बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

धेरैजसो क्यान्सरको उपचार नेपालमै सम्भव छ : डा. शर्मा

‘शारीरिक सम्बन्ध राख्न थालेपछि दुई/दुई वर्षको फरकमा पाठेघरको मुख परीक्षण गराउनुपर्छ’
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । नेपालमा पछिल्लो समय वार्षिक २६ हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । यसमध्ये आधा बिरामी अस्पताल पुगेका हुँदैनन् । उपचारका लागि वार्षिक करिब १४ हजार बिरामीमात्रै अस्पताल पुग्ने गरेका छन् ।

नेपालमा क्यान्सर रोगको अवस्था, कारण, उपचारको सम्भावना लगायत विषयमा केन्द्रित रहेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्मासँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पदित अंशः

समग्रमा हेर्दा नेपालमा क्यान्सरको अवस्था कस्तो छ ?
नेपालमा प्रत्येक वर्ष २६ हजारको हाराहारीमा क्यान्सरका बिरामी थपिन्छन् । यो संख्या सबै उमेर समूहका हुन्छन् । त्यसमा पनि १२ देखि १४ हजार क्यान्सरका बिरामी देशभर क्यान्सरको उपचार हुने विभिन्न अस्पतालमा आएको देखिन्छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमाको तथ्याङ्क अनुसार सन् २००३ देखि अस्पतालमा क्यान्सरको उपचार गराउन सुरु भएको हो । सन् २०२०/२०२१ को तथ्याङ्क हेर्दा १२ देखि १४ हजार क्यान्सरका बिरामी देशभरका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराउन आएको देखिन्छ ।

यसका साथै देशभन्दा बाहिर पनि केही बिरामी उपचारका लागि जान सक्छन् । यसलाई नै मान्ने हो भने १२ देखि १३ हजार नै हुन सक्छ । केही बाहिर गएर उपचार गरे पनि, केही बिरामी गाउँमा बस्ने, केही गरी ढिलो पत्ता लाग्ने जस्ता पनि छन् । क्यान्सर ढिलो पत्ता लाग्ने, आर्थिक अवस्था, स्रोत, भौतिक विकटता, घर छेउमा सेवा नपाउने, सचेतना नहुने लगायत कारणले क्यान्सरका कतिपय बिरामी अस्पताल आउन सक्दैनन् । आइहाले पनि यसको उपचार गर्न सक्ने अवस्था नहुने, ढिलो भइसक्ने जस्ता समस्या छन् ।

२ देखि ४ महिना उपचार गराउँदा निको हुने र छोड्ने तर पछि बल्झेपछि आउनेजस्ता क्यान्सर उपचारमा समस्या छन् । नेपालमा सबैभन्दा बढी नसर्र्ने रोगमा मुटुको रोग र दोस्रोमा क्यान्सर पर्छ । केही वर्ष अर्थात् सन् २०४० सम्ममा मुटुको रोगभन्दा क्यान्सर बढी हुन सक्छ ।

नेपालमा के–कस्ता क्यान्सर देखिन्छ ?

बच्चाको क्यान्सरको कुरा गर्दा बच्चामा सबैभन्दा धेरै ब्लाड क्यान्सर, ग्ल्याड क्यान्सर र सार्को क्यान्सर हुने गर्दछ । महिलामा हेर्ने हो भने पाठेघरको क्यान्सर एक नम्बरमा छ । दोस्रोमा ब्रेस्ट क्यान्सर र तेस्रोमा पेटको क्यान्सर छ । यस्तै, फोक्सोको क्यान्सर छ । पुरुषमा हेर्ने हो भने फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । प्रोस्टेट क्यान्सर, मुखको वरिपरि हुने क्यान्सर र त्यसपछि ब्लड क्यान्सर बढी भएको पाइएको छ ।

क्यान्सर के कारणले हुन्छ ?

क्यान्सर विभिन्न कारणले हुन्छ । क्यान्सरको कारण यहाँ भनेर साध्य हुँदैन । महिलामा हुने क्यान्सरको कुरा गर्ने हो भने सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिन्छ । यो क्यान्सरको मुख्य कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत कारण हुन् । शारीरिक सम्बन्ध राख्न थालेपछि प्रत्येक दुई वर्षमा पाठेघरको मुखको जाँच गराउनुपर्छ । यसले दश वर्षपछि पनि पाठेघरको मुखको क्यान्सर हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन सकिन्छ । यही बेला उपचार गरेमा क्यान्सरको रोकथाम गर्न सकिन्छ ।

रोक्न सकिने रोगबाट धेरै दिदीबहिनीको मृत्यु भइरहेको छ । यसको लागि सचेतना हुन आवश्यक छ । पाठेघरको क्यान्सर हुन नदिन एचपीभी भ्याक्सिन छ । यो भ्याक्सिन ११ वर्षदेखि १३ वर्षको उमेरमा लगाउन सकिन्छ । यो खोप सबैलाई पुर्‍याउन सकेमा १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सरको समस्या नियन्त्रण गर्न सकिन्छ ।

दोस्रोमा ब्रेस्ट क्यान्सर हो । घरमा आफैँ प्रत्येक महिनामा नियमित जाँच गर्न सकिन्छ । सानो गाँठा देखिए २/२ वर्षमा नियमित जाँच गराउन सकिन्छ । दुवै क्यान्सरबाट जोगिन सकिन्छ । त्यसबाहेक महिलामा अरुलाई देखिने क्यान्सरजस्तै हो । जस्तो कि फोक्सोको क्यान्सर धेरै कारणले हुन्छ । तर चुरोट र सुर्तीजन्य पदार्थ मात्रै रोक्न सकिए पनि आधाजस्तो क्यान्सरलाई रोक्न सकिन्छ ।

वातावरणीय कारणले पनि क्यान्सर हुन सक्छ । बढी घाममा काम गर्दा, बढी तामक्रम हुँदा छालाको क्यान्सर हुन सक्छ । पोलेको मासु, अस्वस्थ खाना खाँदा, सागसब्जी कम खाँदा आन्द्राको क्यान्सर हुन सक्छ ।

रोकथामका लागि के गर्ने ?

सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाब नलिने, स्वास्थ्य जीवनशैली अपनाउने गर्दा यसको रोकथाम गर्न सकिन्छ । जस्तो कि मादक पदार्थ सेवन नगर्ने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने, धुम्रपान नगर्ने र पोलेको मासु नखाने हो भने एक तिहाइ क्यान्सरलाई रोक्न सकिन्छ । एक तिहाइ पहिलो फेजमै पत्ता लगाउन सकिन्छ, जुन उपचारपछि निको हुन्छ । एक तिहाई सुरुमै जटिलता भएका आउने हुन्छन् । उहाँहरूलाई क्यान्सरमा प्यालियटिभ केयर गर्नुपर्छ ।

कृषि बालीमा प्रयोग हुने विषादीले पनि क्यान्सर गराउँछ भनिन्छ नि ?

हामीले सन्तुलित खाना भन्छौँ । त्यसमा यो विषय पर्छ । विषादी प्रयोग भएका खानालाई सन्तुलित खानामा लिइँदैन । यसमा अर्गानिक खानामात्रै पर्छ । हामीले खाने कृषि बालीमा  विषादी प्रयोग भएको हुन सक्छ । त्यसका लागि विषको असर नसकिउन्जेलसम्म पर्खने, विषादी हटाएर खाने विभिन्न उपाय छन् । त्यस्ता उपाय अपनाएर खान सकिन्छ । क्यान्सर गराउने विभिन्न कारण छन् । त्यसमध्ये विषादी पनि क्यान्सरको एउटा कारण हो ।

नेपालमा क्यान्सरको उपचार अवस्था कस्तो छ ?

नेपालमा धेरैजसो कयान्सरको उपचार सम्भव छ । अहिले नेपाल सरकारले पनि सातै प्रदेशमा क्यान्सरको सेवा पुर्‍याउने योजना बनाएको छ । समग्रमा सिस्टममा सुधार गरेमा यहीँ उपचार सम्भव छ । नेपाली जनशक्ति बाहिरी मुलुकमा गएर उपचार गरिरहेका छन् । जनशक्ति कमजोर छैन तर हाम्रो भौतिक संरचना, प्रविधि लगायत अभाव भए पनि धेरैजसो क्यान्सरको उपचार यहीँ सम्भव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया