बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय

कामलाई सानो ठुलो भनेर  छुट्याउनु हुँदैन : मुख्यमन्त्री सिंह

शनिबार, २४ कात्तिक २०८१, १५ : २७
शनिबार, २४ कात्तिक २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कामलाई सानो/ ठुलो भनेर छुट्याउन नहुने बताएका छन् । नेपाल उद्योगमा वाणिज्य महासङ्घ मधेस प्रदेशले वीरगन्जमा आयोजना गरेको स्टार्टअप उद्यमीहरूको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

‘हाम्रो देशमा काम सानो र ठुलो भनेर छुट्याउने चलन छ । जुन एकदम गलत चलन हो’ उनले भने ।  उनले भने, ‘विदेशमा काहीँ पनि कामलाई सानो र ठुलो भनेर छुट्याइँदैन, सबैको कामको समान हुन्छ । त्यसकारण तपाईँहरू उद्यम गर्ने सोचमा हुनुहुन्छ, कामलाई सानो ठुलो भनेर कहिल्यै मापन गर्ने काम नगर्नु होला ।’ 

भारततिर त ‘डली चाय’ वालाले चिया बेचेर करोडपति भएको ज्वलन्त उदाहरण रहेको उनले बताए । ‘बरु त्यो काममा कसरी नम्बर ‘वान’ बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला,’ उनले भने । नयाँ उद्यमीहरूले अब मधेससहित देशमा महिलालाई फोकस गरेर व्यवसाय गर्न जरुरी रहेको मुख्यमन्त्री सिंहले बताए । देशका धेरै पुरुष विदेशमा रहेकाले महिलालाई उद्यमतिर आकर्षित गर्नुपर्ने उनको भनाई छ । 

महिलाहरूलाई साथमा लिएर काम गर्न प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाए ।  मुख्यमन्त्री सिंहले अबको नयाँ पुस्तालाई दिइने शिक्षा प्राविधिक दक्षतासहितको हुनुपर्ने बताए ।

उनले भने, ‘बच्चाहरूलाई सानैदेखि प्राविधिक हिसाबले दक्ष बनाउनुपर्छ, यसो गरेमा उनीहरू तालिम प्राप्त हुन्छन् । पछि गएर काम सिक्नुपर्दैन । विदेशतिर पनि सानैदेखि स्कुलले विद्यार्थीहरू प्राविधिक ज्ञान दिइरहेको हुन्छ ।  अब हामीले पनि त्यो अवधारणा आफ्नो शिक्षा प्रणालीमा लागू गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी गुगल भारतका स्टार्टअप प्रमुख अपूर्व चमरियाले बजार हेरेर होइन समस्या देखेर काम गर्नुपर्ने बताए ।  उनले जहाँ बढी समस्या हुन्छ, त्यही बढी व्यवसाय हुने बताए । समस्या भयो भनेर आतिनु नपर्ने उनको सुझाव छ । ‘इमानदारिताका साथ लगनशील भएर काम गरेमा एक दिन सफलता मिल्नेछ,’ उनले भने ।

नेपालमा व्यवसायका धेरै अवसर रहेको समेत उनले बताए । उनले भने, ‘व्यवसाय गर्दा आफ्नो देश सानो छ, मार्केट सानो छ भनेर नसोच्नुहोला । सबै संसार आफ्नो मार्केट हो भनेर व्यवसाय गर्नुस् अनि आफैँ सफलता मिल्छ ।’  नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले नयाँ उद्यमीहरूका लागि सम्मेलन आयोजना गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप