आनन्द कार्की नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक हुन् । करिब ४ दशक यो क्षेत्रमा बिताइसकेका गायक कार्कीका ‘जनम जनम जिउँला सँगै’, ‘लाग्छ मन हेरिरहुँ’, ‘तिम्रो रूपको’, ‘यी हल्लाहरू हुन्’ लगायत कयौँ गीत हिट छन् ।
केही अगाडि उनको पुरानो गीत ‘बादल वर्षा बिजुली’, ‘जनम जनम जिउँला सँगै’ टिकटकमा भाइरल भएको थियो । आधुनिक, भजन, गजल, फिल्म, राष्ट्रिय गीतलगायत गरेर करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्की पछिल्लो समय त्यति चर्चामा छैनन् । त्यसैले पनि कतिपयले त कार्की साङ्गीतिक क्षेत्रबाट हराए, पलायन भए भन्न थालेका छन् ।
कार्की भने गीत–सङ्गीतमै निरन्तर रहिरहेको बताउँछन् । गायक कार्कीसँग रातोपाटीले गीतसङ्गीतको विषयमा गरेको कुराकानीको सम्पादित अंश ।
– म हराएको छैन, गीत–सङ्गीत क्षेत्रमै छु । नयाँ गीत ल्याउने, कार्यक्रममा सहभागी हुने काम यथावत चलिरहेको छ । मेरा गीत–सङ्गीत अहिले बजारमा चलेकाभन्दा फरक भएका कारण म नोटिसमा नपरेको हुँला । बजारका लागि ब्लकबस्टर गीत फिल्मबाटै आउने हो । अहिले मेरो फिल्मको गीत पनि कम छ । त्यसकारण मानिसलाई म हराएको जस्तो लाग्नु स्वाभाविक हो ।
अर्काेकुरा, अहिले पहिले झैँ लामो गीत सुन्दैनन् । ५० सेकेन्ड, एक मिनेटको गीत सुन्न थाले ।
– दसैँ अगाडिमात्र ‘जिन्दगी बाँच्नु छ दुईचार दिन’ बोलको एक गीत ल्याएको छु । यो गीत आफ्नै युट्युब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको छ । गीत सार्वजनिक भएदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको छु । यो गीत छिटै चर्चा पाउने खालको होइन । दिन प्रतिदिन चर्चा बटुल्दैछ ।
– यो माया–प्रेमले भरिएको गीत हो । सङ्गीतकार रञ्जित गजमेर मलाई पहिलेदेखि नै धेरै मन पर्थ्यो । उहाँलाई ‘मोहनी लाग्ला है’ जस्तो एउटा गीत गाउन मन लागेको छ, बनाउनुपर्यो भनेर अनुरोध गरेको थिएँ । उहाँले आफ्नो स्वर्गीय श्रीमती कुसुम गजमेरले शब्दमा यो गीत सुनाउनुभयो । यसको शब्दै पूरै मन पर्यो । मायाको अर्थ कति छ, यो गीत सुन्दा सबै थाहा हुन्छ ।
– अहिले बजारमा नयाँ–नयाँ गीत भित्रिने गर्छ । यहाँ हरेक दिन थुप्रै गीत आउँछन् । मानिस अहिले एक महिनामा नयाँ गीत आएन भने हरायो भन्छन् । कि दैनिक भित्रिने गीतलाई पछि पारेर अगाडि आउन सक्नुपर्यो । पहिले–पहिले एउटै गीतले लामो समय प्राथमिकता पाउँथ्यो ।
– यो टिकटकको योगदान हो । एक जुम्ल्याहा दिदीबहिनीले यो गीतमा टिकटक बनाउनु भएछ । त्यसपछि गीत भाइरल भएछ । नेपालमा भन्दा भारतमा यो गीतको बढी टिकटक बन्यो । गीत भाइरल भएको मैले त धेरै पछाडि थाहा पाएँ । यो गीत रिमेक गरेर फेरि बजारमा ल्याएको छु । त्यसले पनि राम्रो भ्युज पाएको छ । गीत–सङ्गीतको भाग्य कुनबेला खुल्छ, भन्नै नसकिने रहेछ भनेर यो गीतले अनुभव गरायो ।
– यो गीतमा प्रयोग भएको शब्द ‘बादल, वर्षा, बिजुली’ उता पनि प्रयोग हुन्छ । गीतको भाव उता पनि मिल्दोजुल्दो रहेकाले होला । फेरि सङ्गीतको भाषा हुँदैन भनिन्छ । यसको सङ्गीत त्यहाँका मानिसलाई पनि मन परेको हुनसक्छ ।
केही अगाडि एक गीत रेकर्डका लागि मुम्बई पुगेको थिएँ । त्यहाँ धेरैले नेपाली गायक भनेर भन्दा पनि ‘बादल, वर्षा, बिजुली’ गीतका गायक भनेर चिन्ने, चिनाउने गरे ।
– राम्रो चिज रोपेको रहेछु, अहिले फल मिल्यो । यस कारण पनि कुनै नयाँ गीत आउँदा म गाउँदिनँ भन्दिनँ । किनभने गीतले मेरो भाग्य लिएर आएको हुन्छ । मैले धेरै राम्रा गीत गाएको छु । आगामी दिनमा ती पनि ‘बादल, वर्षा, बिजुली’ जस्तै हुन्छ । ‘जनम जनम जिउँला सँगै’ भन्ने गीत पनि यस्तै भएको थियो ।
– म हनुमानको भक्त हो । नेपालमा हनुमान चालिसा गीतमा कसैले बनाएको थिएन । भारतमा धेरै कलाकारले बनाएका छन् । नेपालमा पनि नौलो काम होस् भनेर यसमा गीत बनाएको हो । मेरो प्रयासलाई धेरैले राम्रै भनेका छन् । गीत बनाएपछि मलाई पनि राम्रो भएको छ ।
– हरेक समय मानिसलाई एउटै स्वर दिक्क पनि लाग्न सक्छ । फेरि नयाँ मानिस पनि थुप्रै भित्रिएका छन् । उनीहरूले पनि काम पाउनुपर्यो । धेरैले चलचित्रको गीत फेरि गाउनुपर्यो भनेको कारण सलोन बस्नेतले बनाउन लागेको फिल्म ‘रङ्ग’मा भर्खर एक गीत गाएको छु । धेरैपछि राम्रो गीत गाउने मौका मिलेको छ । त्यो गीतले चर्चा पक्कै पाउँछ । यो मेरो विश्वास हो ।
– यो समयको माग हो । एकै दिन थुप्रै गीत आउँछ । पहिले गीत गाउन, रेकर्ड गर्न ठुलै सङ्घर्ष गर्नुपर्थ्यो । अहिले प्रविधिले सबै कुरो सजिलो गरिदियो । मानिसका लागि गीतको च्वाइस धेरै भयो । त्यही कारणले छिटै भित्रिने र हराउने गर्न थाले ।
– जीवन रहेसम्म नयाँ–नयाँ गीत गाइरहन पाउँ भन्ने छ । पूरै जीवन गायनमै समर्पित गरेको कारण गाउँदागाउँदै मर्न पाउँ भन्ने लागेको छ । अहिले पनि गीत–सङ्गीतलाई समाजले मनोरञ्जनको रूपमा मात्र लिन्छ । कलाकारलाई सम्मान छैन । हाम्रो सङ्गीत अन्तर्राष्ट्रिय क्षेत्रमा प्राथमिकता पाउने खालको बन्न सकेको छैन । यी सबै भएको हेर्न रहर छ ।
प्रतिक्रिया