३८४ वर्षसम्म निरन्तर चलिरहेको लोकनाच, जसले मानिसलाई बाठो र साँचो बुझ्ने बनाउने कथा भन्छ
‘ए बाजे ! कुकुर डोर्याएर कता हिँडेको ?’ तीन दाजुभाइमध्येको समाँदाजुले सोध्छन् ।
बोका डोर्याएर हिँडिरहेका ब्राह्मण झसंग हुन्छन् । उनलाई लाग्छ— कतै कुकुर नै डोर्याइरहेको त छैन ! आफूले डोर्याएको बोकालाई हेर्दै उनले भन्छन्, ‘‘कुकुर होइन, बोका हो ।’
एकछिनपछि अर्को भाइ (गँदाजु) गएर त्यही भन्छन् । ब्राह्मणले पनि कुकुर नभई बोका भएको जिकिर गर्छन् ।
अन्तिममा बाथः किजा (बाठो भाइ) गएर उही कुरा दोहोर्याउँछन्, ‘ए बाजे, कुकुर डोर्याएर कता हिँडेको ?’
तीनजनाले कुकुर भनेपछि ब्राह्मणले पनि कुकुर नै होला भनेर बोकालाई छाडेर जान्छ । यसरी तीन भाइले सल्लाहमा बठ्याइँ गरेर बोका हात पार्छन् ।
उनीहरूबिच छलफल हुन्छ र निष्कर्ष निकाल्छन्— ठगेर लिएको बोका त्यत्तिकै खान हुँदैन, पाप लाग्छ । भीमसेनको पूजा गरेर खाए केही हुँदैन ।
किसानकी पत्नीले आफ्नो प्रेमीलाई सुकुलमा बेरेर लुकाउँछिन् । यो पनि तीन दाजुभाइले देखेका हुन्छन् । उनीहरूलाई लाग्छ, यी दुवैलाई यस्तो अनैतिक सम्बन्ध राख्न दिनु हुँदैन, यसले किसानको घर बिग्रन्छ ।
त्यसपछि उनीहरूले भीमसेनको पूजा गरेर बोकाको बलि चढाउँछन्, अनि भोजको तयारी हुन्छ । नेवार समुदायमा बोकाको टाउकोको विभिन्न भाग जेठो दाजुले खाने चलन हुन्छ । त्यो खानका लागि त्यहाँ तीन दाजुभाइबिच विवाद हुन्छ, किनकि ‘सबैले म जेठो हुँ’ भनेर दाबी गर्छन् । को जेठो भन्ने विवाद मिलाउन कृष्णद्वार जाने सल्लाह हुन्छ ।
सबै कुरा बुझेपछि कृष्णद्वारका कोतवालले तीनैजना दाजुभाइको उमेर सोध्छन् र उमेरको प्रमाणमा चिना माग्छन् । तीनैजनासँग चिना थिएन । त्यसपछि कोतवालले भन्छन्, ‘त्यसो भए तिमीहरू प्रत्येकले आफू कसरी जेठो भएँ भनी बताऊ ।’
गँदाजुले भन्छन्, ‘म सूर्य जन्मेको दिन जन्मेको हो ।’
समाँदाजुले भन्छन्, ‘सूर्य जन्मँदा म घँघला लगाएर हिँड्ने भइसकेको थिएँ ।’
अन्त्यमा बाथः किजाले भन्छन्, ‘सूर्य जन्मने बेला घँघला लगाएर हिँड्ने मेरो नाति मरेको थियो ।’
कोतवालले बाथः किजा नै सबैभन्दा जेठो भएको फैसला गर्छन् ।
यसरी बाठो भाइले बोकाको टाउको खान्छ ।
ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडिको डबलीमा शुक्रबार यही कथा–भावको लोकनाटक र नृत्य देखाइयो, जसलाई कार्तिक नाच (नेवारीमा काती/कात्ती प्याँख) भनिन्छ ।
यो नाच पाटनस्थित डबलीमा हरेक वर्ष कार्तिक महिनामा देखाइन्छ । तीन सय ८४ वर्षसम्म निरन्तर चलिरहेको रहेको कार्तिक नाचमा विभिन्न कथामा आधारित नाचहरू छन् । जसले मानिसलाई धर्मकर्म गर्न, बाठो हुन, लोभलालच त्याग्न, छोरीचेली र पत्नीको ख्याल राख्न सिकाउँछन् ।
उपरोक्त कथाले यही सन्देश दिएको अनुमान गर्न सकिन्छ कि मानिस बाठो हुनुपर्छ, संसार बाठाकै हो । यद्यपि बाठाहरूले झुटलाई दोहोर्याएर सत्यलाई छोपिरहेका छन् भन्ने बुझ्न सक्नुपर्छ । जुन बोध यो लोकनाटक हेर्नेले अवश्य नै गर्नेछन् ।
- तीन सय ८४ वर्षको इतिहास
सत्यमोहन जोशीको पुस्तक ‘ललितपुर र कार्तिक नाचको पृष्ठभूमि’ अनुसार, कार्र्तिक नाच तीनवटा राजाहरूको पालामा विकास भएको हो ।
सुरुमा साता दिन देखाइने यो नाच अन्ततः विभिन्न कथा र प्रसंग जोड्दै महिना दिनको बनाइयो । महिना दिनसम्म देखाउँदा कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइन्थ्यो । कार्तिक महिनामा देखाइने भएकाले यसलाई ‘कार्तिक नाच’ भनिएको हो । नेवार भाषामा प्याखँ शब्दले नाच र नाटक दुवैलाई समेट्छ ।
जोशीका अनुसार, राजा सिद्धिनरसिंह मल्लले मंगलबजारमा कृष्ण मन्दिरको विधिपूर्वक प्रतिष्ठा गरी कोद्याहुति यज्ञ गरेलगत्तै कार्तिक नाचको परम्परा सुरु भएको हो ।
सिद्धिनरसिंहले नेपाल संवत् ७६१ देखि कृष्ण मन्दिरछेउको डबलीमा प्रत्येक दिन एक–एक नयाँ लीला देखाउने गरी सातादिनसम्म कार्तिक नाच नचाउने परम्परा बसालेको लोककथन छ ।
सिद्धिनरसिंहका दुई गुरु थिए— हरिवंश राजोपाध्याय (विद्या गुरु) र विश्वनाथथ राजोपाध्याय (मन्त्र गुरु) ।
‘कार्तिक नाचको सिर्जनामा विद्या गुरु हरिवंश राजोपाध्यायकै प्रमुख भूमिका थियो भन्ने कथन ‘नृपविनोद काव्य’मा पाइन्छ,’ जोशीले उपरोक्त पुस्तकमा लेखेका छन् ।
पछि (नेपाल संवत् ७८७ मा) राजा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवास मल्लले यस नाचलाई दुई साता देखाउने थिति बसाए ।
नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका सुपुत्र योगनरेन्द्र मल्लले यस नाचमा नयाँ कथानक भएका नाच तथा लोकनाटक थपे र महिनाभरि नचाउने थिति बसाए ।
नेपाल संवत् १०७० (वि.सं. २००७) अघिसम्म प्रत्येक दिन नयाँ नाटक तथा नृत्य समावेश गरी महिना दिनसम्म नचाउने परम्परा थियो । यसको सम्पूर्ण व्यवस्थापन स्थानीय छेभडेल अड्डाबाट हुने गथ्र्यो ।
जोशीका अनुसार, महिना दिनसम्म सञ्चालन हुँदा यो नाचमा सहभागी कलाकार (गायक, वाद्यवादक, नृत्य र नाटकका कलाकारहरू आदि)को संख्या २८० सम्म पुगेको लोककथन छ । २००६ सालसम्म यो नाच महिना दिन नै नचाइन्थ्यो । २००७ सालको जनक्रान्तिका बेला र त्यसपछिका केही वर्ष यो नाचमा शिथिलता देखापर्यो । त्यतिबेला वराह अवतार र नरसिंह अवतारको शास्त्रीय नृत्य मात्रै प्र्रदर्शन गरिएको थियो ।
नेपाल संवत् ११०१ (वि.सं. २०३८)मा ‘कार्तिक नाच प्रबन्ध समिति’ गठन भएपछि हाल यो कार्तिक नाच कुनै वर्ष आठ दिन र कुनै वर्ष १० दिनसम्म चल्ने गरेको छ ।
ने.सं. ७६१ देखि सुरु भएको यो नाचले आज (ने. सं. ११४५) सम्म आइपुग्दा ३८४ वर्ष लामो यात्रा गरेको छ । यसपालि ‘कार्तिक नाच संरक्षण समिति’ले दश दिन (कार्तिक २१ देखि ३० सम्म अर्थात् कार्तिक शुक्ल पञ्चमी तिथिदेखि कार्तिक शुक्ल पूर्णिमासम्म) देखाउने भएको छ ।
- के–कस्ता लोकनाच र लोकनाटक ?
राजा सिद्धिनरसिंहले सुरु गर्दा यो नाचमा सुरदासको कथा, सुदामाको कथा, बराह अवतार र नरसिंह अवतारका कथासँगै उन्नत शास्त्रीय नृत्य प्रस्तुत गरिने जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
उनले नाचमा बाःथः प्याँख (बाठा मानिसहरूको लोकनाटक) को नयाँ सिर्जना पनि थपिदिए । यी राजा स्वयं पनि लोकनाटकमा यले बाःथः (ललितपुरको बाठा मान्छे) भएर लोकमनोरञ्जन गर्थे भन्ने लोककथन छ ।
यस्तै, योगनरेन्द्रले यस नाचलाई महिनाभरि नचाउने थिति बसाल्दा माधवानल ब्राह्मण, उषाहरण इत्यादि कथा थपेका थिए ।
मानिस बाठो हुनुपर्छ, संसार बाठाकै हो । यद्यपि बाठाहरूले झुटलाई दोहोर्याएर सत्यलाई छोपिरहेका छन् भन्ने बुझ्न सक्नुपर्छ । जुन बोध यो लोकनाटक हेर्नेले अवश्य नै गर्नेछन् ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारसँग यो पंक्तिकारले १० भदौ २०७७ मा अन्तर्वार्ता लिएको थियो । त्यतिबेला उनले महिना दिनसम्म चल्ने कार्तिक नाच १७ वटा कथावस्तुमा आधारित हुने बताएका थिए ।
अध्यक्ष चित्रकारका अनुसार, कार्तिक नाच प्रस्तुत गर्दा बाजा, गायन, संवाद (जुन कथामा आधारित हुन्छन्) को प्रयोग गरिएको हुन्छ । ‘पाका मानिसले भने अनुसार सुरुमा कार्तिक नाचका सबै नाचमा संवाद अनिवार्य थियो । बिचमा आएर संवाद बोल्न छाडियो । किनभने, सुरुमा यस नाचमा मैथिली भाषाबाट संवाद बोलिन्थ्यो,’ अध्यक्ष चित्रकार भन्छन्, ‘बिचमा मैथिली भाषा जान्ने कलाकारको कमीसँगै संवाद छुट्दै गयो । पछि नेवार समुदायले मात्रै यस नाचलाई प्रस्तुत गर्ने भएसँगै संवादलाई नेवारीमा अनुवाद गरियो ।’
कार्तिक नाचका १७ वटा अधिकांश कथा पौराणिक पात्र र घटनासँग सम्बन्धित छन् । बाथः प्याखँ (बाठो मान्छेको नाच) अन्तर्गतका सातवटा कथा भने उपत्यकाको जनजीवनसँग जोडिएको छ । केही कथा यहाँ प्रस्तु गरिनेछ ।
- सुरदासको कथा र किंंवदन्ती
कार्तिक नाचका १७ वटा कथामध्ये एउटा कथा सुरदास नामक पात्रमा आधारित छ । यस कथामा सांसारिक मायामोह, लोभ–लालचबाट पर रहँदा नै जीवन सुखमय हुन्छ भन्ने सन्देश लुकेको छ । यो नाचमा संवाद, अभिनय, गीत, बाजागाजा पनि आउँछन् ।
किंवदन्ती भन्छ— सुरदास नाम गरेका एक व्यक्ति भगवान् कृष्णका भक्त थिए । दृष्टिविहीन सुरदासले सधैँ कृष्णको भजन गाउँथेँ, कृष्णको महिमाका कथा अरुलाई सुनाउँथे ।
सुरदासका दुई सेवक पनि थिए । एक दिन बाटोमा हिँड्दै गर्दा सेवकहरूले सुरदासलाई दरबार, बस्ती, मन्दिरहरू, नदीनाला, खेतबारी, वन आदिका बारेमा वर्णन गरेर सुरदासलाई सुनाए । सुरदासलाई संसार देख्ने लालस पलायो । उनका सेवकले भन्छन्, ‘तपाईं त कृष्ण भगवानको ठुलो भक्त हुनुहुन्छ, उहाँको मित्र पनि हुनुहुन्छ । तपाईंले बिन्ती गर्ने हो भने कृष्णले तपाईंलाई दृष्टि दिन सक्नुहुन्छ ।’
त्यसपछि सुरदास कृष्णको महलतिर जान्छन् । कृष्णसँग उनको वार्तालाप हुन्छ । सुरदासले आफूलाई संसार हेर्ने इच्छा भएको बिन्ती बिसाउँछन् । आफ्नो भक्तको बिन्तीलाई कृष्णले सहजै स्वीकार गर्छन् र दृष्टि दिएर पठाउँछन् ।
आँखा नदेख्दासम्म सुरदासमा त्यति धेरै लोभ थिएन । जब उनले संसार देखे, उनीमा लोभ–लालच पलाउन थाल्छ । यो थाहा पाएर कृष्णले एउटी अप्सरा पठाउँछन्, सुरदासको परीक्षा लिन । कृष्णको परीक्षामा सुरदास अनुत्तीर्ण हुन्छन् । किनभने, उनी अप्सराको रूपरंग देखेर मोहित भएका हुन्छन् । कृष्णभक्तिकै कारण उनीमा सांसारिक मायामोह हटेको थियो । जब उनी सांसारिक मायामोहमा फस्न थाले, उनको जीवन दुःखमय बन्दै गयो ।
एक दिन सुरदासले आफ्नैबारेमा सोच्न थाले । पहिले आँखा नदेख्दा आफूमा कुनै लोभलालच र माया मोह नभएको तर आँखा देख्न थालेदेखि सांसारिकमा मायामोहमा फस्दै गएर दुःख थपिएको उनले महसुस गरे । उनी निष्कर्षमा पुगे– मलाई ज्ञानचक्षु भए पुग्छ, यो चर्मचक्षु चाहिँदैन । यो चर्मचक्षुले मलाई भ्रमित गरेको रहेछ ।
उनी कृष्णको दरबारमा गएर भने, ‘प्रभु मलाई दृष्टिविहीन नै बनाइदिनुस्, मलाई ज्ञानचक्षु दिनुस्, म त्यही अवस्थामा ठिक छु, यो चर्मचक्षुले मलाई भ्रमित गरायो ।’
कृष्णले उनलाई पहिलेकै अवस्थामा फर्काउँछन् र यो कथा सकिन्छ ।
यसको पाठ हो— सबैभन्दा ठुलो ज्ञान हो । बाहिरी संसार र मायामोह क्षणिक छ ।
- च्वले खुदाँ–दाँ खुदाँ (बाख्राको ६ दाम, पैसा ६ दाम)
एक दिन तीन दाजुभाइ (समाँदाजु, गँदाजु, बाथः किजा) हिँड्दाहिँड्दै भोकाउँछन् । बाटोमा उनीहरूले एउटी महिलाले बाख्रा बेच्न बसेको देख्छन् । महिलासँग दुईवटा बाख्रा थिए । बाथः किजा बाख्रा किन्न जान्छन् । महिलाले सानो बाख्राको मूल्य ६ दाम र ठुलो बाख्राको मूल्य १२ दाम भन्छिन् ।
बाथः किजाले ६ दाम दिएर सानो बाख्रा किन्छ । बाख्रा किनेर ऊ केही पर पुगेर फेरि फर्कन्छ र महिलालाई भन्छ, ‘मैले तपाईंलाई अघि ६ दाम दिएको छु । अब यो ६ दामको सानो बाख्रा तपाईं राख्नुस्, अघि दिएको ६ दाम र यो सानो बाख्राको ६ दाम गरेर १२ दाम हुन्छ, अनि मलाई ठुलो बाख्रा दिनुस् ।’
महिलाले यसो गमेर ‘कुरा ठिकै हो’ भन्ठान्छिन् । उनले सानो बाख्रा राखेर ठुलो बाख्रा बाथः किजालाई दिएर पठाउँछिन् । केवल ६ दाम दिएर ठुलो बाख्रा किन्न बाथः किजा सफल हुन्छ ।
ती महिलाका श्रीमान् आएर हिसाब गर्दा १२ दाम घाटा भएको थाहा पाउँछन् । त्यसपछि ती महिलाका पति आफ्नी पत्नीलाई ठग्ने मानिसको खोजीमा लाग्छन् । उनले बाटोमा बाथः किजाका दाजुभाइलाई भेटेर आफ्नो बाख्रा मागे । बाथः किजाले बाख्रा नदिएपछि झगडा मिलाउन कृष्णद्वारमा जाने निधो गरिन्छ ।
कृष्णद्वार जानुअघि बाथः किजाले बाख्रा मालिकसँग भन्छ, ‘मेरा दुई दाजुसँग ओढ्ने लुगा छ, तर मेरो छैन । तिमीले आफ्नो ओढ्ने दिन्छौ भने जान्छु ।’
बाख्रा मालिकसँग पनि दुईवटा ओढ्ने थिएन । उसले आफ्नो एउटा ओढ्ने दुवैजनाले ओढेर जाने प्रस्ताव गर्छ । बाथः किजा त्यस प्रस्तावमा सहमत भएपछि उनीहरू कृष्णद्वार पुग्छन् ।
कृष्णद्वार पुगेपछि कोतवालको अगाडि बाथः किजाले भन्छ, ‘हामी तीनजना दाजुभाइ एउटा पाटीमा ओढ्ने ओढेर सुतिरहेका थियौँ । यो मान्छेले मेरो ओढ्ने चोरेर हिँडेछ । खोज्दै जाँदा यो मान्छेलाई भेट्यौँ । आफ्नो ओढ्ने चिनेर माग्दा पनि दिँदैन । त्यसैले यही झगडा मिलाउन यहाँ आएका हौँ ।’
