बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

‘तीन सय प्रतिशतसम्म हवाई भाडा बढेको छ, कामदार पठाउन सक्ने अवस्था छैन’

शनिबार, २४ कात्तिक २०८१, १७ : ३६
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अत्यधिक हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघि ३०/३५ हजारमा पाइने हवाई टिकट अहिले एक लाखसम्ममा विक्री भइरहेको बताए । महँगोमा पनि सहज रूपमा हवाई टिकट पाउने मुस्किल रहेको उनको भनाइ छ । 

‘अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू अप्ठ्यारो अवस्थामा छन् । विशेष गरी हवाई भाडाको विषयलाई लिएर हामीले दसैँपछिदेखि हामीले महँगो भाडा तिर्नुपर्‍यो भनेर सम्बन्धित निकायलाई घचघच्याइरहेका छौँ । नेपालबाट दैनिक १२ सयदेखि १५ सय नेपाली काम गर्नका लागि जानुहुन्छ । जो काम गरिरहनु भएको छ, बिदामा आएर फर्किने ५ सय जना गरी दैनिक २ हजार जना विदेश जानुहुन्छ । विशेष गरी खाडी मुलुक दुवै, कतार, साउदी अरेबिया, बहराइनलगायतका देशमा ८० प्रतिशत नेपाली जानुहुन्छ,’– उनले भने । 

हवाई भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उनले सुनाए । टिकटको मूल्य २/३ सय प्रतिशतसम्म बढेको उनले बताए । अध्यक्ष भण्डारीले एयरलाइन्स र ट्राभल एजेन्सीहरूले कार्टेलिङ गरेर भाडा बढाएको आरोप लगाए । 

‘हवाई भाडा बढ्दा हामीले कामदार पठाउन सक्ने अवस्था छैन । अहिले सिजन छ, यसबेला केही भाडा बढ्छ, हामीलाई थाहा छ । तर, १५/२० प्रतिशत बढ्नुपर्नेमा एकैचोटी २/३ सय प्रतिशतले बढ्यो । यसमा हाम्रो आशङ्का के हो भने सीमित एयरलाइन्स र ट्राभल एजेन्सीहरूले कार्टेलिङ गरेकी भन्ने आशङ्का हो । पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको हामीले यो भन्दा अगाडि पनि देखेका हौँ । अहिले टिकट जतिमा पनि किनबेच भइरहेको छ । वैदेशिक रोजगारीमा जानेहरू मारमा परेका छन् । यहाँबाट टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिस जान सक्छन् । यसले जोखिम बढ्छ,’– उनले भने । 

हवाई भाडाको कारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरूको बिचल्ली भएको उनले सुनाए । कतारको दोहाका लागि अहिले एक लाखभन्दा माथि टिकट मूल्य रहेको उनले सुनाए । त्यही टिकट हिजोको दिनमा ३५/४० दिनमा पाइने गरेको उनको भनाइ छ । 

अहिले अचाक्ली रूपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । उनले कालोबजारी भएको पाइएमा कडाभन्दा कडा कारबाही गर्न उनले माग गरे । 

हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको छ । स्तरोन्नतिको कामसँगै हवाई उडान ३५ प्रतिशतले कटौती हुँदा अन्तर्राष्ट्रिय हवाई उड्डयन कम्पनीहरूले अचाक्ली भाडा बढाएका छन् । दैनिक १० घण्टासम्म उडान कटौती हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप