धोकाधडी मयुरको कथा
एकादेशमा एउटा वन थियो, जसलाई विभिन्न प्राणीले जीवन्त बनाएका थिए । त्यहाँ मयुर नामको एक प्राणी पनि बस्ने गथ्र्यो । ऊ आफ्ना चम्किला पंख र आकर्षक नृत्यका लागि परिचित थियो, जसले धेरैलाई मोहित पाथ्र्यो ।
मयुरले आफ्नो मोहक व्यक्तित्वलाई प्रयोग गरेर बेला–बेला चटक देखाउने गथ्र्यो । वनमा बेला–बेला अरूको प्रतिष्ठा बिगार्ने संवेदनशील कथा फैलाउने गथ्र्यो । त्यो उसको आम्दानी गर्ने ठुलो स्रोत थियो । उसले वनका धेरै व्यापारीलाई धम्क्याएर आम्दानी गथ्र्यो । जसले धन दिँदैनथ्यो, ती प्रायः कथाका पात्र बनिहाल्थे ।
कहिलेकाहीँ आफ्नो सुन्दर प्वाँखहरू फिँजाएर नाच देखाउँदै उसले सबैलाई मोहित पनि पाथ्र्यो । यी यावत् कारणले उसलाई मन पराउने एक समूह निर्माण भयो । यसको फाइदा लिँदै उसले विभिन्न प्राणीसँग सम्बन्ध राख्थ्यो तर आफ्नो उद्देश्यपूर्ति भएपश्चात् तिनीहरूलाई बिचैमा छाडिदिन्थ्यो ।
त्यो वनमा भविष्य नदेखेपछि ऊ एकचोटि अर्को वनमा बसाइँ सरेको थियो । जब उताका प्राणीले उसलाई महत्त्व दिएनन्, तब ऊ पुनः सोही वनमा फर्कियो ।
त्यो वनमा निमुखा प्राणीहरू यार्सागुम्बा जम्मा गरेर नियमित आफ्नो आम्दानीको केही भाग मुखियाको ढुकुटीमा जम्मा गर्थे । मयुरले यो सुइँको पाउँछ र उसले मुखियालाई सल्लाह दिन्छ— यी मानिसलाई चटक देखाएर धेरै धन बटुल्न सकिन्छ ।
धोकाधडी गरेर मुखिया वा सञ्चालकले अस्थायी शक्ति पाउन सक्छन् । साँचो शक्ति त इमानदारी र साझा हितको वास्तविक खोजमा हुन्छ । जब सत्य बाहिर आउँछ, तब झुटको मुखौटा भाँचिन्छ र इमानदारी र एकताको मूल्य प्रकट हुन्छ ।
चटक देखाउनका लागि मुखियाले प्राणीहरूले जम्मा गराएको धन लगानी गर्दछ र मयुरलाई हिस्सेदार पनि बनाउँछ । चटक सुरु हुन्छ र छिटै बन्द हुन्छ । आफूहरुले दुःख गरेर कमाएको धन डुबेपछि प्राणीहरु बिचल्लीमा पर्छन् । यसरी प्राणीलाई बिचल्लीमा पार्ने मयुरजस्ता अन्य पनि प्रशस्त थिए ।
समय बित्दै गयो, त्यो वनका प्रमुख सञ्चालकहरूप्रति प्राणीहरूको निराशा बढ्न थाल्यो । प्राणीहरूले विभिन्न क्षेत्रका लागि नाइके रोज्ने गर्थे । एउटा भागमा वनका सञ्चालकले एउटालाई नाइके बनाएका थिए तर प्राणीहरुले अर्कैलाई स्वीकार गरे । यो देखेर मयुरले मौकामा हिरा फोर्ने सोच बनायो । उसलाई यो पनि थाहा थियो कि ती वन सञ्चालक समूहका केही आजै नभए भोलि कुनै सञ्चालक वा मुखिया बन्न चाहने अवसरवादी छन् । यी सबै परिस्थिति, हातमा भएको प्राणीहरूको यार्सागुम्बाको धन, अवसरवादी सदस्यहरूको साथ र आफ्नो चटके पृष्ठभूमि प्रयोग गरेर मयुरले ‘पंखदार गठबन्धन’ नामक नयाँ समूह बनायो । उसको योजना भनेको अन्य समूहका निराश सदस्यलाई आकर्षित गर्नु थियो, जो उपेक्षित र कम मूल्यांकन गरिएका महसुस गर्थे ।
‘मेरो साथमा सामेल हौ’ मयुरले घोषणा गर्यो, ‘हाम्रो समूहले यो वनमा हुने अनियमितता र अविकासका विरुद्ध आवाज उठाउनेछ । हामी अरुभन्दा फरक छौँ ।’
उसका शब्दहरूले धेरै प्राणीको मनमा गहिरो प्रभाव पार्यो । नयाँ सुरुवातको वचन आकर्षक थियो । अवसरवादी प्राणीहरूको एक समूह— निराश खरायोहरू, महत्त्वाकांक्षी स्यालहरू र असन्तुष्ट बकुल्लाहरू उसको समूहमा सामेल भए, प्रत्येकले मयुरलाई शक्तिमा चढाएर लाभ लिने आशा गरिरहेका थिए ।
उनीहरूको सामूहिक आवाजले अनुयायीको ठुला संख्या जम्मा भयो । मयुरले आफूलाई कमजोरहरूको च्याम्पियनको रूपमा प्रस्तुत गर्नमा निपुणता हासिल गर्यो । पंखदार गठबन्धन लोकप्रिय हुँदै जाँदा प्राणीहरूले असमानताहरू देख्न थाले । वाचा गरिएका सुधार कहिल्यै साकार भएनन । मयुरले नष्ट गर्ने वचन दिएको अनियमितता उसकै पंक्तिमा फस्टाउन थाल्यो । व्यक्तिगत लाभका लागि मयुरलाई साथ दिएकाहरूले विरोध गर्न थाले ।
एक दिन एक बुद्धिमान बकुल्लाले मयुरको सामना गर्ने निर्णय गर्यो । ‘तिमीले आफूलाई परिवर्तनको पक्षमा उभिएको भन्थ्यौ तर तिम्रा क्रियाकलापहरूले अन्यथा बोलिरहेका छन्,’ बकुल्लाले भन्यो । मयुरको जवाफ थियो, ‘तिमी त मेरो सफलताप्रति केवल इष्र्या गर्दै छौ ! मेरो दृष्टिकोण र व्यक्तित्वको चमक देख्नका लागि धेरै मूर्खहरू पछि लागेका छन् । म तिनको नेता हुँ र तिनीहरूले मलाई पछ्याउनेछन् ।’
निराश भएर बकुल्लाले पंखदार गठबन्धनका निराश सदस्यहरूलाई एकत्रित गर्ने निर्णय गर्यो । उसले एक बैठक आयोजना गर्दै मयुरको धोकाधडीका कथाहरू साझा गर्यो । वास्तविक परिवर्तनका लागि आवाज उठाउने निष्कर्षमा सबै पुगे । ‘केवल आफ्ना इच्छाहरू पूरा गर्न खोज्ने झुटा नेतासँग हामी भुल्नु हुँदैन,’ बकुल्लाले आग्रह गर्यो ।
सत्य फैलिँदै जाँदा एकपटक एकीकृत भएको समूह विभाजन हुन थाल्यो । अवसरवादी प्राणीहरूले मयुरले आफ्नो लाभका लागि काम गरिरहेको थाहा पाए । एक–एक गरेर उनीहरूले पंखदार गठबन्धन छाड्न थाले र साँच्चै उनीहरूको मूल्यहरूका लागि उभिएका अन्य समूहहरूको खोजी गर्न थाले वा पुरानै समूहमा समाहित हुन थाले ।
अब एक्लो मयुरले आफ्नो धोकाधडीलाई दोहोर्याएर पुनः सफलता हासिल गर्ने प्रयास गर्यो । तर अन्य प्राणीहरू उसका चालहरूबारे जानकार थिए । तिनीहरूले उसका वचनहरूमा विश्वास गर्न छाडे । आफ्नो शक्ति गुम्दै गएपछि मयुर भाग्यो, वन र गठबन्धनलाई पछाडि छोड्दै । जाँदाजाँदै मयुरले लगाएको वस्त्र छाडेर जानुपर्यो र उनका अनुयायीले पछि मात्र थाहा पाए कि त्यो मयुर त मयुर वस्त्रधारी छेपारो पो रहेछ ।
- कथाको नैतिकता
यो कथा काल्पनिक हो र कसैसँग मिल्न गए त्यो संयोग मात्र हुनेछ । धोकाधडी गरेर मुखिया वा सञ्चालकले अस्थायी शक्ति पाउन सक्छन् । साँचो शक्ति त इमानदारी र साझा हितको वास्तविक खोजमा हुन्छ । जब सत्य बाहिर आउँछ, तब झुटको मुखौटा भाँचिन्छ र इमानदारी र एकताको मूल्य प्रकट हुन्छ ।
यसो भन्दैमा दोष एउटै (छेपारो)लाई दिने होइन । जसरी पनि फाइदा लिन खोज्ने प्राणी वनमा रहिरहन्छन् । मुख्य दोषी ती वनका प्रमुख सञ्चालकहरू हुन्, जसले न आम प्राणीहरूको चाहना अनुसार नै काम गरे न त आफ्नै समूहका मेहनती र विद्वान् प्राणीहरुलाई महत्त्व दिए । यसो हुँदा आम प्राणीहरूको तिक्तताको फाइदा मयुर जस्ता अवसरवादीहरूले लिन्छन् । हरेक समूहमा छिटै विचलित हुन सक्ने प्राणीहरू सधैँ रहिरहन्छ । तिनीहरूको समयमा उचित व्यवस्थापन नभए अर्को छेपारो मयुर वा गाईको भेष लगाएर फेरि त्यसले वनमा रडाको मच्याउनेछ ।
(डा. कँडेल जेनभामा कार्यरत चिकित्सक, एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !
-
१२ बजे १२ समाचार : दुई महिना नबित्दै धरहरा बन्ददेखि रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी जारीसम्म
-
कोशी प्रदेशमा ९ पदका लागि ७७ जनाको उम्मेदवारी
-
अध्यक्ष नेपाल र रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेईबीच भेटवार्ता
-
लुम्बिनीमा उपनिर्वाचन : रुकुममा कांग्रेसको चुनाव चिन्ह लिएर एमाले उम्मेदवार मैदानमा
-
दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक