हवाई भाडादर बढेकोमा सरकारले विज्ञहरूसँग छलफल गरेर समाधान गर्नुपर्छ : प्रा. डा. पण्डित
काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले अहिले देखिएको हवाई भाडाको महँगी तत्काल घटाउने गरी सरकारले पहलकदमी लिनुपर्नेमा बताएका छन् । उनले नेपाली श्रमिकहरू हवाई भाडादर महँगो हुँदा धेरै ठुलो मारमा परेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले तत्काल कदम चालेर हवाई भाडादर घटाउनुपर्ने बताए । उनले भने,‘हाम्रा नेपाली श्रमिकहरूको लागि विभिन्न गन्तव्यको लागि भाडा महँगोमा परेका छन् । अन्तर्राष्ट्रिय वायु सेवाले गर्ने सेवामा एउटा देशको कानुन र नीतिले मात्रै हुँदैन । हामी आईकाओको मेम्बर स्टेट हौँ । आईकाओले दिएको गाइडलाइनबाट हामी चल्नुपर्छ । सबै एयरलाइन्स चलेका हुन्छन् । उसले फ्रि–मार्केट र फ्रि–इकानोमीमा विश्वास गर्छ । अहिले ३० देखि ४० हजार पर्ने टिकट रातारात बढेर एक लाख पुग्नु राम्रो होइन । यसमा क्यान चनाखो हुनुपर्छ । सरकार पनि चनाखो हुनुपर्छ ।’
उनले हवाई भाडादर महँगो भयो भनेर एयरलाइन्सहरुविरुद्ध खनिनु पनि राम्रो नहुने तर्क गरे । उनले हवाई भाडादर विभिन्न कारणले बढ्ने हुँदा त्यसको वास्तविकता बुझ्नुपर्ने सुझाए । उनले भने,‘अहिले काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति भइरहेको छ, त्यो काम हुँदा फ्लाइट कटौती भएका छन् । एयरपोर्ट नै दैनिक १० घण्टा बन्द हुँदा प्लेन कम आउँछन् । टिकटको भाउ बढ्छ । दर बढायो भने एयरलाइन्सलाई गाली गर्ने होइन । यसलाई सम्बोधन गर्नको लागि सरकारले सोच्नुपर्छ । बरु, काठमाडौँको फ्लाइटलाई भैरहवा वा पोखरा डाईभर्ट गर्नुपर्छ । सरकारले उड्ने दस्तुर फ्रि गराइदिन सक्छ । हामीसँग पर्याप्त जहाज छैनन् । विदेशी जहाज आउँछन् । देशमै पर्याप्त जहाज भएको भए अहिले हवाई भाडादर बढ्दैन थियो ।’
नेपालको आन्तरिक पर्यटन व्यवसायको लागि पनि आफ्नै देशको एयरलाइन्स बढी हुनुपर्ने उनको तर्क छ । उनले भने,‘नेपाल एयरलाइन्समा ठुलो राजनीति छ । यो देशमा प्लेन किन्यो कि भ्रष्टाचार हुन्छ । जुन पनि टेन्डरमा भ्रष्टाचार हुने ? किन यस्तो भइरहेको छ? कसैले अब प्लेन किन्नै सक्दैन । त्यहाँ त काम गरे भ्रष्टाचार हुन्छ । नगरे पुरस्कार पाइन्छ । अनि कसरी संस्था चल्छ ? नेपाल सरकारले अब एउटा नीति ल्याउनुपर्छ । भैरहवा विमानस्थलमा फ्लाइट डाइभर्ट गराऔँ । बरु, जहाज ल्यान्डिङ गरेबापत पैसा नलिनुहोस् । एयरलाइन्स र सरकारलाई मात्रै गाली गरेर अहिलेको भाडादर महँगो भएको समस्या समाधान हुँदैन । विज्ञहरूसँग छलफल गरेर निकास निकाल्नुपर्छ । सरकारले गम्भीर भएर यो समस्यालाई तुरुन्त समाधान गर्नुपर्छ । तत्काल भाडादर घटाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा कालीमाटीमा आउने तरकारीको रातभर बसेर विषादी परीक्षण
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