सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय
नियात्रा

तिलिचो तालको तलतल

शनिबार, २४ कात्तिक २०८१, १८ : ००
शनिबार, २४ कात्तिक २०८१

मलाई नयाँ–नयाँ ठाउँमा घुम्न भनेपछि असाध्यै रहर लाग्छ । यसपटक पनि मलाई घुम्न जाने रहर थियो । हुन त घुम्न भनेपछि कसलाई मन नपर्ला र ? तर किन हो कुन्नि, घुम्न जाने योजना बन्नेबित्तिकै मनमा भएका अनेक तनाव घटेको महसुस हुन्छ । यसपटकको दसैँ र तिहार बिचको बिदामा कतै न कतै जान पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । घरमा सल्लाह हुँदा यसपालि हामी मनाङको तिलिचो तालसम्म जाने भयौँ । 

हामी दम्पती सानो छोरालाई मामाघरमा छाडेर गोरखा पुग्यौँ । बुबा र आमाले पनि यात्रा सफलताको कामना गर्दै हिम्मत बढाइदिएर नातिको जिम्मा लिनुभयो । बाबु पनि रमाएर मामाघरमा बसेपछि हामीलाई ढुक्क भयो । ट्रेकिङका सामानसहित आवश्यक तयारी गरेर गएका हामी गोरखाबाट बेसीसहरसम्म आफ्नै सवारीसाधन गयौँ भने त्यहाँबाट उतैतिरको सवारीसाधनमा मनाङतिर लाग्यौँ । 

अनौठो कुरा त यो थियो कि गोरखामा जन्मिएर पनि मैले नजिकैको छिमेकी जिल्ला लमजुङ टेकेकी थिइनँ । जागिरका सिलसिलामा बुबाले पाइला टेकेका यी प्रत्येक ठाउँको नाम भने सुनेकी थिएँ । तर आज तिनै नामहरूलाई स्मरण गर्दै प्रत्यक्ष रूपमा देख्न पाउँदा असाध्यै खुसी लाग्यो । 

डुम्रेभन्दा अलि पर भन्सार, भन्सारदेखि माथि तुर्तुरेसम्म मात्रै पुगेकी थिएँ । त्यसमाथि केकस्तो ठाउँ होला भन्ने मनमा खुलदुली लागिरहेको थियो । डुम्रे, बेसीसहर, चामे राजमार्गमा दौडिरहेका गाडीहरू र त्यही रफ्तारभन्दा पनि अझै बढ्ता दौडिरहेको मेरो मनलाई तुलना गर्न सकिरहेकी थिइनँ । मस्र्याङ्दीको तिरैतिर कहाँ हुत्तिरहेको छ कुन्नि यो मन ? कहिले नदीका उछालसँगै वेगले हानिएको छ त कहिले पछाडि छाडिएका रुखहरूतिर कुदेको छ । म कहिले विगतमा दौडिन्छ, कहिले वर्तमानमा फर्किन्छ । कहिले उकाली ओरालीमा गएर नजर अडिन्छ, कहिले रुखकाहाँगाहाँगामा खेलेका चराहरूमा । मलाई जिस्काउँदै सुसाइरहेको छ हावा । जिस्काउँदै बगिरहेको छ नदी । अनौठो मान्दै हेरिरहेको छ हिमाल । म सबैतिर ध्यान खिच्न खोज्दै छु र दृश्यमा हटाउन खोज्छु । तर दृश्यभित्र खुम्चिनै मान्दैनन् प्रकृतिहरू । मभन्दा बढ्ता नै स्वच्छन्द बन्न चाहन्छन् वा मभित्र अटाउन सक्दैनन् । म अचम्म मान्दै यिनीहरूसँग बयली खेलिरहन्छु ।

लोभिँदै मनले भन्दै थियो, ‘आहा ! कति सुन्दर छ मेरो देश । कति शान्त छ मेरो देश । कति आनन्द छ यो देशमा । 

तनहुँ सकिएपछि लमजुङ जिल्लाको सीमामा राखिएको रहेछ एउटा गेट ः ‘लमजुङ जिल्ला यहाँलाई हार्दिक स्वागत गर्दछ ।’ यो देखेपछि मन भक्कानिएर आयो । म यहीँ नजिकैको चेली । तर म यहाँ टेक्नै नपाईकन कहाँकहाँ चिलझँै उडिरहेकी थिएँ । अचानक आँखा पुग्यो पाउँदीढिक लेखेको ठाउँमा । यो त मैले असाध्यै सुनेको नाम हो । तर कहाँ सुनेँ ? छेवैमा ड्राइभिङ गरिरहनुभएका श्रीमान्सँग प्रश्न गरेँ । ‘यहीँको मान्छे यति पनि नसुन्ने त ?’ उहाँ हाँस्नुभयो । 

माधवप्रसाद घिमिरे जन्मनुभएको ठाउँ बाहुनडाँडा धेरै अघिदेखि सुनिरहेको नाम । त्यतातिर हेरिरह्यौँ, रमाइलो बस्ती थियो । यस्ता ठाउँमा जन्मेर आफ्नो देशलाई चिनाएर अजरामर बन्नुभएका राष्ट्रकविलाई सम्झेर मन भरङ्ग भयो ।

यी ठाउँसँग जोडेर बुबाले आमालाई सुनाएका घटना कथा हुन् कि यथार्थ ? मेरा लागि कथा नै थिए । बाल्यकालमा बुबाले गरेका कुराहरू मलाई कथाजस्तै लाग्थे । 

‘पाउँदीको ढिकको तिरैतिर जानुपर्छ, बाटो खतरा छ ।’ जागिरबाट फर्केपछि बुबाले आमालाई सुनाउनुहुन्थ्यो । खासमा उहाँ लमजुङ जिल्लाको दुधपोखरी गाविसमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ जाँदा र आउँदा हिँड्नुपर्ने बाटो यही भएकाले पाउँदीढिक मैले धेरै सुनेको नाम भनी झल्याँस्स भएँ । गेटैमा उभिएका ट्राफिकलाई गएर सोधियो पनि— यहाँ कुनै घुम्न लायक ठाउँ छन् ? 

‘राइनस कोट’ भनेर लेखिएको बोर्ड देखेपछि त्यहाँसम्म पुग्न कति समय लाग्छ भनेर पनि सोधेँ । उहाँले सहजै जवाफ दिनुभयो ः ‘दुई घण्टा जति लगभग लाग्ला तर यहाँ नजिकै पनि घुम्ने ठाउँ छ नि । महादेव १०८ फिटमा उभिनुभएको छ । जानुस् त नजिकै छ ।’ नभन्दै त्यहाँ गएर महादेवको त्यो मूर्ति हेरिसकेपछि लाग्यो पाउँदीको ढिकमा आज महादेवले पनि साथ दिइरहनुभएको छ अप्ठेरो बाटोलाई सहज बनाउनका लागि र पुल हालिएको छ गाडी तर्नका लागि । सायद भगवान् र सहजता सँगसँगै दुःखका साथी बनेर मानिसलाई तारिरहेका छन् ।

हाम्रो यात्रा बेसीसहरतर्फ अघि बढ्यो । बाटोमा देखिएको भोटेओढार नामले मलाई उस्तै गरी तान्यो ।  अर्को यसभन्दा अगाडि देखिएको सुन्दर बजारले मन्त्रमुग्ध बनायो । यिनीहरू पनि बाल्यकालमा बारम्बार सुनेको आफ्नै साथीका नामजस्ता थिए । सुन्दरबजार नामजस्तै राम्रो रहेछ । फराकिलो फाँट सुन्दर घरहरू । सफा अनि स्वच्छ मस्र्याङ्दीको वायु सरर चलिरहने । आहा ! कति सुन्दर । सुन्दरबजारबाट सकेसम्म अगाडि नबढौँ जस्तो लागिरहेको थिया तर पनि गन्तव्यतर्फ लम्किनैपर्‍यो । 

अब भने मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको बोर्डले मेरो ध्यान खिच्यो । यसका बारेमा पनि बारम्बार सुनेको तर यहाँ रहेछ भन्ने यकिन थिएन, अनुमान मात्रै थियो । अन्धकारलाई भगाएर उज्यालो थप्ने काम गर्ने यो मध्य मस्र्याङ्दी जलविद्युत् आयोजना जस्तै मैले आबुखैरेनी नजिकै देखेको अर्को जलविद्युत् आयोजनालाई पनि सम्झेँ । मस्र्याङ्दीले विद्युत् उत्पादनबाट हाम्रो देशलाई कति धेरै मुनाफा दिन सक्ने रहेछ भन्ने बारेमा मुहानसम्म पुग्दा पनि स्मरण भइरह्यो । 

बेसीसहर नगरपालिका स्वागतार्थ उभिएको देख्दा मन प्रफुल्लित भयो । यसमा पनि उही पुरानै भावले काम गर्‍यो सायद । दिदीहरू पनि घरबाट बुबासँग यहाँसम्म हिँडेर पुगेको कथा सुनाउनुहुन्थ्यो । कुतूहलता बढिहाल्यो । सँगै यति टाढा पैदलै कलिला गोडाले दिदी कसरी आइपुग्नुभयो होला भन्ने स्मरणले भावुक पनि तुल्यायो । मेरो मनमा भएको बेसीसहर र प्रत्यक्ष आँखाअगाडि भएको बेसीसहरमा तुलना गर्न थालेँ । आकाश जमिनको फरक । मैले कल्पना गरेको त्यो सुन्दर सहरसँग यो अपूर्ण बनिरह्यो । सायद कल्पनामा अलिक बढी नै सजाइएको हुँदो रहेछ । कल्पना भन्ने चिज नै अनौठो ।

बाइस घुम्तीमा पुगेर धेरै यात्रुहरू दोधारमा बस्दा रहेछन् । अघि बढ्ने मन हुँदाहुँदै पनि शरीरले थकान महसुस गरेर पाइला बढाउन नसक्नेको भीड । मौका छोपेर घोडामा चढाउने र चर्को महसुल असुल्नेको ताँती उस्तै, मोलमोलाई उस्तै । चितवनबाट आएका भाइ र बहिनीहरू ६ हजार तिरेर घोडामा जाने निर्णयमा पुगे ।

बेसीसहर पुगिसकेपछि हाम्रो गाडी कहाँ राख्ने भन्ने तनाव अर्को थियो । तर यो तनावलाई दिदीले सल्टाइदिनुभएको थियो । दिदीले व्यापारका सिलसिलामा चिन्नुभएको भरत दाजुले त्यसको जिम्मा लिनुभयो । अनि निश्चिन्त भएर हामी बेसीसहरबाट मनाङ जाने गाडीको खोजीमा लाग्यौँ । महेन्द्रको बोलेरो गाडीको ताँती मनाङतर्फ यात्रु ओसार्ने जिम्मामा तैनाथ रहेछन् । उकाली ओराली र अप्ठेरा बाटाहरूमा सहजै जान सक्ने यो गाडी सायद यस्तै परिवेशका लागि बिचारेर निर्माण गरिएजस्ता । ६ जना यात्रु जम्मा गरिसकेपछि बोलेरो गाडी गन्तव्यतर्फ लाग्दो रहेछ । हामी पनि त्यसै गाडीको योजनानुरूप ६ जना मान्छे पुर्‍याउने दाउमा केहीबेर अलमलिनुपर्ने भयो । समयको सदुपयोग गर्दै हामी खाना खानतिर लाग्यौँ । यात्रुको सङ्ख्या पुगेपछि गाडी गन्तव्यतर्फ हुइँकियो । 

खचाखचको यात्रा, तीनजना बस्नुपर्ने ठाउँमा चार जना राखेको छ । अगाडि ड्राइभरको सिटैमा काखैमा पनि यात्रु थपेर चारजना बसेका छन् । यो असहज यात्रा, लामो दूरी, कसरी पुग्ने होला भन्ने तनावले मन अमिलो भयो । तर गाडीले उफार्दै जाँदा मिल्दै गइन्छ भन्ने अगाडिको दिदीको आवाजले भने ढुक्क लाग्यो । गाडीमा दुईजना गुरुङ दिदीहरू चढ्नुभएको रहेछ । एकजना विदेशी, उनका नेपाली गाइड र हामी दुईका साथमा एकजना प्रहरी जवान । 

बाटोमा गुरुङ दिदीबहिनी गुरुङ भाषामा चर्का स्वरले खै केके कुराकानी गर्दै हुनुहुन्थ्यो । कहिलेकाहीँ असजिलो बाटो आए भने विगतमा नोस्टाल्जिक बनिहाल्ने । पहिले भारी बोकेर यतिका बाटो पैदलै हिँड्दाको अनुभूतिलाई नेपाली भाषामै पोख्न थाल्नुहुन्थ्यो । हामीले पनि त्यसको अनुभूति गर्न सकौँला भन्ने लोभ थियो कि सायद । उहाँहरूको भनाइमा अहिले स्वर्ग रे यो । हामीले अहिले पनि असहज देख्थ्यौँ । 

चर्कोचर्को स्वरले हाँस्दै अथवा रमाउँदै हिँडिरहनुभएका यी दुई बहिनी काठमाडौँ र पोखराबाट बेसीसहरमा वर्षौंपछि आजै भेटिनुभएको रहेछ । तसर्थ कहिल्यै नसकिने याद र विगतका स्मरणलाई ताजा गर्दै अन्य यात्रुलाई बिर्सेर गफमा भुल्नुभयो क्यार । बाह्य दृश्यहरू नियाल्दै हामी पनि सानासाना स्वरले कुरा गरिरहेकै थियौँ । भुलभुले कटिसकेपछि बाहुनडाँडातिर आँखा गयो । माधवप्रसाद घिमिरे जन्मनुभएको ठाउँ बाहुनडाँडा धेरै अघिदेखि सुनिरहेको नाम । त्यतातिर हेरिरह्यौँ, रमाइलो बस्ती थियो । यस्ता ठाउँमा जन्मेर आफ्नो देशलाई चिनाएर अजरामर बन्नुभएका राष्ट्रकविलाई सम्झेर मन भरङ्ग भयो । 

पहाडको भित्तैभित्ता खोपिएका डरलाग्दा बाटाहरूको यात्रा गर्दै हामी अगाडि बढ्यौँ । एउटा गाडी मात्रै छिर्न मिल्ने गरी बनाइएका ती भित्ताका प्वालहरू हेर्दै अनौठो लाग्दा थिए । कतै ढुङ्गैढुङ्गाको बिचबाट छिराइएका बाटो त कतै पहाडको छेउबाट लगिएका गोरेटाहरूले मनमा डर, त्रास र उमङ्ग एकैपटक उत्पन्न गराइरहेको थियो । त्यही बाटोमा बारम्बार हिँडिरहेका मानिसका लागि यो सामान्य होला तर हामी पहिलोपटक यात्रा गरिरहेका यात्रीका लागि यो जोखिम र रोमाञ्चक दुवै थियो । यतातिरका चालक देखेर पनि अचम्मै लाग्यो । यस्ता अप्ठेरा बाटाँग पनि कति सहजताको मित्रता गाँसिसकेका रहेछन् । यहाँका ढुङ्गा–खोला, रुखबिरुवा र पहाडहरूले यिनीहरूलाई चिनिसकेका छन् वा दुवैको मित्रता प्रगाढ रहेछ भनेझैँ लाग्ने । एकले अर्कालाई हेर्दै मुस्कुराइरहेजस्ता, पूरै चिर–परिचितजस्ता ।  

यात्रुहरू डराउँदै बेलाबेलामा अलि बिस्तारै हाँक्नुस् न भनिरहेका थियौँ तर यसको प्रवाह थिएन चालकलाई । उनी मुसुक्क हाँस्दै फोन उठाउँदै बारम्बार कुरा गरिरहेका पनि हुन्थे र उत्तिकै स्पिडमा गाडी पनि हाँकिरहेका हुन्थे । कतैकतै भेटिएका घरहरूसँग हाई–हेल्लो गर्दै सामान पुर्‍याउने र लगिदिने पनि गर्न भ्याउँथे । हामीसँगै यात्रा गरिरहेका प्रहरी जवान भने मस्त निदाइरहेका थिए, सायद लामो यात्राको थकान हुनुपर्छ अथवा के थियो कुन्नि ? यति अप्ठेरो बाटोमा पनि कसरी निदाउन सकेका होलान् ? हामी खुसुखुसु कुरा गर्दै थियौँ । 

हामीसँगै बसेका एउटा विदेशी पाहुना लन्डनबाट आएका रहेछन् । उनको साथी कोही नभएकाले होला चुपचाप बसिरहेका थिए । कहिले निदाउँथे, कहिले यताउतिका दृश्य नियाल्ने गर्थे र रमाउने गर्थे । लामो यात्राको थकानले गर्दा यिनी निदाऊन् भन्ने उनको गाइडको मत थियो । गाइडले उनलाई बेवास्ता त होइन तर आराम गर्न समय दिइरहेका छन् भन्ने हामी ठानिरहेका थियौँ । 

होटलहरूमा विदेशीलाई गरिएका व्यवहार र नेपालीलाई गरिएका व्यवहारमा निकै भिन्नता थियो । त्यसो त सगरमाथा बेसक्याम्पतिर झन् नेपाली पर्यटकलाई मान्छे नै नगन्ने परिपाटी छ भन्ने एक गाइडको कुरा सुनेपछि नमिठो लाग्यो ।

ङ्यादी पुगेपछि भने झनै रमाइलो लाग्यो । ङ्यादी हाइड्रोपावरमा सेयरमा लगानी गरेको सम्झना पनि भयो । यही प्रोजेक्टले बनाएको सुरुङ्गमार्ग र राम्रो बाटो देखेर हामी खुसी पनि भयौँ । स्याङ्गे, जगत, चेम्चे झरना हेर्दै ताल पुगियो । ताल साँच्चिकै रमाइलो ठाउँ रहेछ । बेसीसहरबाट पैदलयात्रा गर्दै जाने पर्यटकका लागि सुस्ताउने, थकान बिसाउने र बास बस्ने ठाउँ । कति रमाइलो बस्ती रहेछ । घरैपिच्छे होटल ! घर भन्ने कि होटल ? पैदलमार्गीका लागि बाटो पनि छुट्टै बनाइएको रहेछ । बगरछाप, तानचोक, कोटो हुँदै हामी स्वर्गद्वारी पुग्यौँ । पहाडमा सानासाना बस्तीहरू,  घरहरू पनि आधुनिक बन्न थालेका । पुरानो मौलिकता नै मास्दै गइएकाले नमिठो लाग्यो । हाम्रो सम्पत्ति र सम्पदाको जगेर्ना नगरी विदेशीको नक्कलमा ठड्याइएका महलले पर्यटक कति आकर्षित होलान् र भन्ने चिन्ता प्रकट गर्दै अघि बढिरह्यौँ ।

ढुकुरपोखरी कटिसकेपछि सुरु भएको पिसाङ साँच्चै रमाइलो ठाउँ रहेछ । यहाँ भने स्याउका बोटहरू, फूलका बगैँचाहरू र सुन्दर हरियालीले ध्यान खिचे । घरप्रति भने उस्तै अमिलो अनुभूति । यही सडकका ठाउँठाउँमा रहेका झरनाले पनि यहाँको दृश्यलाई सुन्दर बनाइरहेको थियो । अक्टोपस झरनाको नाम निकै सुनेको र टिकटकमा पनि धेरै देखेको तर प्रत्यक्ष आँखाले देख्न पाउँदा साँच्चै रमाइलो लाग्यो । यहीँ खाना पनि खाइयो र रमाइलो पनि गरियो । पानीमा खेल्ने मन हुँदाहुँदै पनि चिसोले गर्दा सोचेझैँ सकिएन । धेरै फोटो तथा भिडियो खिचियो । तल्लो पिसाङ र उपल्लो पिसाङका सुन्दर दृश्यहरू हेर्दै ग्रिनलेकसम्म पुगियो । ग्रिनलेक साँच्चिकै हरियो पानी भएको ताल रहेछ । तालसम्म मोटर बाटो पुगे पनि पारिबाट झरेर हामी झोलुङ्गे पुल तरी दश मिनेटमा पुग्यौँ । 

मनाङको सदरमुकाम चामे धेरै पढिएको नाम । धेरै याद गरिएको नाम । चामे पुगेपछि यो कस्तो होला भन्ने कुतूहलताले झन् डेरा जमायो । कतिबेला आइपुग्छ भनेर बारम्बार सोधिरह्यौँ । मस्र्याङ्दीको किनारा र पहाडको फेदीमा रहेको यस ठाउँमा झरेर फोटो पनि खिचियो । बादल नजिकै घुमिरहेका नाङ्गो डाँडाको काखैमा नदी र नदीको वारिपारिको चामे बजारको ऐतिहासिकताबारे सोधखोज गर्दै रमाइयो । त्यही नदीमा पूजाका क्रममा बगिसकेका हाकिमलाई अर्को प्रहरी साथीले कसरी पाखामा हुत्याएर बचाए भन्ने तात्तातो खबर रोचक तरिकाले प्रहरी जवानले सुनाए । 

हुम्डे कटेर मिनी लेक हेर्दै हामी भ्राताङ पुग्यौँ । भ्राताङ स्याउ उत्पादन गर्ने एउटा विशेष ठाउँ रहेछ । स्याउको बगैँचा त मनमोहक छँदै छ, त्यसपछि यहाँबाट उत्पादन भएका स्याउका विभिन्न परिकार देश–विदेशमा पुग्ने गरेको सन्दर्भले हर्षित बनायो । स्याउको जुस, रक्सी र सुकुटी लगायत विविध परिकार । स्याउको उन्नत खेती प्रणाली यसरी नै ठाउँठाउँमा भइदिए कति फाइदा हुने थियो भन्ने हाम्रो निष्कर्ष रह्यो । स्याउ बोटमै टिपेर खान पाउँदा को आनन्द छुट्टै । यसपछि भने हाम्रो यात्रा मनाङ जिल्लाको मनाङ गाउँको रह्यो ।

सुन्दर फाँटमा अवस्थित यो गाउँ पनि हेर्दा लोभ लाग्दो नै थियो । पुराना पुराना ढाँचाका घरहरू यहाँ देख्न पाइयो । तर नयाँ भवनहरूले पुरानालाई ढाक्नै लाग्दाका बेखुसी उस्तै । मस्र्याङ्दीले समथर भूभागका रूपमा छाडेको उपत्यका जस्तो मनाङ भ्याली असाध्यै आकर्षक रहेछ । उर्वर र मलिलो जमिन पनि रहेछ । एकै ठाउँमा झुरुप्प परेर बसेका बस्तीहरू सुन्दर रहेछन् । उस्तै स्वरूपका घरहरू तथा घर अगाडि राखिएका ढुङ्गाका चाङका पर्खाल र त्यसमाथि राखिएका दाउराका थुप्राले मनाङ उपत्यकालाई खास एवं विशेष बनाएको थियो । मुस्ताङको जोमसोममा झैँ दाउरा छानामाथि नदेखिए पनि अरू झन्डै उस्तै । नजिकै देखिएका हिमालका दृश्य र छेउमा रहेको गङ्गापूर्ण तालले यस भ्यालीलाई साँच्चै आकर्षक र मनमोहक बनाएको थियो ।

यहाँका पाखामा चरेका चौँरी गाई र भेडाका बथानले परिवेशलाई उस्तै मौलिक, सुन्दर र आकर्षक बनाइरहेको थियो । स्वदेशी तथा विदेशी पर्यटक यही दृश्यमा रमाइरहेका थिए । थुम्काथुम्कीमा बान्की मिलाएर रोपिएका जस्ता देखिने बुट्यान बगैँचाजस्तै थिए । कतै हरिया, कतै राता त कतै खैरा रङका यी बुट्यानका दृश्यले मनाङलाई स्वर्गझैँ सुन्दर तुल्याएको थियो । प्रकृतिले कति माया गरेको सौन्दर्यको धनी देश हाम्रो । कृत्रिम आकर्षक बढाएर पर्यटक तान्ने विदेशीतिर दृष्टि दिँदै आफ्नो देश सम्झेर छाती गमक्क फुलिरहेको थियो । 

मनाङ उपत्यका छाडेर हामी खाङसारतिर लाग्यौँ । त्यहीँ बास बस्नु थियो । बाहिरबाट आएका पर्यटकहरू सिधै त्यहाँ पुगेर बस्न नहुने त्यहाँका स्थानीयको सुझाव थियो । लेक लाग्न सक्ने रहेछ । समुद्र सतहबाट ३,७५४ मिटरको उचाइमा रहेकाले एकैपटकमा यहाँको वातावरण अनुकूल बन्न शरीर असहज हुने उनीहरुको तर्क थियो । विदेशी पर्यटकहरू त धेरैजसो बेसीसहरबाटै हिँड्दै ठाउँठाउँमा बास बस्दै आउने गर्दा रहेछन् । नेपालीहरू भने चामे वा मनाङ उपत्यकामा पहिलो रात बसेपछि मात्र खाङसार आउने रहेछन् । हामी भने सिधै त्यहीँ बस्ने भनेर गन्तव्य ताकिरहेका थियौँ । हामीसँगै आउने साथीहरू पनि विभिन्न स्थानमा झरिसक्नुभएकाले छुटिसक्नुभएको थियो । तर पनि हामी खाङसारमै बास बस्यौँ । त्यहाँ हामीजस्ता अन्य आन्तरिक पर्यटकहरू चितवन तथा पोखरा र काठमाडौँबाट आएर बसिसकेको देखेपछि मन ढुक्क भयो । 

धेरैजसो मानिसहरू त्यहाँ आइसकेपछि आफूलाई स्वच्छन्द ठान्दा रहेछन् तसर्थ उनीहरू सहरबाट लिएर आएका खानेकुराहरूसँगै रमाइरहेका थिए । त्यसमा पनि धेरैजसो त मद्यपान र धुम्रपानमै रमाइरहेका थिए । भोलिपल्ट बिहान उनीहरूले लेक लागेर सुत्न नसकेको र औषधी सेवन गरेपछि केहीबेर निदाउन सकेको गुनासो गरे । हामीलाई भने खासै केही भएन । रातमा ब्युँझदा पनि कताकता डर भने लागिरहेको थियो । अक्सिजन नपुगेर अतालिने हो कि भन्ने डरले चिसो भए पनि झ्यालको सानो भाग खुला राखेर सुतेका थियौँ । श्रीमान्लाई रातमा टाउको दुखेर औषधी लिनुभएको बताउनुभयो । तर बिहानपख ठिक भइसकेको थियो । 

भोलिपल्ट बिहान आफूसँग भएका भारीहरूमध्ये आधा त्यहीँ राखेर हामी मनाङको तिलिचोतर्फ उकालो लाग्यौँ । कहाँसम्म जान सकिन्छ भन्ने थाहा थिएन तर पनि लगभग दुई घण्टा हिँडिसकेपछि श्रीखर्क भन्ने ठाउँमा पुगिने रहेछ । बाटोमा यात्रीहरूको आउने–जाने लस्कर उस्तै भेटिने रहेछ । यो यात्रामा खर्चिने समय पनि उमेर र तागतअनुसार भर पर्ने रहेछ । त्यहाँ पुग्न कसैले एकै घण्टा त कसैले दुई घण्टा लागेको बताउँथे । हामी जतिबेला पुगिएला त्यसको चिन्ता नलिई हिँड्ने योजनामा थियौँ । समय हेर्न थाले झनै अत्यास बढ्ने हाम्रो निष्कर्ष थियो । जेहोस् बेलुकीसम्म बेसक्याम्प पुग्न पाए बास पाइनेमा ढुक्क थियौँ । 

हामी श्रीखर्कमा भारी बिसाएर एकछिन सुस्तायौँ । साथमा बोकेका खानेकुराहरू खायौँ । यहाँ आइपुग्ने बेलाको उकालो बाटो असाध्यै कष्टकर लाग्यो । योभन्दा कठिन मार्ग त अझै छन् भन्ने अरू पर्यटकको भनाइ थियो । बाटो हेर्दा कठिन भने होइन, तर अक्सिजनको कमीका कारण जति माथि गयो उति उकालो काल बनेर उभिने । सास बढेर हिँड्न गाह्रो । अडिँदै पाइला चाल्नुपर्ने । 

कठिनाइको मात्रा लेखाजोखा गर्दा त कतै श्रीखर्कबाटै फर्किने पो हो कि भन्नेसम्मको सोच आइरहेको थियो । अरू उमेरदार र त्यहीँका स्थानीयका हिँडाइ हेर्दा पनि उस्तै थियो । स्थानीयकी सानी बच्ची पनि गफ गर्दै ठुलाकै रफ्तारमा हिँडेको देख्दा अचम्म लाग्यो । तर उनीहरू श्रीखर्क नपुग्दैको गुम्बासम्म मात्र हिँडेका रहेछन् । श्रीखर्कबाट हिँडेपछि झन् सुरु भयो गज्जबको उकालो । पाइला अगाडि बढाउन खोज्यो सास बढिहाल्ने । दुई पाइलामै उभिन मन लाग्ने । कहिले लाग्थ्यो ५० पाइला जति हिँडिसकेर मात्रै उभिन्छु जस्तो । तर जब त्यो सोचिन्थ्यो र पाइला गन्दै उकालो हिँडिन्थ्यो तब कहाँ ५० पाइला नबिसाइ हिँड्न सक्नु र ? १० पाइलामा ज्यान गलिहाल्थ्यो । आफूलाई जति नै बलियो छु भन्ठान्नेहरू पनि त्यहाँ गएर तुरुन्तै गलिहाल्थे । अनि लाग्थ्यो, मान्छेको शरीर के नै छ र ? 

निरन्तरको उकालो काट्दै गइरहेपछि अब लगभग घरहरू पनि थिएनन् र बस्तीहरू पनि थिएनन् । एकान्तमा हिँडिरहेका थियौँ । उकालो र ओरालोको क्रम भने उस्तै थियो । अब त बिस्तारै मसिना गिट्टीहरू र बालुवासहितका पहाड देखिन थाले । त्यहाँ ठुलाठुला चट्टानहरूको अभाव थियो । मसिना गिटी ओइरिएर बनेका चिप्लेटीजस्ता पहाड हेर्दा कम सुन्दर देखिँदैनथे । तर छेउमै पुग्दाको डर अधिक हुन्थ्यो । सानो कम्पनमा पनि ओइरिन ठिक्क बनेका । ठुलो हावामा अथवा माथि जङ्गली भेडाका बथानहरू हिँड्दा पनि खस्ने खालका साँच्चै डरलाग्दा । भीरकै बिचमा नाडीको नसाजस्ता साना गोरेटा कोरिएका । एउटा सानो पहिरोले पनि बाटो अवरुद्ध गर्न सक्ने । हे भगवान्, कटियो है यो भीर त भन्दै लामो सास तान्नपुर्ने । एउटा कट्यो, अर्को तम्तयार भएर चुनौती खडा गरिदिन्छ । अर्को कट्यो, अर्कोले परीक्षा लिन बाँकी रहेको सङ्केत गर्छ । मान्छे हरेक पाइलामा मुटु गोजीमा राखेर परीक्षा दिँदै छ, प्रकृति परीक्षा लिइरहेछ । हामी मात्रै होइन, फ्रान्स, इटली, इराक, अमेरिका, बेलायत, भारत, चीन आदि देशका पर्यटक उसैगरी मनमा त्रासदी बोकेर पाइला चालिरहेका । माथि पहिरो झरे–नझरेको यकिन गर्दै बाटो काट्न सबैले सबैलाई सुझाव दिन पनि पछि परेका छैनन् । 

साँघुरो बाटोमा दुईतर्फी बाटो काट्न सकिने अवस्था थिएन । अलिक फराकिलो स्थानमा बाटो छाडेर उभिनुपर्ने । एउटा कटेपछि अर्को कट्नुपर्ने । घोडा र खच्चरका ताँती आए भने त मान्छेको सातै जाने । भित्तातिर टाँसिएर घोडा छिर्ने ठाउँ जसोतसो निकालेर सास रोकेर उभिन्थेँ म । अरू पनि यसरी उभिएका हुन्थे तर सास रोक्थे कि के गर्थे त्यो उनै जानून् । घोडाका लिदीको गन्धले टाउकै दुखेर आउने । बाटो एउटै, कठिन यात्रा । तर ती जनावरहरू आफूभन्दा ठुला भारी र मान्छे बोकेर पनि कतै नरोकिएरै छिटोछिटो हिँडिरहेका तर आफू सुस्ताउँदै हिँडेको देख्दा एकछिनका लागि घोडा बन्न पाए पनि हुने जस्तो लाग्ने । जेहोस्, हामीले देखेझैँ सुख त तिनलाई पनि के होला र ? 

खुट्टामा जुत्ताले बनाएका फोरा र जाँघमा पलाएका गाँठाले थकानसँगै हिँडाइमा असहजता थप्दै गइरहेको थियो । अनेक कठिनाइलाई चिर्दै, पहाड र कोप्चेरामा छिर्दै, भीर र उकालोसँग जुहारी खेल्दै हाम्रो यात्राले बेसक्याम्पमा गएर बिट मार्‍यो । जानेबित्तिकै तात्तातो सुप खाएर आराम गरियो, मस्त निदाइयो पनि । बेलुकी खाना खाने बेला उठेर आगोमा गोडा सेकियो । अलिक आराम मिल्यो । भोलिपल्ट ३ बजे नै उकालो लाग्नुपर्ने नत्र हावा चलेर तिलिचोसम्म पुग्न निकै कठिन हुने होटलवालाको सल्लाह थियो । 

भोलिपल्ट बिहान ५ बजेतिर उठेर टर्चका सहाराले हिँड्न थाल्यौँ । चिसो अधिक भएर हातले लठ्ठी र टर्च समाउन पनि सकिरहेको थिएन । हिँड्दै गएपछि ज्यान तात्दै जान थाल्यो अनि अलिक सहज भयो । तर जहाँ हावाले छुन्छ त्यहाँ भने कठ्याङ्ग्रिन छाडेन । 

हिँड्दा पनि मनमा अनेक कुरा खेलिरहे । होटलहरूमा विदेशीलाई गरिएका व्यवहार र नेपालीलाई गरिएका व्यवहारमा निकै भिन्नता थियो । त्यसो त सगरमाथा बेसक्याम्पतिर झन् नेपाली पर्यटकलाई मान्छे नै नगन्ने परिपाटी छ भन्ने एक गाइडको कुरा सुनेपछि नमिठो लाग्यो । 

उकालो बाटोको कठिनाइ यहाँ झन् बढ्यो । अहिले सम्झिँदा पनि डर लाग्छ, जति हिँडे पनि त्यहीँको त्यहीँ, अलिकति पाइला सार्‍यो कि थकाइ लाग्ने अनि पछाडि फर्केर हेर्दै बाटो यति काटियो भन्दै रमाउँदै हिँड्नुपर्ने । अगाडि हेर्दा डाँडाभरि टर्च लाइटहरूको उज्यालोका ज्योतिहरू यत्रतत्र फैलिसकेका । दुई घण्टा अघि नै हिँडेका टोली पर पुगिसकेका थिए । बाइस घुम्तीमा पुगेर धेरै यात्रुहरू दोधारमा बस्दा रहेछन् । अघि बढ्ने मन हुँदाहुँदै पनि शरीरले थकान महसुस गरेर पाइला बढाउन नसक्नेको भीड । मौका छोपेर घोडामा चढाउने र चर्को महसुल असुल्नेको ताँती उस्तै, मोलमोलाई उस्तै । चितवनबाट आएका भाइ र बहिनीहरू ६ हजार तिरेर घोडामा जाने निर्णयमा पुगे । एउटी ६२ वर्षकी आमालाई घोडामा चढ्न अनुरोध गरिरहेका थिए, उनले मानिनन् । हिँडेरै पुगिन् तिलिचो । त्यसो त ८५ र ८२ वर्षका जर्मनहरू पनि तिलिचो पुगिसकेका रहेछन् । उनीहरूसँग रमाइलो कुराकानी पनि भयो । 

हिँडेर बाइसघुम्ती कटिसकेपछि ठुलै युद्ध जितेको अनुभूति भयो । त्यहाँबाट देखिने मस्र्याङ्दी नदीको मुहान अचम्मको थियो । मूलबाट निस्कनेबित्तिकै गडगडाहटसहितको पानी । अचम्मको दृश्य । भित्रभित्रैबाट हिउँ पग्लेर कहाँ मिसिएर यहाँ निस्केका होलान् ? प्रश्न उब्जिरह्यो । धरातललाई छेडेर निस्केका पानीको आवाज युद्ध जितेको सिपाहीको हुङ्कारभन्दा कम थिएन । तिलिचो नजिक देखिएका मसिना ताल र सँगै जोडिएका हिमाललाई जति हेरे पनि धीत नमर्ने । त्यहाँ पुगेपछि स्वर्गमा पुगेको अनुभूति कसलाई नहोला र ? सबै थकान र कठिनाइ भुलेर हामी पनि खुब रमायौँ तिलिचो किनारमा । 

एउटा कफी हाउस पनि रहेछ छेउमै । त्यहाँ तातो खानेकुरा खान पाउनुको आनन्द छुट्टै । पर्यटकको रहर अर्कै । अब कहिले आउन सकिएला र यहाँ भन्दै थरीथरीका कपडा फेरेर फोटो र भिडियो खिच्नेको भिड । उनीहरू हिउँको चिसोलाई चुनौती दिँदै रमाएको हेर्दाको आनन्द अर्कै । पुगेपछि त्यहीँ बसिरहुँ जस्तो ठाउँ । शिव र पार्वतीको हिमालय पर्वत यही हो कि भन्ने भान हुने । आहा ! साँच्चै सुन्दर ।

हावाहुरी चलेपछि पहिरो खसेर बाटो अवरुद्ध होला भन्ने डरले पनि त्यहाँबाट फर्किहाल्नुपर्ने रहेछ । त्यहाँबाट देखिने हिमालको सौन्दर्यलाई क्यामेरामा मात्रै समेट्न नसकेर हृदयभरि खिचेर फर्कियौँ । पाँच घण्टा लगाएर उक्लिएको बाटो करिब दुई घण्टामै ओर्लिन सकिने रहेछ । विभिन्न किसिमका कठिनाइलाई चिरेर भए पनि तिलिचो पुगेर आउने धोको पूर्ण भयो । 

खोटाङको यात्रामा जाँदा होस्, वा पूर्वी नेपालका विभिन्न क्षेत्र र सुदूरपश्चिमका विभिन्न जिल्लाको यात्रामा जाँदा होस्, त्यहाँका स्थानीय भाका, गीत र लयले ध्यान तानेजस्ता गीत र भाका यहाँ भेटिएनन् । मनाङका स्थानीय रङ र भौगोलिकता तथा तिलिचोको सुन्दरतालाई समेटेर गीत लेखिएको भए र गाइएको भए यहाँ आउँदा त्यही गीतसँग रमाउँदै स्मरणमा समेत लिएर पर्यटकहरू फर्कने थिए भन्ने लागिरह्यो । यति मात्र होइन, ठाउँठाउँमा प्राथमिक उपचार तथा अवरुद्ध बाटो खुलाउनका लागि तत्पर उद्धारकर्ताको व्यवस्थापनतर्फ पनि स्थानीय तहको ध्यान खिचिनुपर्ने देखियो । विदेशी र स्वदेशी पर्यटकका बिचमा गरिने व्यवहारमा समानता र स्थानीयपनको जगेर्नाप्रतिको सचेतता यस क्षेत्रले ध्यान दिनुपर्ने विशेष पक्ष हो । 

स्वर्ग समान सुन्दर प्रकृतिको देन पाएको नेपाललाई विश्वसामु चिनाउने विश्वकै सर्वोच्च स्थानमा रहेको तिलिचो ताल हाम्रो सम्पत्ति हो । यसको उचित संरक्षण र पर्यटकीय स्थलका रूपमा विश्वसामु प्रचारप्रसारमा पनि सरकारी निकायको ध्यान जानु जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप