बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

हवाई भाडा वृद्धिबारे नाटाकी महासचिवको स्पष्टोक्ति : ट्राभल एजेन्सी कहिले पनि कमिसनको खेलमा छैन

शनिबार, २४ कात्तिक २०८१, १७ : २४
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नाटा (नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स) नाटाकी केन्द्रीय महासचिव युविका भण्डारीले आफूहरू कहिले पनि कमिसनको खेलमा नरहेको बताएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एयरलाइन्सहरूले ट्राभल एजेन्सीलाई कुनै पनि कमिसन नदिने र हवाई भाडा बढ्नुमा आफूहरूको संलग्नता नरहेको बताएकी हुन् । 

‘हामी ट्राभल एजेन्सीहरूको काम एयरलाइन्सको टिकट उपभोक्तालाई पठाउने हो । नेपाल चाहिँ एक्लो एउटा देश होला जहाँ ट्राभल एजेन्सीले टिकट बेच्दा खेरी शून्य कमिसन पाउँछ । अरू देशहरूमा ९ प्रतिशत, ७ प्रतिशत छ भने नेपालको सन्दर्भमा ट्राभल एजेन्सीलाई कुनै पनि एयरलाइन्सले कमिसन दिँदैन । ट्राभल एजेन्सी कमिसनको खेलमा कहिले पनि छैन,’– उनले भनिन् । 

उनले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसक्दा पनि अहिले भाडा महँगो बनेको बताइन् । नाटाले यसअघि नै अहिलेको अवस्था आउन सक्छ भनेर खबरदारी गरे पनि सरकारले नसुनेको गुनासो गरिन् । 

‘यस्तो महँगो हुन्छ है भनेर नाटाले खबरदारी चाहिँ गर्दै आएको हो । हामीले क्यान र पर्यटन मन्त्रालयलाई पनि खबरदारी गर्दै आइरहेका थियौँ । यो हामीले भन्दाखेरी पनि यसको सुनुवाइ भएन,’– उनले भनिन् । 

नाटाकी महासचिव भण्डारीका अनुसार पहिले डेढ लाखमा पाइने हवाई टिकटको मूल्य अहिले ३ लाखसम्म भएको छ । भारतको नयाँ दिल्लीको एकतर्फी टिकट ७२ हजार रहेको छ । 

‘पहिले डेढ लाखमा पाउने टिकट ३ लाख भएको छ । दिल्लीको वान वे टिकट पहिला ८ हजारसम्म पनि आउने थियो । अहिले ७२ हजारसम्म पुगेको छ । यसले हाम्रो पर्यटनलाई नै नकारात्मक प्रभाव पारेको छ । टिकटको मूल्य बढ्यो भने ट्राभल एजेन्सीहरू कहिले पनि खुसी हुँदैन,’– उनले भनिन् । 

उनले देशले अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा रहेको पर्यटनको बारेमा कहिले पनि सोच्न नसकेको उनको टिप्पणी छ । उनले सरकारले चाहेको खण्डमा हवाई टिकटको मूल्य घटाउन सकिने बताइन् । अहिलेको हवाई भाडा सान्दर्भिक नरहेको उनको टिप्पणी छ । महासचिव भण्डारीले क्यान, पर्यटन विभाग, पर्यटन मन्त्रालयलगायतका निकायले हवाई भाडाबारे नियमन र नियन्त्रण गर्नुपर्ने बताइन् । 

‘सरकारले मूल्यलाई घटाउन सक्छ । किनभने एक घण्टाको फ्लाइटलाई २७ हजार लिनु भनेको अलिकति पनि लजिकल देखिँदैन,’– उनले भनिन् । 

हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको छ । स्तरोन्नतिको कामसँगै हवाई उडान ३५ प्रतिशतले कटौती हुँदा अन्तर्राष्ट्रिय हवाई उड्डयन कम्पनीहरूले अचाक्ली भाडा बढाएका छन् । दैनिक १० घण्टासम्म उडान कटौती हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप