च्याम्पियन्स ट्रफी : हाइब्रिड मोडल पाकिस्तानलाई अस्वीकार्य
नयाँ दिल्ली । च्याम्पियन्स ट्रफीमा भारतको टोली पाकिस्तान नजाने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को स्रोतलाई उद्धृत गर्दै एक रिपोर्टमा यो दाबी देखा परेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफूलाई लिखित रूपमा यसबारे केही जानकारी प्राप्त नभएको बताएको छ। आफूहरुसँग हाइब्रिड मोडलबारे अहिलेसम्म कसैले छलफल नगरेको पनि पीसीबीको भनाई छ।
८ नोभेम्बरको इन्डियन एक्सप्रेसको रिपोर्टमा बीसीसीआई स्रोतलाई उद्धृत गर्दै भारतीय टोली पाकिस्तान नजाने दाबी गरिएको थियो । यस सम्बन्धमा बीसीसीआईले पीसीबीलाई पत्र लेखेको बताइएको थियो । रिपोर्टका अनुसार बीसीसीआईले आफ्ना खेल दुबईमा खेल्ने इच्छा व्यक्त गरेको छ । हाइब्रिड मोडेलमा खेलहरू आयोजक देश बाहिर आयोजित हुन्छन्।
मस्यौदा तालिका अनुसार च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म खेलाइने छ । यस प्रतियोगिताको खेल कराँची, लाहोर र रावलपिंडीमा हुन सक्छ।
यो रिपोर्ट आएको केही समयपछि पीसीबी प्रमुख मोहसिन नकवीले शुक्रबार लाहोरमा मिडियासँग कुरा गरे। उनले भने, ‘मैले लिखित रूपमा केही पाएको छैन । यदि हामीले लिखित रूपमा केही पाए भने, म तुरुन्तै तपाईँ र सरकारसँग साझा गर्नेछु।’
उनले थपे, ‘अहिलेसम्म हामीसँग हाइब्रिड मोडलबारे कसैले छलफल गरेको छैन, न त हामी यसबारे कुरा गर्न तयार छौँ । पाकिस्तानले हालैका वर्षहरूमा धेरै पटक राम्रो व्यवहार गरेको छ र हरेक पटक हामीबाट राम्रोको आशा नगर्नुहोस्।’
मुम्बईमा भएको आतङ्कवादी हमलाका कारण भारतले १६ वर्षदेखि पाकिस्तानको भ्रमण गरेको छैन। सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो ।
त्यसपछि दुवै टोलीले आईसीसी र एसीसी प्रतियोगितामा मात्रै खेल्छन्। सन् २०१३ यता दुवै टोलीले १३ एकदिवसीय र ८ टी–२० खेल तटस्थ स्थानमा खेलेका छन् ।
गत वर्ष एकदिवसीय विश्वकप खेल्न पाकिस्तानको टोली भारत आएको थियो । त्यसपछि १४ अक्टोबरमा भारत र पाकिस्तानबिचको खेल अहमदाबादमा भएको थियो । यो खेलमा भारतीय टोली ७ विकेटले विजयी भएको थियो ।
च्याम्पियन्स ट्रफी २०२५ को आयोजना पाकिस्तानलाई दिइएको छ। पीसीबीले प्रतियोगिताको स्थान र तालिकाको मस्यौदा आईसीसीलाई बुझाई सकेको छ । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी–मार्चमा खेलाइने छ । मस्यौदा अनुसार भारतलाई समूह ए मा पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डसँगै राखिएको छ । समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् ।
तालिका अनुसार भारतको तीन खेल २० फेब्रुअरी (बंगलादेश), २३ फेब्रुअरी (पाकिस्तान) र २ मार्च (न्यूजिल्याण्ड) सँग हुनेछ । भारतको खेल लाहोरमा खेलाइने तयारी छ।
यसअघि एसिया कपको आयोजक पनि पाकिस्तानले थियो । त्यतिबेला पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि ‘हाइब्रिड मोडल’मा प्रतियोगिता आयोजना भएको थियो । भारतसँगको सबै खेल श्रीलंकामा भएको थियो । कोलम्बोमा भएको फाइनल खेलमा भारतीय टोलीले श्रीलंकालाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।