? यसका लागि उनले कुनै ठोस बाटो देखाएका थिएनन् । यसबारे बीबीसी संवाददाता दिव्या आर्य भन्छिन्, ‘ट्रम्प निर्वाचित भएपछि यी दुई विषयमा चर्चा चर्किएको छ । चुनावी अभियानका क्रममा मध्यपूर्वमा जारी द्वन्द्व र यसप्रति बाइडेन प्रशासनको दृष्टिकोणका कारण मुस्लिमहरूको मत ट्रम्पतर्फ झुकेको विश्वास गरिएको थियो ।’
ट्रम्पको र्यालीमा समेत मुस्लिम नेताहरूले शान्तिको वाचा गरिरहेकोले आफूहरूले ट्रम्पलाई समर्थन गरिरहेको बताएका थिए । सन् २०१६ मा आफ्नो कार्यकालमा ट्रम्पले ७ वटा मुस्लिम देशका मुस्लिमहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । तर यति हुँदा हुँदै पनि पछिल्लो चुनावी अभियानमा मुस्लिमहरूले शान्ति स्थापना हुने आशामा ट्रम्पलाई समर्थन गरेको दिव्या भन्छिन् ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले मध्यपूर्व र रुस–युक्रेन युद्ध दुवै अन्त्य गर्ने कुरा गरेका थिए । यस्ता युद्धमा अमेरिकी हस्तक्षेप कम गर्ने कुरा पनि उनले गरेका थिए । यसबारे दिव्या भन्छिन्, ‘अघिल्लो कार्यकाललाई हेर्ने हो भने ट्रम्पले इजरायलसँग राम्रो सम्बन्ध बनाएका थिए । इजरायलको असन्तुष्टिका कारण उनले इरानसँगको आणविक सम्झौता रद्द गरे । त्यसैले उनलाई इजरायलको शुभचिन्तक मानिन्छ ।’ अब डोनाल्ड ट्रम्पले इजरायललाई युद्ध अन्त्य गर्न आग्रह गर्न सक्छन् कि छैनन् ? इजरायलले उनको अनुरोधलाई मान्छन् कि मान्दैन त्यो भने हेर्न बाँकी छ ।
“डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इजरायललाई पूर्ण समर्थन गरेका थिए । उनले इजरायल र प्यालेस्टाइनबिच शान्ति सम्झौताको ढाँचा तयार पनि गरेका थिए तर काम बनेन । प्यालेस्टिनी जनताले जे चाहेका थिए, त्यो हुने कुनै सम्भावना थिएन ।’ पूर्व कूटनीतिज्ञ अरुण कुमार सिंह भन्छन् । उनले भने, ‘आजको मितिमा ट्रम्पले स्पष्ट भनिसकेका छन् कि नेतान्याहु जे चाहन्छन् त्यो उनले गर्नु पर्छ । मलाई लाग्दैन कि गाजा र हिजबुल्लाहका सम्बन्धमा नेतान्याहुमाथि ट्रम्पबाट कुनै दबाब हुनेछ ।’ उनले भनेका छन् ।
मध्यपूर्वबारे के–के छलफल भइरहेको छ अमेरिकामा ?
अमेरिकी चुनावी नतिजा आएपछि अब ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्वको समाधान कसरी गर्लान् भन्नेमा सबैको दृष्टि छ । अमेरिकी सञ्चारमाध्यममा यसबारे के के चर्चा भइरहेको छ ? यसबारे अमेरिकी जनताको धारणा कस्तो छ ? यही जान्ने कोसिस गरौँ । मिडियाको कुरा गर्ने हो भने धेरैजसो विश्लेषणअनुसार अलग अलग स्थानमा भइरहेको युद्धमा अमेरिकाले दिइरहेको पैसा र नाटोको भूमिका कस्तो हुनेछ भन्ने मा छलफल चलिरहेको यसबारे बीबीसी संवाददाता तरहाब असगर भन्छिन् । ‘किनभने ट्रम्पले यसबारे पहिले पनि कुरा गरिसकेका छन् कि अमेरिकाले मात्रै पैसा दिँदै आएको छ, त्यसैले अरू देशले पनि यसमा आफ्नो हिस्सा दिनुपर्छ, हामी एक्लै पैसा दिँदैनौँ । वासिङ्टनमा पन धेरै जसो मानिसहरू ठान्छन् कि अमेरिकाका लागि यो महँगो युद्ध होइन ।’
ट्रम्पको आगमनपछि इजरायलको सन्दर्भमा उनको ’टू स्टेट थ्योरी’ पनि सुरु गर्न सकिने मान्नेहरू पनि भएको तरहाब भन्छिन् । अब यी सबै यही कुरामा निर्भर गर्छ कि सरकार चलाउन ट्रम्पले कस–कसलाई ल्याउनेछन् । अफगानिस्तान युद्ध धेरै लामो समयसम्म चलेको अनि यसको अमेरिकी जनताले निकै आलोचना गरेको उनीहरूसँगको कुराकानीमा आफूले थाहा पाएको तरहाबले भनिन् । यस युद्धमा अमेरिकीहरू बिनाकारण मरेको उनीहरू ठान्छन् । तरहाब भन्छिन्, “अहिले चलिरहेको युद्धलाई लिएर मानिसहरूको फरक फरक धारणा छ ।
कतिपयले यो युद्ध अन्त्य हुनुपर्ने धारणा राखेका छन् । अमेरिकाको फर्स्ट नीतिअनुसार त्यहाँ लगानी भइरहेको पैसा स्वदेशमै हुनुपर्ने कतिपयको भनाइ पनि छ’ । फ्लोरिडामा आएको प्राकृतिक प्रकोपमा पैसा लगानी गर्नुको सट्टा वर्तमान प्रशासन युक्रेन र इजरायलको युद्धमा लगानी गर्न व्यस्त रहेको भनेर पनि जनताहरूमा असन्तुष्टि छ । यी सबैलाई ध्यानमा राखेर मानिसहरूले ट्रम्पलाई भोट दिएको उनी बताउँछिन् । ट्रमपले शान्तिको कुरा गरे अनि युद्ध अन्त्य गर्नेबारे आफ्नो स्पष्ट नीति प्रस्तुत गरेका थिए ।
ट्रम्प राष्ट्रपति बनेपछि इजरायलमा कस्तो दबाब पर्ला ?
रणनीतिक मामिलाका विज्ञ हर्ष पन्त भन्छन्, “बिन्यामिन नेतान्याहु डोनाल्ड ट्रम्पलाई ढालको रूपमा हेरिरहेका छन् । ट्रम्पको आगमनसँगै बाइडेन प्रशासनको बढ्दो दबाब केही हदसम्म कम हुनेछ । तर कस्तो प्रशासन आउँछ र को कुन पदमा बस्छ त्यो भने हेर्न बाँकी छ ।’ उनी भन्छन्, ‘यी दुई ठूला युद्धको केन्द्रमा अमेरिका छ । घरेलु मुद्दाहरूसँग सम्बन्धित भएकाले डोनाल्ड ट्रम्पलाई कसरी समाधान गर्ने भन्ने दबाब हुनेछ । नेतान्याहु पनि यसको दबाबमा छ ।’ उनले भने, ‘हामीले देखेका छाैँ कि कसरी इजरायलले आफ्ना रक्षामन्त्रीलाई हटायो, जसका कारण आन्तरिक विवाद बढ्दै गएको छ । उनीबारे जे जस्तो आलोचना भइरहेको छ यसले पनि थप दबाब सिर्जना गर्नेछ ।” उनी भन्छन्, “तर डोनाल्ड ट्रम्पको विगतका नीतिहरू हेर्दा नेतान्याहुलाई अवश्य केही समय दिइनेछ ।’
यो युद्ध कसरी अन्त्यतिर जानेछ भन्नेमा अबको केही महिना निकै निर्णायक हुने हर्ष पन्त मान्छन् । यसबारे पूर्व कूटनीतिज्ञ अरुणकुमार सिंह भन्छन्, ‘तर इजरायलले अब आफैँले हेर्नुपर्नेछ किनकि युद्ध सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेको छ ।’ उनले भने, “इजरायलको नागरिक अर्थतन्त्र र उच्च प्रविधि क्षेत्रका मानिसहरू यो युद्धमा संलग्न छन् । यस्तो अवस्थामा उनीहरूलाई लामो समयसम्म अर्थतन्त्र जोगाउन गाह्रो हुनेछ । तर डोनाल्ड ट्रम्पले उनीमाथि कुनै प्रतिबन्ध लगाउने छैनन् ।’
युद्धबारे ट्रम्पले अचानक गर्न सक्लान् निर्णय ?
ट्रम्प आफ्नो अस्थिरतालाई शक्ति ठान्छन् भन्ने हर्ष पन्त विश्वास गर्छन् । आफूले ट्रम्पसँग काम गर्ने हो भने अस्थिरताको स्थिति बनिरहनेछ भनेर प्रत्येक देशले आफ्नो विदेश नीतिमा यो कुरा समावेश गर्नुपर्छ । कुन अवस्थामा उनको प्रतिक्रिया कस्तो हुनेछ भन्ने थाहा हुने छैन । ट्रम्पको पहिलो कार्यकालको नीति यस कार्यालयमा कायम हुन्छ कि हुँदैन भनेर युक्रेन र मध्यपूर्वमा समस्या हुने हर्ष पन्त भन्छन् । तर जहाँसम्म इजरायलको प्रश्न छ, अमेरिकाको विदेश नीतिमा इजरायलले सधैँ विशेष भूमिका खेलेको छ र डोनाल्ड ट्रम्पको व्यक्तिगत प्राथमिकता सधैँ इजरायलको लागि रहेको छm । यसले इजरायललाई केही महिनाको राहत दिने उनी भन्छन् ।
के छ इरानको चुनौती ?
अरुण कुमार सिंह भन्छन्, “यो भन्न सजिलो छ, तर गर्न गाह्रो छ ।’ उनी भन्छन्, ‘२०१८ मा डोनाल्ड ट्रम्पले इरानमाथि पूर्ण दबाब दिएका थिए । तर इरानको नीतिमा कुनै परिवर्तन आएन । त्यतिबेला इरानको क्षमता जति थियो, अहिले त्योभन्दा धेरै बढिसकेको छ ।’ उनले भने, ‘पहिले इरानलाई आणविक हतियार बनाउन एक वर्ष लाग्ने भनिएको थियो, तर अहिले केही हप्ता वा केही महिनाको कुरा गरिरहेका छौँ । त्यतिबेला ट्रम्पको नीतिले इरानमा आर्थिक दबाब ल्याए पनि उसको नीति छनोटमा कुनै असर परेको थिएन ।
ट्रम्पको नीति इरानमाथि दबाब दिने हो । अमेरिकामै पनि केही समुदायहरू इरानमाथि दबाब बनिरहोस् भन्ने चाहने अरुण कुमार सिंह अगाडि भन्छन् । ट्रम्प प्रशासनको पहिलो कार्यकालमा प्यालेस्टिनी प्रशासनलाई त्यति महत्त्व नदिइएको उनको विश्वास छ । र अहिले समस्या यो भएको छ कि प्यालेस्टिनीहरू बिच पनि विभाजन भइसकेको छ ।
रुस युक्रेन युद्धको अन्त्य कसरी गर्लान् ट्रम्पले ?
बीबीसी संवाददाता असगर भन्छन्, “विश्लेषकहरूका अनुसार रुस–युक्रेन द्वन्द्व मध्यपूर्वको द्वन्द्वभन्दा पहिले नै अन्त्य हुनेछ । किनभने उनीहरूले बुझेका छन् कि युक्रेनको सन्दर्भमा, ट्रम्प प्रशासन निश्चित छ कि केही कुरालाई पाखा लगाएर भएपनि यसलाई शान्तितर्फ लैजानुपर्छ ।’ मध्य पूर्वको तुलनामा युक्रेन–रुस युद्धको ठुलो नभएको धेरै मानिसहरू विश्वास गर्छन् । त्यसैले यो द्वन्द्व मध्यपूर्व द्वन्द्व अघि समाधान गर्न सकिने धारणा पनि पाइने असगर भन्छन् । मध्यपूर्वको द्वन्द्वको तुलनामा रुस–युक्रेन द्वन्द्व समाधान गर्न धेरै कठिनाइ हुने विश्वास हर्ष पन्तले व्यक्त गरेका छन् । ‘यस्तो किनभने यसको आधारभूत पक्ष युरोपेली सुरक्षासँग सम्बन्धित छ । युक्रेन कमजोर छ । आफू वार्तामा नआएमा अहिले पाइरहेको समर्थन नपाउने हो कि भन्ने डर प नि उसलाई छ ।
हर्ष पन्त अगाडि भन्छन्, ‘यी सबै कुराको असर रुस–युक्रेनमा मात्रै छैन । रुसको युरोपियन युनियनसँग कसरी सम्बन्ध रहनेछ भन्ने कुरामा निर्भर गर्छ । यसलाई अमेरिकी प्रशासनले सोच्नु पर्नेछ कि उ युरोपसँग कस्तो खालको सम्बन्ध चाहन्छ । किनकि यो युक्रेन र रुसको मात्र मुद्दा होइन । तर डोनाल्ड ट्रम्पले चाहन्छन् भने दबाबको रणनीति बनाएर यो द्वन्द्वको समाधान निकाल्न सक्छन् ।’ यसबारे दिव्या भन्छिन्, ‘यदि रुस–युक्रेनको कुरा गर्ने हो भने उनीहरुले यो युद्धविरामका लागि पुटिनलाई मनाउन सक्लान् भन्ने प्रश्न पनि उठ्छ । यदि पुटिनले उनको कुरा मानेनन् भने यस्तो डोनाल्ड ट्रम्पले युक्रेनलाई युद्धको लागि अरू जोडतोडले मद्दत गर्लान् त, यो हेर्न बाँकी छ ।’ यद्यपि, डोनाल्ड ट्रम्पको नीति र मनोवृत्तिले दुवै द्वन्द्वमा निश्चित रूपमा ठुलो प्रभाव पार्ने दिव्या भन्छिन् ।
अमेरिकाका लागि चीनले कस्तो समस्या खडा गर्ला ?
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रुससँग सम्बन्ध सुधार्न चाहेको तर अमेरिकी कंग्रेसले रोकेको बताएको अरुण कुमार सिंह भन्छन् । उनले अगाडि बढ्न चाहेको बेलामा अमेरिकी कंग्रेसले काउन्टरिङ अमेरिकाज एडभर्सरीज थु्र सेन्सन्स एक्ट (सीएएटीएसए) पारित गर्यो । उनी अगाडि भन्छन्, ‘यदि ट्रम्पले चीनसँग अमेरिकाले जितोस् भन्ने चाहन्छन् भने उसलाई युरोपेली देशहरूको सहयोग चाहिनेछ । र यदि युरोपेली देशहरूले अमेरिकाले युरोपमा उनीहरूको चिन्तामा ध्यान नदिएको देखे भने युरोपेली देशहरूले अमेरिकालाई चीनविरुद्धको लडाइँमा समर्थन गर्दैनन् ।’ जतिबेला सम्म ट्रम्प सरकारमा थिए, त्यतिबेलासम्म उनले युरोपेली देशहरूले इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा समस्यामा कुनै ध्यान दिएनन् । उनको एउटै ध्याउन्न चीनसँग व्यापारिक सम्बन्ध स्थापना गर्न मात्रै थियो ।
‘अहिले पनि जर्मनी जस्ता देश चाहँदैनन् कि चीनमाथि कुनै किसिमको प्रतिबन्ध लगाइयोस् । उनीहरूले चीनको सङ्कटमा अमेरिकासँग अघि बढेनन् भने, अमेरिकालाई चीन विरुद्ध प्रविधि वा अन्य प्रतिबन्धहरू कायम राख्न कठिनाइ हुनेछ ।’ अरुण कुमार सिंह भन्छन् कि ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी सरकारले पहिलो पटक चीन प्रतिस्पर्धी भएको र उसको विरुद्धमा व्यापार र प्रविधिमा प्रतिबन्ध लगाउने र अन्य देशसँग सहयोग बढाउने कुरा स्पष्ट गरेको थियो ।
तर आजको मितिमा अमेरिकामा यस्तो कयौँ व्यक्तिहरू छन् जसले चीनमा ठुलो लगानी गरेका छन् । यसमा ट्रम्पलाई चुनाव जिताउन खुलेर लागेको खर्बपति व्यापारी एलन मस्क पनि छन् । यस्तोमा उनले ट्रम्पमाथि उनको पहिलो कार्यकालमा जस्तै चीनमाथि प्रतिबन्ध लगाउन नलगाइयोस् भन्ने दबाब दिने प्रयास गर्ने अरुण सिंहको विश्वास छ । ट्रम्पको पहिलो कार्यकालमा उनीसँगै काम गरेका व्यक्तिहरूको लेख वा पुस्तकहरू पढ्ने हो भने ट्रम्पले आफ्नो नीतिहरू परिवर्तन गरिरहेको स्पष्ट हुन्छ ।
यसबारे हर्ष पन्त भन्छन्, ‘यदि हामीले डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको व्यक्तित्वलाई हेर्यौँ भने उनीहरू निकै मिल्दोजुल्दो छन् । यिनीहरू दुबैमा केही मुद्दाको सामना गर्न सक्ने विशेषता छ ।’ ‘अहिलेसम्म युक्रेनका सम्बन्धमा रुसले पछि हट्नुपर्छ, त्यसपछि मात्रै कुरा अगाडि बढ्छ भन्ने सोचिएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जसरी शान्ति योजना प्रस्तुत गरे, त्यसमा रुसको कुनै संलग्नता थिएन । कतै न कतै, ट्रम्पको आगमनले पक्कै पनि यस विषयमा फरक पार्नेछ । पुटिनसँगको आफ्नो व्यक्तिगत समीकरण चम्किएर आओस् भन्ने ट्रम्प चाहन्छन्’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
-
कर छलीको आशङ्कामा बाहुबली कन्स्ट्रक्सनकाे आधा दर्जन टिप्पर प्रहरीको नियन्त्रणमा
-
बाढीले क्षति पुगेका १० अस्थायी पुल निर्माण, एउटा बाहेक सबै राजमार्ग तयार
-
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
-
पूर्वी नाकाबाट रु पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात
-
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’