दुई दाजुभाइसँग ओढ्ने हुने, भाइसँग नहुने, यस्तो त हुनुनपर्ने । फेरि तिनैजना दाजुभाइले ओढ्ने हाम्रो हो भनेका छन् । त्यसैले कोतवालाले ओढ्ने बाथः किजाकै भएको फैसला गर्छन् ।
कहाँ बाख्र्र्राको दामको कुरा गर्न गएको, ओढ्नेको कुरा हुन्छ । चलाख बाथः किजाले कुरा घुमाएर ओढ्ने पनि आफ्नो बनाउँछ ।
यो कथामा चलाख मान्छेले सोझो मान्छेलाई कसरी ठग्छ भन्ने देखाइएको छ ।
- ल्यवःलाय्गु (पत्नीको प्रेमी पक्रने कथा)
एक दिन तीन दाजुभाइ (समाँदाजु, गँदाजु र बाथः किजा) घुम्दै जाँदा बाटैमा रात पर्छ । उनीहरू एउटा घरमा बास माग्न पुग्छन् । अर्को समस्या हुन्छ, त्यहाँ गएर के भनेर बास माग्ने ! सबैले सल्लाह गरेर उक्ति निकाल्छन्– त्यहाँको घरमूलीलाई मामा नाता लगाएर कुरा गरौँ ।
सल्लाह अनुसार उनीहरू एउटा किसानको घरमा जान्छन् र घरमूलीलाई मामा नाता लगाउँछन् । सुरुमा त किसानले खोजीनिती गर्छन् । तीन दाजुभाइले कताकता जेलिएको नाताको कुरा गर्दै आफूहरू भान्जा पर्ने बताउँछन् । ‘हजुरका भान्जाहरू हौँ’ भनेपछि अन्ततः घरमूलीले उनीहरूलाई मानमनितो दिएर राख्छन् ।
घरमूली किसान दिनरात खेतीको अवस्था बुझ्न, पानी लगाउन जाने गर्दा रहेछन् । यता, श्रीमान्को आँखा छलेर ती किसानकी पत्नीले अर्कैसँग अनैतिक सम्बन्ध गाँसेकी थिइन् । त्यस रात पनि किसान घरबाट निस्केलगत्तै उनकी पत्नीको प्रेमी खुसुक्क आइपुग्यो । यो कुरा तीन दाजुभाइले थाहा पाए ।
पाहुनाले थाहा पाएपछि किसानकी पत्नीले आफ्नो प्रेमीलाई सुकुलमा बेरेर लुकाउँछिन् । यो पनि तीन दाजुभाइले देखेका हुन्छन् । उनीहरूलाई लाग्छ, यी दुवैलाई यस्तो अनैतिक सम्बन्ध राख्न दिनु हुँदैन, यसले किसानको घर बिग्रन्छ ।
उनीहरूले गोप्य रूपमा सल्लाह गर्छन्— किसानकी पत्नीको प्रेमीलाई कसैले थाहा नपाउने गरी कारबाही गर्नुपर्छ, ताकि उसले आइन्दा किसानकी पत्नीसँग अनैतिक सम्बन्ध राख्ने कुरा सोच्न पनि नसकोस् ।
यत्तिकैमा उज्यालो हुन लाग्छ । खेतमा गएका किसान घरमा फर्कन्छन् । तीन दाजुभाइले भन्छन्, ‘मामा, अब हामी फर्कन्छौँ । हिँड्दै जाँदा बाटोमा सुत्नुपर्छ, हामीलाई तपाईंको यो चाहिँ सुकुल दिनुस् ।’ उनीहरूले नजिकै ठड्याएर राखेको सुकुललाई संकेत गर्छन्, जहाँ किसानकी पत्नीले आफ्नो प्रेमीलाई लुकाएकी थिइन् ।
त्यसपछि किसानकी पत्नी आत्तिँदै बोल्छिन्, ‘त्यो होइन, त्योभन्दा राम्रो अर्को छ, म झिकिदिन्छु ।’
भान्जाहरूले भन्छन्, ‘बाटोमा जहाँ पायो त्यहीँ ओछ्यानुपर्छ, यही ठिक छ, यही लैजान्छौँ ।’
भान्जाहरूले जिद्दी गरेपछि किसानले त्यही लैजाऊ भन्छन् । त्यसपछि उनीहरू सुकुल बोकेर बाटो लाग्छन् । बाटोमा सुकुललाई बजार्ने र लाठीले पिट्ने गरिरहेका हुन्छन् ।
यता किसानकी पत्नीले आफ्नो प्रेमीलाई जोगाउने जुक्ति लगाउँछिन् । उनले एक व्यापारीलाई पैसा दिएर भन्छिन्, ‘जाऊ, जसरी पनि त्यो सुकुल किनेर ल्याऊ ।’
धेरै पैसा पाएपछि तीन दाजुभाइले व्यापारीलाई सुकुल बेचिदिन्छन् । उनीहरूलाई सुकुल कसले किन्न पठाएको भन्ने थाहा हुन्छ । त्यसैले उनीहरू किसानकै घरमा फर्कन्छन् र किसानलाई भन्छन्, ‘मामा, राम्रो दाम पाएकाले हामीले तपाईंले दिएको सुकुल बेच्यौँ । सुकुल बेचेको पैसा मामालाई नै भोज खुवाऊँ भनेर आएको । ल तपाईंका आफन्त जो जो छन्, बोलाउनुस् । सबैलाई भोज खुवाउनुपर्छ ।’
किसानले भन्छन्m ‘मेरो कोही छैन, तिमीहरू नै हो मलाई मामा भनेर आएको, तिमीहरू खाऊ ।’
उनीहरूले किसानकी पत्नीलाई भन्छन्, ‘माइजु ! तपाईंको त कोही होला, बोलाउनुस् ।’ उनले पनि ‘मेरो कोही छैन’ भन्छिन् । भान्जाहरूले ‘कोही त होला, बोलाउनुस्’ भनेर जोड गर्छन् ।
भोलिपल्ट भोज हुन्छ, वरपरका मान्छेहरू आउँछन् । लुक्दै किसानकी पत्नीको प्रेमी पनि आइपुग्छ ।
उनीहरूले चिउरा दिने बेला ‘हिजो मामा नभएको बेला माइजूलाई भेट्न आउने तैँ होइनस्’ भनेर सानो स्वरमा भन्छन् । उसले ‘होइन’ भनेर टाउको हल्लाउँछ । चिउरा दिनेले ठुलो स्वरमा सबैले सुन्ने गरी भन्छ, ‘ल, चिउरा नखाने ?’
फेरि मासु थप्नेले पनि सानो स्वरमा ‘हिजो सुकुलभित्र कुटाइ खाने तैँ होइनस् ?’ भन्छ ।
उसले ‘होइन’ भन्ने भावमा टाउको हल्लाउँछ । अनि मासु थप्नेले ठुलो स्वरमा भन्छ, ‘मासु पनि नखाने ?’
यसरी तीन दाजुभाइले त्यस किसानकी पत्नीसँग हिँड्ने पुरुषलाई भोजको सट्टा अनेक भनेर मानसिक यातना दिन्छन् ।
तर, उनीहरूलाई मनमनै लागिसकेको हुन्छ– जति गरे पनि यो महिलाले आफ्नो प्रेमीलाई छाड्न नसक्ने रहेछ ! सुकुलमा बेरेर कुट्दा पनि छुटाउन आइन्, भोजमा बोलाइन् । यही चाल हो भने यो किसानको घरबार राम्रो हुँदैन । त्यसैले उनीहरूले हिँड्ने बेलामा किसानलाई भन्छन्, ‘तपाईंकी पत्नीको चाला ठिक छैन । हामीले अनेक कोसिस गर्दा पनि यिनीहरूलाई छुटाउन सकेनौँ । विचार गर्नुस् ।’
किसानले पत्नीसँग सम्बन्ध–विच्छेद गर्छन् । यसरी एउटा सोझो किसानले सम्बन्धका कारण धेरै तनाव लिनुपर्दैन । यस कथाले सम्बन्ध–विच्छेद गर्न पाउने हकलाई पनि उजागर गरेको छ ।
- माकःसि मियेगु (कानको मुन्द्रा बेच्दा)
एक दिन तीन दाजुभाइ घुम्दै जाँदा बाथः किजा निकै भोकाउँछ । उसले दाजुहरूसँग खानेकुरा माग्छ । उसलाई दाजुहरूले उडिरहेको चिल खसालेर खुवाउँछन्, तैपनि उसले भोक लाग्यो भन्न छाड्दैन ।
हिँड्दै उनीहरू एउटा पसल भएको ठाउँमा पुग्छन् । उनीहरूलाई आफ्नी आमाले दुइटा सुनको गहना कानको कुण्डल (नेवारीमा माकःसि) दिएकी हुन्छन्— खर्च नभएर आपत् आइलागे बेच्नु, नत्र साँचेर राख्नु भनेर । भाइले भोक लाग्यो भनेर जिद्दी गरेपछि दाजुहरूले त्यस गहनालाई बेच्ने निधो गर्छन् । पसलमा गहना बेच्न दाजुहरूले भाइ बाथः किजालाई पठाउँछन् ।
बाथः किजा गहना बेच्न पसलमा जान्छ, दाजुहरू वरै बस्छन् । पसलमा पुगेर बाथः किजाले पसलेसँग आफ्ना दुई नोकरलाई किन्न आग्रह गर्छ । उसले भन्छ, ‘म व्यापार गर्दै हिँड्ने मान्छे हुँ । अहिले व्यापार बिग्रियो । मसँग दुईजना नोकर छन्, व्यापार नभएपछि अब तिनको के काम भयो र ? त्यसैले तिनीहरूलाई तपाईंले किन्नुपर्यो । पैसा जति दिए पनि हुन्छ ।’
पसलेले भन्छ, ‘उनीहरू मान्छन् त मसँग बस्न ?’
बाथः किजाले ‘मान्छन्’ भन्छ ।
‘तैपनि एकपटक सोधी हेरौँ न,’ पसलेले मनको शंंका दूर गर्न चाहन्छ ।
दाजुहरू परै भएकाले बाथः किजाले औँला देखाएर इसारामा सोध्छ । उसले एकपटक एउटा औँला र अर्कोपटक दुइटा औँला देखाउँछ ।
बाथः किजाले एउटा गहना बेच्ने भनेर आएको हुन्छ । एउटा गहनाको कम दाम आयो भने मात्र अर्को बेच्ने कुरा भएको थियो ।
भाइले औँला देखाउँदा दाजुहरूले ‘एउटा बेचौँ कि दुइटा ?’ भनेर सोधेझैँ मान्छन् । त्यसैले उनीहरूले उताबाट ‘एउटा बेच्नू’ भन्ने संंकेतस्वरूप एउटा औँला देखाउँछन् ।
यता पसलेले ‘एउटा मात्र नोकर आफूकहाँ आउने’ भन्ने बुझ्छ । उसले भन्छ, ‘एउटा मात्रै आउने भनेका छन् त !’
बाथः किजाले भन्छ, ‘होइन, म कुरा मिलाउँछु । दुइटै बेच्ने हो ।’
बाथः किजा र पसलेको कुरा भइरहेको हुन्छ । उता दाजुहरूलाई लाग्छ, यसले दुइटै गहना नबेची छाड्ने भएन । होस्, बेचोस् भनेर उनीहरूले उताबाट ‘ल ल दुइटै बेच्’ भन्दै दुइटा औँला देखाउँछन् ।
यता बाथः किजाले दुवै दाजुहरूलाई बेचेर अर्कै बाटो लाग्छ ।
एकछिनपछि पसलेले आफ्ना दुई नोकरलाई भन्छ, ‘मैले अरु दुईजना नोकर किनेको छु, उनीहरू त्यहाँ पर छन् । जाऊ, तिमीहरूका साथीलाई लिएर आऊ ।’
पसलेका दुई नोकर उनीहरूलाई लिन जान्छन् । त्यहाँ गएर उनीहरूले गँदाजु र समाँदाजुलाई ‘तिमीहरूलाई हाम्रो साहुले किन्नुभयो, तिमीहरूको साहुबाट । हिँड जाऊँ, हामी लिन आएको’ भन्छन् ।
गँदाजु र समाँदाजु अचम्ममा पर्दै भन्छन्, ‘कुन साहुले बेच्यो हामीलाई ? हाम्रो कुनै साहु छैन ।’
लिन जानेहरूले भन्छन्, ‘तिमीहरूको साहुले तिमीलाई बेचेर भर्खर मात्रै गए त ।’
समाँदाजुले भन्छ, ‘अघि पसलमा जाने त हाम्र्रो भाइ हो । हामीले उसलाई गहना बेच्न पठाएका हौँ ।’
‘हेर, तिमीहरूलाई पाल्न नसकेर तिमीहरूको साहुले बेचेर गइसक्यो । अब तिमीहरू कतै जान पाउँदैनौँ । खुरुक्क हिँड,’ भनेपछि उनीहरू नोकर हुन बाध्य हुन्छन् ।
नोकरको रूपमा बसेदेखि उनीहरूले आफू कसरी निस्कने भनेर मात्रै सोचिरहेका हुन्छन् । साहुले जे भन्यो, उनीहरूले त्यही मान्छन्, तर उनीहरूले साहुले भनेको भन्दा उल्टो–उल्टो गरिरहेका हुन्छन् । नेवारीमा कति शब्दको दोहोरो अर्थ लाग्ने पनि हुन्छ ।
साहुले समाँदाजुलाई काम अह्राउँछ, ‘कुटि वाना वा’ अर्थात् धान कुट्न जाऊ’ भन्छ । समाँदाजुले धान कुट्ने औजारलाई खोलामा लगेर फालिदिन्छ । ‘कुटिवाना वा’को अर्थ ‘धान कुट्ने औजार फालेर आऊ’ भन्ने पनि हुन्छ ।
यसरी उल्टो काम गरेपछि साहुले समाँदाजुलाई घरबाट निकालिदिन्छ ।
त्यसपछि साहुले गँदाजुलाई नेवारी भाषामा ‘छेँ मि च्याका वा’ अर्थात् घरमा आगो बाल भनेको हुन्छ । नेवारी भाषामा ‘घरमा आगो बाल’ भन्नुको अर्थ ‘भात पकाऊ’ भन्ने हुन्छ । तर, गँदाजुले घरमा आगो लगाइदिन्छ ।
साहुले भन्छ, ‘मैले तिमीलाई घरमा आगो बालेर भात पकाऊ भनेको हुँ, तिमीले घरमै आगो लगायौ ?
‘तपाईंले जे भन्नुभयो, मैले त त्यही गरेको हुँ’ भनेर गँदाजु पन्छिन खोज्छ । यसबाट पनि काम लिन सकिँदैन भनेर साहुले उसलाई पनि घरबाट निकालिदिन्छ ।
यसरी बाठो भाइले बेचेका दाजुहरू निस्कन सफल हुन्छन् ।
- जीचा (ज्वाइँ) को कथा
दाजुहरूलाई बेचेर बाथः किजा एउटा खोलाको किनारमा पुग्छ । त्यहाँ दुई आमाछोरी बसिरहेका हुन्छन् ।
बाथः किजा र ती आमाछोरीको बिचमा कुरा हुन्छ । उनीहरूले आफूहरू खोला तर्न नसकेर त्यहाँ रोकिएको बताउँछन् । छोरीचाहिँ निकै राम्री हुन्छे । बाथः किजाले उनीहरूलाई खोला तारिदिने कुरा गर्छ । खोलामा बाढी आएकाले उसले दुवैलाई एकैचोटि खोला तार्न सक्दैन । त्यसैले पालैपालो खोला तार्ने कुरा हुन्छ । कसलाई पहिले तार्ने भन्ने विषयमा आमाचाहिँलाई शंका हुन्छ, ‘म पहिले खोला तरौँ भने कोही आएर यता छोरीलाई केही गर्ने हो कि ? पहिले छोरीलाई तार्न दिने हो भने यो मान्छेको के भर ? छोरी लिएर हिँड्ने हो कि ?’
त्यसपछि आमाले उसको नाम सोध्छिन् । बाथः किजाले आफ््नो नाम ‘जीचा’ अर्थात् ज्वाइँ भन्छ (नेवारीमा ज्वाइँलाई जीचा भनिन्छ) ।
पहिले छोरीलाई खोला तार्ने सल्लाह हुन्छ । खोला तार्दा बाथः किजा र युवतीबिच कुरा हुन्छ, उसले खोला तार्दातार्दै युवतीलाई आफ्नो मायामा पार्छ । र, उसले त्यहीँबाट युवतीलाई भगाउँछ, फर्केर आउँदैन ।
आफ्नी छोरी लिएर गएको देखेपछि आमाचाहिँ खोलाको किनारमा चिच्याउन थाल्छिन्, ‘मेरी छोरीलाई ज्वाइँले लग्यो, मेरी छोरीलाई ज्वाइँले लग्यो’ भन्दै । उसले चिच्याएको सुनेर वरपरका मानिस आउँछन् । उनले ‘मेरी छोरीलाई ज्वाइँले लग्यो, फिर्ता ल्याइदेऊ’ भनेर आग्रह गर्छिन् ।
मानिसहरूले ‘छोरीलाई ज्वाइँले नलगेर कसले लैजान्छ त ?’ भनेर उल्टै ती महिलालाई गाली गर्छन् ।
यसरी चलाख बाथः किजाले राम्री केटीसँग बिहे गर्छ ।
- सती जाने कथा
एक दिन बाथः किजाकी पत्नी रोइरहेकी हुन्छे । उसले ‘के भयो’ भनेर सोध्छ । उसको पहिलेको प्र्रेमीको मृत्यु भएको रहेछ । उसले भनी, ‘मेरो प्रेमीको मृत्यु भएछ, म उसैसँग सती जान चाहन्छु ।’
बाथ किजाले सम्झाउँछ, ‘तिमी दुई जिउकी छ्यौ, सती जानु हुँदैन । तिमीसँगै दुईजनाको पो ज्यान जान्छ ।’ तर उसले जिद्दी गरिरहन्छे ।
केही सीप नलागेपछि बाथः किजाले हार मान्दै भन्छ, ‘तिमी मान्दिनौँ भने तिम्रो सट्टा मै सती जान्छु । तिमी नजाऊ । तिम्रो पेटको सन्तानलाई बचाउनुपर्छ ।’
बाथः किजा पत्नीको प्र्रेमीसँगै सती जान भनेर हिँड्छ ।
- गँदाजुको आँखा फुट्ने कथा
बेचिएको ठाउँबाट निस्केर गँदाजु एउटा गाउँमा पुग्छ र दुईवटी बिहे गरेर बस्छ ।
उसले एउटा घरमा दुवै पत्नीलाई राखेको हुन्छ । एक रात ऊ दुवै पत्नीलाई एक–एकवटा बाहुमा लिएर सुत्छ । त्यहीबेला उसलाई पिसाबले च्याप्छ । पत्नीहरू मस्त निदाइरहेका हुन्छन् । ऊ उठ्ने हो भने पत्नीहरूको निद्र्रा बिथोलिन्छ । उसले पत्नीको निद्रा बिथोल्न चाहँदैन । के गरौँ, के नगरौँ भनेर ऊ अलमलमा परिरहेको हुन्छ । ऊ सुतेको ठिकमाथि दियो बलिरहेको हुन्छ । कसो कसो दियोबाट तेल उछिट्टिएर आएर उसको दुवै आँखामा परेर घाउ हुन्छ । र, ऊ आँखा नदेख्ने हुन्छ ।
यस कथामा दुइटी पत्नी राख्नेको बुद्धि भ्रष्ट हुँदै जान्छ र दुःख पाउँछ भन्ने देखाउन खोजिएको छ । यहाँ दृष्टि अर्थात् आँखालाई बुद्धिको प्रतीकका रूपमा ल्याइएको छ ।
- समाँदाजुको टाउको पोलिने कथा
समाँदाजु पनि बेचिएको ठाउँबाट निस्केर कुनै गाउँमा पुग्छ र एउटी राम्री युवती बिहे गरेर बस्छ । एक रात उसलाई भोक लाग्छ, उसले पत्नीलाई केही पकाउन भन्छ । पत्नीले घरमा आगो छैन भन्छे । त्यतिबेला आगो लिन अर्को गाउँमा जानुपर्ने हुन्छ ।
जसरी पनि आगो ल्याउनैपर्यो । उसलाई दुविधा हुन्छ– आगो लिन आफू मात्रै जाऊँ भने घरमा पत्नीलाई कसैले केही गर्ने हो कि ! उसलाई पत्नीको चिन्ता हुन्छ । त्यसैले उसले पत्नीलाई पनि ‘सँगै जाऊँ’ भन्छ । पत्नीले आफ्नो खुट्टा दुखेको बताउँछे । त्यसपछि उसले पत्नीलाई बोकेर भए पनि आगो लिन जान्छ ।
फर्कंदा पत्नीले मकल समाएकी हुन्छे । समाँदाजुले पत्नीलाई बोकेको हुन्छ । हिँड्दै गर्दा मकल तातेर पत्नीको हात पोल्छ र उसले आत्तिएर श्रीमान्को टाउकोमा मकल राखिदिन्छे । उसको टाउको पोलिन्छ ।
- को महामूर्ख ?
विभिन्न कारण छुट्टिन पुगेका तीन दाजुभाइ (समाँदाजु, गँदाजु र बाथः किजा) एक दिन भेटिन्छन् । समाँदाजु र गँदाजु आफूहरूलाई बेचेको भनेर भाइ बाथः किजासँग रिसाउँछन् । उनीहरूबिच झगडाजस्तै हुन्छ । यही बेला उनीहरूको छेऊबाट एउटा ब्र्राह्मण जान्छ । उनीहरूले ती ब्राह्मणलाई ढोग गर्छन् । ब्र्राह्मणले सबैलाई जनालाई आशीर्वाद दिन्छन् । यता तीन दाजुभाइबिच झगडा हुन्छ, किनकि तीनैजनाले दाबी गर्छन्– ब्राह्मणले मलाई मात्र आशीर्वाद दिएको हो तिमीहरूलाई होइन भनेर । त्यसपछि उनीहरूले ब्राह्मणसँग सोध्छन्, हामी तीनजनामध्ये आशीर्वाद कसलाई दिएको भनेर । ब्राह्मणले जवाफ दिन्छन्, ‘तिमीहरूमध्ये जो महामूर्ख हो, उसैलाई ।’ यति भनेर ब्राह्मण त्यहाँबाट हिँड्छन् ।
त्यसपछि तीन दाजुभाइबिच को महामूर्ख भनेर विवाद हुन्छ । सबैले ‘म महामूर्ख’ भनेर दाबी गरिरहेका हुन्छन् ।
त्यसपछि झगडा मिलाउन उनीहरू कृष्णद्वार जान्छन् । त्यहाँ न्याय दिने कोतवाललाई आफूहरूको विवादको विषय बताउँछन् । कोतवालले उनीहरूलाई आफूहरू मूर्ख भएको एक–एकवटा प्रमाण वा तर्क पेस गर्न भन्छन् ।
सबैभन्दा पहिले समाँदाजुले तर्क पेस गर्छ । उसले आफूले राम्री तर जाँगर नभएकी पत्नी बिहे गरेका कारण आफ्नो टाउको पोलिएको कथा सुनाउँछ ।
राम्री पत्नीको मोहले गर्दा आफ्नो टाउको पोलिन पुग्यो, त्यसैले मै महामूर्ख हुँ भन्ने उसको तर्क हुन्छ ।
त्यसपछि गँदाजुको पालो आउँछ । उसले दुईवटी बिहे गरेका कारण आफ्नो आँखा जलेको कथा सुनाउँछ । दुईवटी पत्नीलाई च्यापेर सुत्दा आफ्नो आँखा जलेर दृष्टिविहीन भएकाले म महामू्र्ख भन्ने उसको तर्क हुन्छ ।
त्यसपछि बाथः किजाको पालो आउँछ । उसले आफ्नी पत्नीको प्रेमीको सती जान हिँड्दा दाजुहरूसँग भेटिएको कथा सुनाउँछ ।
उसले भन्छ, ‘अर्कैको गर्भ बोकेकी केटीसँग बिहे गर्ने, त्यसमाथि उसको प्रेमीसँग सती जान खोज्ने, मै हुँ सबैभन्दा महामूर्ख ।’
सबैका कुरा सुनेर कोतवालले भन्छन्, ‘यो संसारमा राम्री र अल्छी पत्नी बिहे गर्ने धेरै छन् । दुईवटी पत्नी बिहे गर्ने पनि धेरै छन् । यस्तो धेरै देखिएको, सुनिएको छ । तर यसरी कुनै पुरुष आफ्नी पत्नीको प्र्रेमी मर्दा सती जान तयार भएको घटना अहिलेसम्म न देखिएको छ, न त सुनिएको छ । त्यसैले सबैभन्दा मूर्ख बाथः किजा नै हो ।’
कोतवालले फैसला गरेपछि ब्राह्मणले दिएको आशीर्वाद बाथः किजाकै हुन्छ । त्यसपछि यी तीनैजना दाजुभाइ मत्र्यलोक फर्कन्छन् ।
- लोकजीवन र लोकनाटकको एक इतिहास
प्रस्तुत कथाहरू किरण चित्रकारले २०७७ भदौ १० गते यस पंक्तिकारलाई सुनाएका हुन् ।
कार्तिक नाचले डबली नाटकको लामो इतिहास बोकेको छ । जसमा तत्कालीन लोकजीवन र लोकनाटकको एउटा इतिहास अन्तर्निहित छ ।
मोतिलाल पराजुलीको पुस्तक ‘नेपालका प्रचलित नृत्य र नृत्यनाटिकाहरू– २०६३’ अनुसार, हामीकहाँ विभिन्न जाति तथा समुदायका नृत्यसंस्कृति छन् । लोक समुदायमा ‘नृत्य’ र ‘नाटक’ दुवैलाई लोकनाच शब्द प्रयोग गरिन्छ ।
कार्तिक नाचमा आख्यान र अनुष्ठानको संस्कृति छ । यसका आख्यानहरूले तत्कालीन समाजलाई बाठो बनेर तर सत्य र न्याय बुझेर अगाडि बढ्ने सन्देश दिएका छन् ।
यसमा निहित अनुष्ठानले बहकिने मनलाई बाँध्न सिकाएका छन् । अर्थात् मन अड्याउने आस्थाको आधार वा प्रतीक देखाएका छन् ।
कार्तिक नाच अनुष्ठान वा तान्त्रिक प्रक्रियासँग प्रत्यक्ष गाँसिएर आएको छ । सत्यमोहन जोशी आफ््नो पुस्तकमा लेख्छन्, ‘नरसिंह अवतारको नाटकमा एउटा सिद्धिप्राप्त अनुष्ठान पाइन्छ त्यो हो नरसिंह हुने पात्र (नृत्य कलाकार) कृष्ण मन्दिरका पुजारी ब्राह्मण नै हुनुपर्ने । अनि हिरण्यकशिपुको वध गर्न खातिर नरसिंह हुनेले चार दिन अघि नै हातखुट्टाका नङ काट्न लगाउनुपर्ने, कपाल खौरेर नुहाइधुवाइ गरेर चोखिएर बस्नुपर्ने, ब्रह्मचार्य पालना गर्नुपर्ने, शक्ति पीठमा गएर पुरश्चरण गरी शक्ति सञ्चय गर्नुपर्ने तथा आफूलाई दिइराखेको नरसिंहको दीक्षामन्त्र साधना गर्नुपर्ने नियम छ ।’
यसरी बाधा वा शत्रुलाई पराजित गर्न मन बलियो बनाउने तान्त्रिक विधि पनि यसमा आउँछन्, जुन अलग्गै अनुसन्धान र विश्लेषणको विषय छँदै छ ।
आज पनि समाजमा बाठा मानिसकै बोलबाला छ, सोझासिधा ठगिएकै छन् । विवाह, अनैतिक सम्बन्ध वा सम्बन्ध विच्छेदका कथा उस्तै छन् । त्यसैले यस्ता लोक साहित्यको व्याख्या–विश्लेषण हुन जरुरी छ ।
भाषा–संस्कृति जोगाउन यस नाचलाई नेपालभाषामै प्रदर्शन गर्नु राम्रो हो । यद्यपि यसलाई सबैले बुझ्ने गरी नेपाली भाषामा पनि ल्याउन जरुरी छ ।
ललितपुरमा यस्तै लामो नाच परम्परा बोकेको अर्को पर्व पनि छ, हरिसिद्धि नाच । पहिले यो नाच मंसिर पूर्णिमादेखि फागुन पूर्णिमासम्म लगातार देखाइन्थ्यो । पछि स्थानीयवासी खेती किसानीको काममा व्यस्त हुने र नाच हेर्न नपाउने हुँदा नाचको महŒव घट्दै गयो । त्यसैले अहिले यो नाचलाई छोट्याएर दसैँको नवमी, मंसिर पूर्णिमा र फागुपूर्णिमाका दिन गरी वर्षमा तीनपटक देखाइन्छ ।
काठमाडौँ उपत्यका संस्कृति र सम्पदाले धनी छ । यहाँ लामो समयदेखि नेवार समुदायले संस्कृतिलाई जोगाउँदै आएका छन् । संस्कृति जोगाउन प्रत्यक्ष सहभागी सदस्य वा परिवारलाई राज्यले भत्ता र पेन्सनको व्यवस्था गर्नुपर्छ ।