दुर्घटना बढेपछि कर्णालीमा गर्न थालियो सवारी चेकजाँचमा कडाइ
सुर्खेत । शुक्रवार दिउँसो सुर्खेत–दैलेखको सिमाना नजिक वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा कर्णाली प्रदेश ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ३० जना घाइते अवस्थामा छन् । १८ सिट क्षमताको उक्त गाडीमा ३४ जना सवार रहेको पाइएपछि प्रहरीको व्यापक आलोचना भयो । जबकि दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको उक्त सडकमा ठाउँ–ठाउँमा चेकिङ पोस्टहरू छन् ।
बुधबारमात्रै सुर्खेत–दैलेख सडक अन्तर्गत वीरेन्द्रनगरको कपासेमा कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी दुर्घटना भयो । दुर्घटनामा पिकनिक खान गएका २८ जना घाइते भए । यी केही उदाहरण मात्र हुन्, दसैँ–तिहारको अवधि अर्थात् असोज १७ देखी कार्तिक २३ गतेसम्म कर्णालीमा १०५ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ भने २४२ जना घाइते भएका छन् ।
प्रदेश प्रहरीको तथ्याङ्कलाई हेर्दा दैनिक सरदर २–३ वटा सवारी साधन दुर्घटना हुने गरेका छन् । दुर्घटना भएका सवारी साधनमध्ये धेरैजसो फोर्स गाडी, जिपहरू छन् । कुनै बेला बसको साम्राज्य थियो, कर्णाली राजमार्ग र आसपासका मुख्य सडकमा । पछिल्लो समय फोर्स गाडीहरूले एकछत्र राज गरिरहेका छन् ।
बसहरू बिस्तारै विस्थापित हुँदै गएका छन् । यद्यपि छिटो यात्राका नाममा सवारी चालकहरूले प्रहरीसँगको मिलेमतोमा सिट क्षमता भन्दा दोब्बर यात्रु बोक्ने र दुर्घटना बढी हुने गरेको दैलेख ठाटीकाँधका खगेन्द्र विकले बताए ।
‘यात्रा गर्दा ठाउँ–ठाउँमा ट्राफिकले पैसा माग्छ, पैसा नदिएको गाडीलाई निकै केरकार गर्ने, दुख दिने गर्छ, चालकहरू पनि बाध्य भएर हप्ता र महिनामा पैसा दिँदा रहेछन्,’ उपचारका लागि दैलेखबाट वीरेन्द्रनगर आएका उनले भने, ‘केही दिनअघि हामी आउने एसएमएल गाडीमा त्यस्तै भयो ।’
दैनिक दुर्घटना भएर नागरिकको अकालमा मृत्यु भएसँगै शनिवार राजधानी वीरेन्द्रनगरमा आन्दोलन नै भयो । शुक्रवार फोर्स गाडी दुर्घटनामा घाइते तथा मृतकका आफन्तहरूले उक्त घटना ‘दुर्घटना हैन, हत्या हो’ भन्दै आन्दोलन गरे ।
क्षमताभन्दा दोब्बरले यात्रु कोच्दा पनि प्रहरीले बेवास्ता गर्ने, प्रहरीलाई हप्ता र महिनावारी पैसा दिएपछि चेकजाँच नै नगर्दा दुर्घटना बढेको उनीहरूको भनाइ थियो । सामाजिक सञ्जालमा पनि प्रहरीमाथि व्यापक प्रश्न उठेको छ ।
- प्रश्न उठेपछि ‘एक्सन’मा प्रहरी
शुक्रबारको घटनापछि प्रहरीमाथि व्यापक प्रश्न उठेपछि चेकजाँचमा कडाइ गर्न थालिएको छ । शनिवार कर्णाली राजमार्ग, सुर्खेत–दैलेख सडक, छिन्चु–जाजरकोट सडकमा चल्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले विशेष निगरानी राख्दै चेकजाँचमा कडाइ गर्न थालेको हो ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार शनिवार मात्र क्षमता भन्दा बढी सिट जडान गरिएका ३२ वटा सवारी साधनका ७३ वटा अतिरिक्त सिटहरू हटाइएको छ ।
त्यस्तो गर्ने सवारी साधनलाई नियमानुसार कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । यस्तै शनिवार बेलुका सुर्खेतबाट काठमाडौँ जाने रात्रिकालीन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले वीरेन्द्रनगरबाट बाहिरिने सुब्बाकुना नाकामा रोक्यो ।
त्यहाँ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्मा, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारको टोली नै त्यहाँ खटिएको थियो ।
‘शनिवार आन्दोलन गर्ने साथीहरू यहाँ आएर हामीलाई ज्ञापन पत्र बुझाउनुभयो, त्यसपछि हामीले अलि एक्सन लिनै प¥यो भनेर ट्राफिक प्रहरीसँग मिलेर सुब्बाकुना चेक गर्दा कैफियत भेटियो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले भने, ‘यस्तो कुरामा नागरिक, सवारी चालक र सबैको दायित्व हुन्छ ।’
सिट क्षमता भन्दा बढी यात्रु राखेका रात्रि बसलाई कारबाही गरिएको र यात्रुलाई अर्को सवारी साधनमा पठाइएको सुर्खेत ट्राफिक प्रमुख, प्रहरी निरीक्षक वकिल सुनारले रातोपाटीलाई बताए ।
- किन हुन्छन् दुर्घटना, अबको प्रहरी योजना के ?
दुर्घटनामा बढ्नुमा यात्रु, चालक र सबै निकायको भूमिका हुने गरेको प्रहरी बताउँछ । सुर्खेत जिल्ला ट्राफिक प्रमुख वकिल सुनार भन्छन्, ‘दुर्घटना न्यूनीकरणको लागि सबै सरोकारवाला निकायहरू उत्तिकै जिम्मेवार हुन्छन् । यातायात व्यवसायी, सवारी धनी, चालक सह–चालक, यात्रु समेत सचेत हुन जरुरी ठान्दछु ।’
सबै जिम्मेवार निकाय र व्यक्तिले ट्राफिक नियमको उल्लङ्घन गर्ने र ट्राफिक प्रहरीले मात्र नियमको पालना गराएर मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न कर्णालीमा गाह्रो हुने उनको भनाइ छ । उनका अनुसार भौगोलिक विकटता, जीर्ण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, अस्वस्थ प्रतिस्पर्धाका कारण सडक दुर्घटना बढिरहेका छन् ।
‘यात्रु पनि जिम्मेवार हुन्छन्, सिट क्षमता भन्दा बढी यात्रु राखिएको अवस्थामा यात्रुलाई बसबाट ओराल्दा यात्रुहरूले पनि नबुझ्ने,उल्टै प्रहरीसँग झगडा गर्छन्,’ सुनारले भने, ‘जंगलबाट भागेर अगाडि जाने, फेरि त्यही गाडी चढ्ने गरेको पाइन्छ । दुर्घटना हुँदा सबैले गाली पोख्ने ठाउँ मात्र भएको छ ट्राफिक प्रहरी ।’
दुर्घटना न्यूनीकरणमा कुन–कुन निकाय र व्यक्तिको भूमिका हुन्छ भन्ने ज्ञान सबैमा हुन जरुरी रहेको र त्यसपछि मात्रै प्रभावकारी रूपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने सुनार बताउँछन् । ट्राफिक प्रहरीले हप्ता र महिनावारी असुल्ने गरेको आरोपमाथि उनी भन्छन्, ‘यो गलत हो, यदि त्यस्तो सूचना पाइएपछि हामी कारबाही गर्छौँ ।’
अब दुर्घटना न्यूनीकरणको लागि ट्राफिक नियमको अक्षरशः पालना गराउने, जनचेतनामूलक कार्यक्रम बढाउने, सम्बन्धित निकायहरूसँग समन्वय गरी सडक निर्माण, चालक, सह–चालक लक्षित सचेतना, सवारी दर्ता किताबमा दर्ता भएको सिट भन्दा बढी जडान गरिएका सिटहरू हटाउने, ओभर लोड नियन्त्रण गर्ने लगायतका योजनाहरू रहेको उनले बताए ।
साथै रिफ्रेस सेन्टर कार्यान्वयन गर्ने, टाइम कार्ड लागु गर्नुका साथै मापसे चेकजाँचमा कडाइ, तीव्र गति नियन्त्रण गर्न रेडर गाउनको प्रयोग गने योजनाहरू रहेको पनि सुनार बताउँछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख, प्रहरी उपरीक्षक अपिलराज बोहराले महिनावारीको विषय पूर्णत गलत भएको बताए । यदि त्यस्तो भेटिएको सूचना र प्रमाण प्राप्त भए ठाउँको ठाउँ कारबाही गरिने उनले रातोपाटीलाई बताए । साथै आफू आएदेखि तीन जनालाई कारबाही गरिसकिएको र त्यस्तो अब हुन नदिने उनको भनाइ छ ।
‘सवारी साधनलाई व्यवस्थित, सहज रूपमा सञ्चालन गर्न त सबैको भूमिका हुन्छ,’ उनले भने, ‘ट्राफिकमाथि रिस पोख्ने काम भएको छ । हामी आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ तरिकाले पुरा गरिरहेका छौँ ।’ कर्णालीमा २६० जना ट्राफिक प्रहरी रहेको बताइएको छ ।
जबकि कर्णालीमा दरबन्दी नै कम छ । अहिले एउटा ट्राफिक प्रहरीलाई ११ किलोमिटरसम्म हेर्नुपर्ने बाध्यता रहेको छ भने काजसहितका लागि २६० जना कार्यरत हुन् ।
प्रहरी उपरीक्षक बोहराले कर्णालीको ठुलो र विकट भूगोलका कारण एक जना प्रहरीले धेरै क्षेत्रसम्म हेर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । कम जनशक्ति र सीमित साधन स्रोतमा रहेर ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा अपेक्षाकृत काम गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल
-
फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती
-
युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त
-
इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता
-
बाँसको झ्याङमा सात क्विन्टल लसुन भेटियो
-
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै