आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. कौशिला रिसालका तीन कविता

शनिबार, २४ कात्तिक २०८१, १७ : २६
शनिबार, २४ कात्तिक २०८१

१) सम्बोधन 

मलाई पानी भने भन
अविरल बग्छु, आफ्नै गतिमा 
किनारसँग साटेर दुःखसुख 
बाँधिन्न एउटै परिधिमा
हिँड्नु छ गन्तव्यको यात्रा 
टिप्नु छ पहेँलो  गुनकेशरी
सिउरनु छ शिरमा एक थुङ्गो खुसी । 

साहस या हिम्मत जे भन
चट्टानसँग खेल्दै 
सुन्दर कलाभित्र देशलाई सजाउँछु 
मुटु हत्केलामा राखेर 
धड्कनभित्र लुकाउँछु राष्ट्रियता । 

हावा भने भन
बेस्सरी सुसाउँछु प्रतिस्पर्धाको मैदानमा
आवश्यकता अनुसार पवन बन्छु
बतास हुन्छु, आँधी हुन्छु 
बेस्सरी हिर्काउँछु अन्यायको गालामा । 

मलाई आगो भने पनि हुन्छ
फलामलाई गलाउने शक्ति छ
मसाल बाल्ने तागत छ
पृथ्वी भने पनि हुन्छ
अन्यायको विरुद्ध ज्वालामुखी बनेर 
विस्फोट हुन्छु
आकाश भने पनि हुन्छ
मभित्र विद्रोहको चट्याङ गर्जन्छ ।

स्वाभिमान बोकेको एक मानिस 
हुरी भने पनि
आगो भने पनि
आकाश, पृथ्वी, पानी 
जे भने पनि 
मेरो आफ्नै विचार छ 
म विवेकमा चल्ने 
मानिस हुँ ।
००
२) जीवनको गणित 

आफन्तसँगै छुट्न सक्छन् 
खुसीका कोपिलाहरू 
साथीभाइसँगै छोडिन सक्छन् 
आत्मीय पलहरू
शरीरमा जतनले पहिरिएको कपडाजस्तै
सम्हालेर आफ्नो होस
त्यतिबेला गाउँदै हिँड्नु आत्मविश्वासको गीत । 

उक्लिएकै बाटोबाट सजिलो छैन झर्न
ज्ञानको बैसाखी टेकेर
हिँडिरहनु समयको राजमार्ग
केही न केही सिक्नका लागि 
जिन्दगीको हतासोले बुनिरहनु 
गुन्द्रीजस्ता सयौँ सपना 
जीवनमा हुर्काइरहनू विश्वासको बिरुवा । 

छुट्टिनु त केवल
एउटा सरल रेखाबाट
बाटो विभाजित हुनु हो 
जिन्दगीको अनगिन्ती यात्रामध्येको
एक फट्को नापो हो
नयाँ यात्राको अनुभूति हो 
आउने, जाने, देखिने, भेटिने र छेकिने
हजारौँ  क्रियासँग 
दर्जनौँपटक साक्षात्कार गर्दै
रङहरूको उत्सव मनाउनु
प्रत्येक पल नयाँ हुनु हो
जिन्दगी बाँचेको आभास हुनु हो । 

जीवनको गणितमा 
एउटै फर्मुला कहाँ हुन्छ र ? 
छुट्टिनु अन्त्य हुनु होइन 
जस्तो कि नदीले बगरसँग छुट्टिएरै समुद्र भेट्छ । 
००

३) अहम्‌मन्य

अहम्ले चुलिएपछि 
मान्छे पोखिँदो रहेछ
आवेगका शब्दहरूमा
क्रोधको अग्निमा जलेर 
आदर्शको हुँकार खोक्दै
प्राज्ञिकताको पिर्कामा उभिएर
अभिनय गर्दाे रहेछ अग्लिएको र 
फलाक्दो रहेछ फोस्रा डाइलग । 

एकैछिन तातो चुलोमा 
सेकिन पाएपछि 
बिर्सेर मर्यादा
रुन्चे बिरालोले झैँ
गर्जन्छ बाघको गर्जन । 

ओहदा भुलेर
वास्तविकता ढाँटेर
सम्मानको भोकमा
विनासङ्गीत चाकडीको
आलाप गाउँदै
अज्ञानताको सनही फुक्दा 
ओठबाट निस्केको
पायरियाको गन्ध पखाल्न
ओकल्छ मुखबाट लोभको जहरिलो पानी  । 

शून्यबाट उक्लिएको 
समयको बहिखातामा
नाफाको प्रतिफल खोज्दै
हारिरहेको हुन्छ
क्यालकुलेटरमा
गणितको सूत्रसँग
र पनि बुझ्दैन
हिसाबमा जोड र गुणा मात्रै हुन्न
घटाउ र भाग पनि सँगै हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. कौशिला रिसाल
डा. कौशिला रिसाल
लेखकबाट थप