बागमतीका मुख्यमन्त्री लामाको ‘हनिमुन पिरियड’ पूरा : सार्वजनिक भएन उपलब्धि
मकवानपुर । बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । एमाले–कांग्रेस गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन भएको कात्तिक १६ मै १०० दिन पूरा भएको हो ।
सामान्यतया सय दिन अर्थात् ‘हनिमुन पिरियड’ पूरा भएपछि सरकारका उपलब्धि सार्वजनिक गरिन्छ । तर, बागमती सरकारले अहिलेसम्म सय दिने उपलब्धि सार्वजनिक गर्न सकेको छैन ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गर्न नसक्दा सरकारको अवस्था र कार्य प्रगतिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।
मन्त्रीसहित मुख्यमन्त्री नै औपचारिक कार्यक्रम, गृह जिल्ला तथा सामान्य कार्यक्रम तथा उद्घाटन र शिलान्यासमा व्यस्त हुँदा सरकारको कार्य सम्पादन यो अवधिमा कमजोर देखिन्छ । त्यसैले पनि सरकारले सय दिने उपलब्धि सार्वजनिक नगरेको हुन सक्ने कतिपयको आशङ्का छ ।
अंकगणितीय रुपमा प्रदेश सरकारको नेतृत्वमा एमाले कांग्रेसको गठबन्धन अत्यन्त मजबुत देखिन्छ । कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ प्रदेश सभाको समर्थनमा बनेको सरकारले १०० दिन पूरा गर्नु नै महत्त्वपूर्ण रहेको विभागीय मन्त्रीहरू बताउँछन् । अस्थिर राजनीतिका बिच दुई मुख्य ठुला दलबाट समस्याको निकास निकाल्ने र देश विकासको नयाँ आयाम आउने व्याख्या पनि भएका थिए । तर, बलियो अंकगणित सहित बनेको सरकारको जग भने निकै जोखिमपूर्ण रहेकाले सरकारको कामको प्रभावकारिता समेत कमजोर भएको उनीहरूको भनाइ छ ।
मुख्यमन्त्री लामासहित अधिकांश विभागीय मन्त्रीको कार्यसम्पादन प्रभावकारी नभएकाले सय दिने उपलब्धि सार्वजनिक गर्ने अवस्था नरहेको एक मन्त्री बताउँछन् । सरकार गठनको १०० दिन पूरा भए पनि कार्यअवधि १०० दिन नभएको उनको व्याख्या छ ।
साउन ९ पछि चाडपर्व र विपद्का कारण सरकारले सोचे अनुरुप काम गर्न नसकेको ती मन्त्रीको तर्क छ । ‘हामीले जिम्मेवारी पाएको १०० दिन पूरा भए पनि कार्यअवधि १०० दिनको छैन । विपद् र चाडपर्वले पूरा अवधि काम गर्न सकेको अवस्था छैन । काम नै केही हुन सकेको छैन । तर, पनि केही नयाँ काम थालिएको छ,’ उनले भने ।
अहिले नै सरकारका उपलब्धि देखिने समय नभएको भन्दै ती मन्त्रीले तत्काल १०० दिनको उपलब्धि सार्वजनिक गर्ने अवस्था नरहेको बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्ने अधिकार मुख्यमन्त्रीको हो । चाडपर्वका कारणले १०० दिनको मितिमा उपलब्धि सार्वजनिक हुन सक्ने अवस्था नभएको उनको भनाइ छ ।
सरकारले गरेका कामको उपलब्धिको सूची तयारी अवस्थामा रहे पनि समय अनुकूल नहुँदा सार्वजनिक नभएको मन्त्री लामिछानेले बताए । सरकारले प्रभावकारी काम गरेको र उपलब्धि पनि सन्तोषजनक नै रहेको उनको दाबी छ ।
‘१०० दिनमै सरकारले कायापलट गर्छ भन्ने पनि होइन । सरकारको योजना अनुसार काम हुन केही समय लाग्छ । हामीले सिस्टम बनाएका छौँ । त्यस अनुसार काम हुन्छ । उपलब्धिहरू क्रमशः देखिन्छन्,’ उनले भने ।
- विशेष योजना गोप्य राखिएको छ : मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले यसबिचमा सरकारले प्रभावकारी ढंगबाट काम गरेको दाबी गरे । १०० दिन पूरा भए पनि विपद् र चाडपर्वका कारण सरकारका उपलब्धि सार्वजनिक गर्न नसकेको उनको भनाइ छ ।
छिटै पत्रकार सम्मेलन मार्फत् सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्ने मुख्यमन्त्री लामाले बताए । सरकारले १०० दिनमा विपद् व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ छ ।
बजेट कार्यान्वयनको चरणमा सरकार गठन भएकाले तत्काल नयाँ र फरक प्रकृतिका योजना कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको मुख्यमन्त्री लामाले बताए । सरकारले नयाँ र विशेष प्रकृतिका योजना गोप्य राखेको पनि उनले दाबी गरे ।
‘१०० दिन पूरा हुने समयमा तिहार परेकाले हामीले उपलब्धि सार्वजनिक गर्न सकेनौँ । छिटै मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर १०० दिनको उपलब्धि सार्वजनिक गर्छौं,’ मुख्यमन्त्री लामाले भने, ‘विशेषगरी विपद्का कारण सरकारलाई काम गर्न निकै समस्या भयो । हामीले १०० दिनमा प्राप्त गरेको उपलब्धि पनि विपद् व्यवस्थापन नै हो ।’
क्षतविक्षत भएको बागमती प्रदेशमा नागरिकहरूसम्म पुग्ने गरी सरकारले काम गरेको मुख्यमन्त्रीको दाबी छ । ‘चाडपर्वमा सडक सञ्चालन हुने हो वा होइन भन्ने अवस्था थियो । हामीले अस्थायी रूपमा भए पनि कुनै पनि सडक अवरुद्ध नहुने अवस्था बनायौँ,’ उनले भने, ‘बजेट कार्यान्वयनको चरणमा रहेकाले विशेष योजना ल्याउन नसकेको हो । त्यसलाई हामीले गोप्य राखेका छौैँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म