बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कोशीमा उपचुनाव

ग्रामथानतिरै सबैको ध्यान, कांग्रेसलाई बिरासत जोगाउन चुनौती

कोशीमा एक पालिका अध्यक्ष, एक जिसस प्रमुख र छ जना वडाध्यक्षको चुनाव हुने
आइतबार, २५ कात्तिक २०८१, ०८ : २९
आइतबार, २५ कात्तिक २०८१

विराटनगर । विभिन्न कारणले रिक्त रहेका कोशी प्रदेशको विभिन्न पालिकाको आठ पदहरूको उपनिर्वाचनमा दलहरू जुटेका छन् । मुख्य प्रतिस्पर्धी रहेका दलहरू नेपाली कांग्रेस, एमाले र माओवादीले उम्मेदवार छनौट गर्दै चुनावी प्रचारमा जुटेको जनाएका छन् ।

२०८४ सालको निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने र कसैले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका तीन दलले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । कोशी प्रदेशमा एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख र सात जना वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदै छ । 

नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेश समितिले उम्मेदवार छनौट गरेर केन्द्रमा पठाइसकेको जानकारी दिए । ‘अहिलेसम्म हामीले उम्मेदवार सिफारिस गरेर माथि पठाइसकेका छौँ । विभिन्न ठाउँका ५ जना वडाध्यक्षको उम्मेदवार निर्विरोध भइसकेको छ,’ खतिवडाले भने, ‘ग्रामथानमा गाउँपालिकाको अध्यक्षमा ४ जनाको प्रतिस्पर्धा देखिन्छ । तुलसी विश्वासको नाममा धेरै चर्चा परिचर्चा भएको देखिरहेको छु ।’

उनले एमालेले निर्वाचन प्रचार समिति बनाइसकेका पनि बताए । ‘अब उम्मेदवार टुङ्गो लागिसकेपछि थप निर्णय हुन्छ । जम्मा ८ वटा ठाउँमै प्रदेश समितिको तर्फबाट मान्छेहरू पठाउँछौँ । सम्बन्धित जिल्ला समितिले पनि हेर्छ,’ उनले भने । 

नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले उपनिर्वाचनमा उम्मेद्वारहरु लगभग टुंगिसकेको बताए । ‘अध्यक्ष, उपाध्यक्षहरूको टिकट जिल्ला समितिले बाँड्छ । जिसस सभापतिको प्रदेशले बाँड्ने हो । त्यो पनि हामी २७, २८ गतेसम्ममा टुङ्गो लगाउँछौँ । सबै वडाको पनि टुङ्गो लागिसकेको छ,’ उनले भने, ‘चुनावी अभियानका लागि केन्द्रले सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएर प्रदेश पठाएको छ । उहाँको उपस्थितिमा प्रदेश समितिको बैठक बसेर थप जिम्मेवारी तोक्छौं ।’

कोशी प्रदेशमा सबैभन्दा बढी चर्चामा रहेको उपचुनाव मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको हो । उक्त पालिकाको लागि माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेले  तुलसी विश्वासलाई उम्मेदवार बनाउने सम्भावना छ ।

उता, नेकपा माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले पनि पार्टीले सबै उम्मेदवारको टुङ्गो आइतबारसम्ममा लगाउने बताए । ‘अनौपचारिक हिसाबले टुङ्गो लागिसक्यो । पार्टी कमिटीले निर्णय गरेपछि औपचारिक घोषणा हुन्छ,’ उनले भने । चुनावी कमान्डको जिम्मा जिल्ला समन्वय समिति र पालिका समितिलाई नै दिएको उनले बताए । 

कोशी प्रदेशमा सबैभन्दा बढी चर्चामा रहेको उपचुनाव मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको हो । उक्त पालिकाको लागि माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेले भने तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको भए पनि तुलसी विश्वासलाई उम्मेदवार बनाउने सम्भावना रहेको प्रदेश अध्यक्ष खतिवडाले नै सङ्केत गरेका छन् ।

कहाँ–कहाँ हुँदै छ उपचुनाव ?

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । सो पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । गच्छदार नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी भएका थिए । यसैगरी झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । सो वडामा एमालेबाट दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका–८ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । सुनसरीको गढी गाउँपालिका– ६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगरको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो ।

यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन हुँदै छ ।

उदयपुरको त्रियुगा नगरपालिका– १२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उदयपुरकै बेलका नगरपालिका–९ मा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट निर्वाचित अध्यक्ष पदमबहादुर खड्काको निधन भएको थियो ।

कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले रिक्त भएका पदमा उपनिर्वाचनको तयारी भइरहेको जनाएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिम हङकङ गएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदै छ । एक वर्षअघि हङकङ गएका बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको हो । 

यसैगरी जिल्ला समन्वय समिति ओखलढुङ्गाको रिक्त रहेको प्रमुखका लागि समेत मङ्सिर १६ मै निर्वाचन हुँदै छ । नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।

रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप