बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘रवि दोषी ठहरिए त्यसको जिम्मा पूर्वप्रधानमन्त्री, आईजीपी र महान्यायाधिवक्ताले लिनुपर्छ’

प्रतिवेदनमा एउटा कुरा आउँछ, पक्राउ पुर्जी अर्को कुरामा जारी गरिन्छ : सन्तोष परियार
शनिबार, २४ कात्तिक २०८१

नागरिक आन्दोलनबाट राजनीतिमा उदाएका एक उत्साही, राजनीतिक चेत भएका, नेतृत्व गर्ने क्षमता भएका, समाजको अर्थराजनीति बुझेका युवा नेता हुन् सन्तोष परियार । राजनीतिमा नआएको भए सायद अहिले उनी क्याम्पसमा पढाइरहेका हुन्थे । पैसा नभएर झन्डै क्याम्पस भर्ना हुन नपाएको तितो अतीतसँगै नर्वे र श्रीलंकामा गएर पढ्न पाउँदाको मिठो वर्तमान पनि छ सन्तोषसँग । 

सैद्धान्तिक रूपमा एमालेबाट धोका पाएपछि रास्वपाबाट राजनीति सुरु गरेका सन्तोष अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक छन् । उनीसँग विविध विषयमा रातोपाटीले लामो भिडियो कुराकानी गरेको छ । 

  • तिहार मनाउनुभयो ?

व्यक्तिगत रूपमा मलाई दसैँभन्दा तिहार अलि बढी मन पर्छ ।

  • सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भनेर तपाईंको पार्टी सभापतिले भन्नुभएको थियो, त्यो जुठो सकियो ?

आलङ्कारिक रूपमा उहाँले लेख्नुभएको हो । तत्क्षणमा विद्रोहको अवाज पनि भनौँ न । एउटा मान्छेमाथि त्यति ठुलो संकट ! त्यसमा पनि बदनियतपूर्ण तरिकाले भएपछि त्यो प्रतिनिधिमूलक आवाज हो । अझ भाषा त्यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो भन्ने हो मेरो भनाइ छ । 

  • न पुराना न त नयाँ दलहरूसँग जनता सन्तुष्ट देखिए । अब जनताको यो आक्रोश कहाँ गएर पोखिएला ? मुलुक अराजकतातर्फ उन्मुख भएको हो ?

हामीले अरु पार्टीप्रतिको आक्रोश, राजनीतिप्रतिको वितृष्णा, नयाँसँगको आशा भन्यौँ । आज आएर विभिन्न घटनाक्रमले कतै त्यो आशामाथि कुठाराघात हुने हो कि ? हामीप्रति पनि वितृष्णा बढेर जाने हो कि भन्ने चिन्ता छ ।

  • जनताको आक्रोश रास्वपामा पुगेर थिग्रिन्छ कि भन्ने थियो त्यो पनि नहुने भयो, सबै उस्तै ! 

नभइसकेको त होइन । अहिले नै हामी त्यहाँ पुग्नु हुँदैन । यद्यपि त्यो नहोला कि भन्ने प्रश्न गर्ने ठाउँमा चाहिँ हामी छौँ ।

  • तपाईंका पार्टीका नेता–सांसदका जुन खालका अशोभनीय अभिव्यक्ति आइरहेका छन् । के तपाईंहरू मुलुकलाई अराजकतातर्फ लैजाँदै हुनुहुन्छ !

आन्दोलन चलचित्रजस्तो नहुने रहेछ । आन्दोलनमा भएका कमी–कमजोरीको जिम्मा हामी लिन्छौँ ।

  • साधारण कार्यकर्ताले दिएको अभिव्यक्ति हो र ? नेता–सांसदहरूको अभिव्यक्ति सुन्न सक्ने खालका छन् ? तपाईंको पार्टी चलाउँछ कसले ?

कहिलेकाहीँ विचारभन्दा व्यक्ति हाबी हुने, संस्थाभन्दा व्यक्ति हाबी हुने रहेछन् । यो मानवीय त्रुटि पनि हो । यद्यपि हामी त्यसको जिम्मेवारी लिन्छौँ ।

  • एउटा व्यक्ति पक्राउका विरुद्धमा सडकमा जे गर्दै हुनुहुन्छ, तपाईंहरू विधिको शासन पनि मान्नुहुन्न भन्ने देखियो नि ! 

सैद्धान्तिक रूपमा विधिको शासन जस्तो हुनुपर्ने हो त्यस्तो यो राज्य छैन । हामीलाई पर्‍यो भनेर मात्र भनेको होइन ।

  • सडकमा प्रधानमन्त्रीविरुद्ध चर्को नारा पनि लगाउनुभयो । पछि लौन हाम्रो सभापति छुटाइदिनुपर्‍यो भनेर गुहार माग्न पनि पुग्नुभयो । यो कस्तो द्वैध चरित्र हो ?

दुई पार्टीहरू भौतिक रूपमा लडाइँ चलिरहँदा पनि दुई नेताहरूबिच डायलग हुन्छ । यसलाई उत्ताउलो पाराले टीका–टिप्पणी गर्न आवश्यक छैन । 

  • प्रधानमन्त्रीसँग भिख माग्न जानुभएको भनेर त तपाईंकै पार्टीका नेताले भने त !

वाहियात कुरा हो र यो परिपक्व राजनीति भएन ।

  • प्रधानमन्त्रीसँग के भन्न जानुभएको त ?

हाम्रो आन्दोलनका विषयमा विभिन्न टीका–टिप्पणी आएका थिए । हाम्रैबाट पनि उत्ताउला कुरा बाहिर आएका थिए । प्रधानमन्त्रीलाई हामीले हाम्रो आन्दोलन बाहिर आएजस्तो होइन, हाम्रो आन्दोलनको मोडालिटी यो हो, हामी यो–यो गर्छौं, तपाईंहरूले यो–यो गरिदिनुपर्‍यो, बाहिर आएको जुन अफवाह छ त्यो भ्रम हो, त्यसमा नलागिदिनुहोला भनेर भन्यौँ ।

  • जुठो परेको मान्छे, कहाँ भेट्न आउनुभएको भनी भन्नुभएन प्रधानमन्त्रीले ?

नबुझेका साथीहरूले भन्ने कुरा हो यस्तो । त्यस्तो केही कुरा भन्नुभएन प्रधानमन्त्रीले । हाम्रा पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिने हो कि भन्ने हामीलाई शंका छ । प्रधानमन्त्रीजीले त्यता ध्यान दिनुपर्छ । कास्की प्रहरीमा सभापतिमाथि राम्रो व्यवहार भइरहेको छैन । त्यसमा कुरा भयो । 

  • सभापतिलाई छाडिदिनुपर्‍यो भन्नुभयो रे ? प्रधानमन्त्रीले सक्दिनँ भन्नुभयो रे !

जो साथीले यस्तो कुरा गरे, यतिसम्म हावाका कुरा गरे कि कहिलेकाहीँ मलाई अचम्म लाग्छ । यस्तो खालको टीका–टिप्पणी गर्नुहुँदैन । न्यूनतम राजनीतिक संस्कार हुनुपर्छ ।

  • अरु पार्टीका नेता समातिँदा ती दल सडकमा नआउने अनि तपाईंहरूले चाहिँ किन गाईजात्रा देखाको नि ?

पूर्वाग्रह नराखी भन्ने हो भने जुन तरिकाले सरकारले पार्टी सभापतिमाथि जे गर्‍यो, त्यो त मिल्दैन ।

  • अदालतले पक्राउ पुर्जी जारी गर्‍यो, गृह प्रशासनले समात्यो । अरुलाई पनि गरेको त्यही हो । त्योबाहेक सरकारले के गर्‍यो ?

प्रतिवेदनमा एउटा कुरा आउँछ । पक्राउ पुर्जी अर्को कुरामा जारी गरिन्छ । अभियोजन अर्को गर्ने नियतले काम गरिन्छ । यो खतरानक छ । त्यसका लागि हाम्रो खबरदारी हो ।

  • तपाईंको सभापति बारम्बार यो सरकारले मलाई मार्न पनि सक्छ भन्नुहुन्छ । किन यति सारो डराउनुभएको उहाँ ?

नेपालको राजनीतिक इतिहासमा यस्ता धेरै घटना भएका छन्, धेरैचोटि भएका छन् । कानुनी रूपमा त्यो सम्भव छैन तर राज्य भनेकोचाहिँ यस्तो कुरा हो नि... ।

  • हिजो गृहमन्त्री हुँदा उहाँले शक्तिको दुरुपयोग यति गर्नुभयो, जुन शक्ति आज भएकाले गरिदेला कि भन्ने कुराले अहिले उहाँ डराउनुहुन्छ भन्यो भने सही हुन्छ ?

रवि व्यक्ति, रास्वपाको सभापति र गृहमन्त्रीले त्यस्तो गर्न सक्दैन । यदि त्यो गरेको रहेछ भने त्यो हाम्रा लागि सारै खतरनाक कुरा हो । हाम्रा संस्थाले हाम्रा विधिले काम गर्दा रहेनछन् भन्ने पनि हो । 

  • आफूलाई निर्दोष देखाउन प्रधानमन्त्री, आईजीपी, महान्यायाधिवक्तालाई उहाँले एकैपटक प्रयोग गर्नुभएको होइन ?

उनीहरूले त्यसै भनेका त होइनन् होला नि ! अनुसन्धानले उहाँहरूले भनेका कुरा गलत रहेछन् भन्यो भने उहाँहरूले पनि आफ्नो बोलीको जिम्मा लिनुपर्छ । सम्मानित ठाउँमा बसेर बोलेका कुराको जिम्मा लिनुपर्दैन ? 

  • रविजी दोषी प्रमाणित हुनुभयो भने उहाँले आफू शक्तिमा हुँदा पदको दुरुपयोग गरेर सारा प्रमाण लुकाउनुभएको रहेछ भन्नेचाहिँ प्रस्ट हुन्छ भन्ने तपाईंको भनाइ हो ? 

तपाईंले जे कल्पना गर्नुभयो म त्यो कल्पना गर्दिनँ । उहाँ दोषी हुनुहुन्न ।

  • अरुलाई नैतिकताको पाठ सिकाउने रविजीले हिरासतमा पुगिसक्दा पनि सभापतिबाट किन राजीनामा नदिनुभएको ? अनि पार्टीले किन निलम्बन नगरेको ?

जसले जे गर्न खोजेको हो, त्यसका लागि सजिलो बनाउने काम त हामी किन गर्छौं र ?

  • रवि लामिछानेविना यो पार्टी चल्दैन ?

चल्छ, निरन्तर जान्छ । हामी हटेर पनि यो अभियान अघि बढाउनुपर्छ । अबको निर्वाचनको मतपत्रमा घन्टी चिह्न हुन्छ भनेर त पार्टी सभापतिले नै भनिसक्नुभएको छ नि !

  • हिजो नो नट अगेन भनेकासँगै चुनावपछि चाहिनेभन्दा बढी लम्पसार पर्दा यस्तो अवस्था आयो भन्ने लाग्छ ?

म त अझै सहकार्य पुगेन भन्छु । मानौँ अहिलेको सरकार अगाडि गएन । के अनि हामी हिजो नो नट अगेन भनेर आएको अब सरकारमा जान्नौँ भनेर देशलाई बन्दी बनाउन सक्छौँ ? सक्दैनौँ ।

पूरा अन्तर्वार्ता  भिडियोमा हेर्नुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया