शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'लोडसेडिङमुक्त भएको सरकारलाई मन नपरेको प्रचण्डको टिप्पणी' देखि 'रविलाई छुटाउन आन्दोलनमा रास्वपा' सम्म

आइतबार, २५ कात्तिक २०८१, ०० : ००
आइतबार, २५ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. एमाले सचिवालय बैठक
नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिबार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

 

२. दोस्रो चरणको आन्दोलन गर्दै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको  केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

३. रवि दोषी ठहरिए कसले जिम्मा लिने ?
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार भन्छन् : ‘रवि दोषी ठहरिए त्यसको जिम्मा पूर्वप्रधानमन्त्री, आईजीपी र महान्यायाधिवक्ताले लिनुपर्छ। परियारसँग रातोपाटीले संवाद गरेको छ ।

४. यूएईसँग नेपालको हार
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १३ रनले पराजित भएको छ । १  सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । 

एसीसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

५. कर्णालीमा उपनिर्वाचन
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् ।

६. बागमती सरकारका १०० दिन
बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । एमाले–कांग्रेस गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन भएको कात्तिक १६ मै १०० दिन पूरा भएको हो ।

७. ट्रम्प राष्ट्रपति बन्दा कसलाई फाइदा ?
डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति बन्न लागेका छन् । ट्रम्पको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा फर्किनु उनका प्रमुख समर्थक इलोन मस्कका लागि पनि विशेष बन्न सक्छ।

८. हवाई भाडा
हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो । 

९. कार्तिक नाचको नालीबेली
ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडिको डबलीमा शुक्रबार यही कथा–भावको लोकनाटक र नृत्य देखाइयो, जसलाई कार्तिक नाच (नेवारीमा काती/कात्ती प्याँख) भनिन्छ । यो नाच पाटनस्थित डबलीमा हरेक वर्ष कार्तिक महिनामा देखाइन्छ ।

तीन सय ८४ वर्षसम्म निरन्तर चलिरहेको रहेको कार्तिक नाचमा विभिन्न कथामा आधारित नाचहरू छन् । जसले मानिसलाई धर्मकर्म गर्न, बाठो हुन, लोभलालच त्याग्न, छोरीचेली र पत्नीको ख्याल राख्न सिकाउँछन् ।   

१०. प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन् । 

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई आफूले नियुक्त गरेको उल्लेख गरेका हुन् । 

११. ओटाकु जात्रा
नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओटाकु जात्रा आयोजना गरिएको छ । 

१२. तिलिचो तालको तलतल
यसपटकको दसैँ र तिहार बिचको बिदामा कतै न कतै जान पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । घरमा सल्लाह हुँदा यसपालि हामी मनाङको तिलिचो तालसम्म जाने भयौँ । डा. अम्बिका अर्यालको यात्रानुभव हामीले प्रकाशित गरेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप