शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

गणेशमान र सुवर्णले गरेको योगदानको स्मरण

शनिबार, २४ कात्तिक २०८१, २३ : ४१
शनिबार, २४ कात्तिक २०८१

कास्की । नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्णशमशेरको ४३ औँ स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको एक सय १० औँ जन्मजयन्तीका अवसरमा उनीहरूको योगदानको स्मरण गरिएको छ ।

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा शनिबार आयोजित विचार गोष्ठीका वक्ताहरूले नेताद्वयले गरेको योगदान अतुलनीय भएको बताउँदै उनीहरूका आदर्श र विचार वर्तमानमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सुवर्णशमशेर र गणेशमान सिंहले गरेको त्यागलाई अनुकरण गर्न सके मात्र पनि समाज र राष्ट्रका लागि ठूलो योगदान पुग्ने बताए ।

बिपी सिद्धान्त प्रयोग भए पनि कार्यान्वयन नभएको हुँदा अब नेपाली कांग्रेसले त्यसलाई व्यावहारिक ज्ञानमा अगाडि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । 

नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले सुवर्णशमशेरले पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री पदसमेत त्याग गरी संविधान प्राप्त गर्नका लागि ठूलो त्याग गर्नु भएको स्मरण गरे । 

महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र बलिदानीबाटै देश वर्तमान अवस्थासम्म आइपुगेको बताए । पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक होमनाथ पौडेलले ‘नेपाली कांग्रेस, प्रजातान्त्रिक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्णशमशेर’ विषयमा र प्राडा वेदनाथ शर्माले ‘नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंह’ विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । 

पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु), पुस्तकालयका कोषाध्यक्ष एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बराल, पुस्तकालयका सदस्य कमल सापकोटा लगायतले सुवर्ण र गणेशमानले गरेको योगदान चिरकाल पर्यन्त जीवन्त रहने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप