शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
समाचार

काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित : वनभोज र नाचगानमा प्रतिबन्ध

शनिबार, २४ कात्तिक २०८१, ०३ : ००
शनिबार, २४ कात्तिक २०८१

सुर्खेत । कर्णालीकै प्रमुख पर्यटकीय स्थल काँक्रेबिहारलाई वनभोजका लागि ‘हट स्पट’मानिन्छ । घुमघाम र वनभोजका लागि देशभरबाट यहाँ पर्यटकहरु आउने गरेका छन् । 

घना जंगलको बिचमा रहेको काँक्रेबिहारको संरचना र जंगलभित्र वनभोज तथा ठुलो आवाजमा गीत बजाएर नाचगान गर्दै रमाउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । जसका कारण वन्यजन्तु असुरक्षित बनेका छन् । वन क्षेत्रभित्र मान्छेको उपस्थिति बढेको र होहल्ला बढ्दा वन्यजन्तु असुरक्षित भएको भन्दै अहिले काँक्रेबिहार क्षेत्रभित्र वनभोज र नाचगान गर्न प्रतिबन्ध लगाइएको छ । 

डिभिजन वन कार्यालयले काँक्रेबिहार क्षेत्रभित्र वनभोज, पाटी तथा अन्य होहल्लाका कारण वन्यजन्तु तथा जैविक विविधतामा नमरात्मक असर परेको भन्दै यस्ता कार्य गर्न प्रतिबन्ध लगाएको हो । निमित्त डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले उक्त क्षेत्रमा अहिले त्यस्ता गतिविधि गर्न पुर्ण रुपमा निषेध गरिएको बताए । 

यदि त्यस्ता गतिविधिहरु गरेको पाइएमा वन ऐन, ०७६ अनुसार कारबाही गरिने समेत उनको भनाइ छ । राजधानी वीरेन्द्रनगरको दक्षिणतर्फ धना जंगलको बिचमा ठिङ्ग उभिएको पुरातात्विक संरचना काँक्रेबिहार कर्णालीकै प्रथम पर्यटकीय गन्तव्यका रुपमा समेत चिनिन्छ । 

यद्यपि पछिल्लो समय उक्त क्षेत्रमा मान्छेको आवत–जावत अस्वभाविक रुपमा बढ्दै जाँदा वन्यजन्तुहरु भने असुरक्षित बनेका छन् । ०५९ साल वैशाखमा नेपालमा घोषणा भएका वनमा काँक्रेबिहारलाई पहिलो संरक्षित वन क्षेत्रका रुपमा घोषणा गरिएको थियो ।

१७५.५ हेक्टर क्षेत्रफल रहेको काँक्रेबिहार संरक्षित वन क्षेत्र प्रायः जरायोको बासस्थानका रुपमा रहेको छ । यहाँ केही वर्षअघिसम्म ८० वटासम्म जरायो रहेको भनिन्थ्यो । तर पछिल्लो समय विभिन्न तथ्याङ्क अनुसार ४४ वटासम्म रहेको बताइन्छ । निमित्त वन अधिकृत श्रेष्ठले वन हेरालुको भनाइ अनुसार कम्तिमा ४० वटासम्म जरायो रहेको रातोपाटीलाई बताए । 

‘काँक्रेबिहारमा मुख्य रुपमा पाइने भनेको जरायो हो,’उनले भने, ‘पछिल्लो समय वन क्षेत्र वरिपरि बस्ती बसेको छ । वन क्षेत्रभित्र बाटोहरु बनेका छन् । मान्छेको आवत–जावत बढ्न थाल्यो । जरायोको संख्या पनि घटेको छ ।’ 

मानव–वन्यजन्तुको द्धन्द्ध बढेकाले जनावरहरु असुरक्षित बनेको उनले बताए । जरायो बाहेक बँदेल, खरायो, मृग, स्याल लगायतका जनावरहरु समेत रहेका छन् । यस्तै, मयुर, कालिज जस्ता चराचुरुङ्गी पनि काँक्रेबिहारभित्र देखिन्थे ।

वनभोज तथा ठुलो आवाजमा नाचगान गर्ने कार्यक्रम बढेसँगै जनावरहरु त्रसित भएर वन क्षेत्र बाहिर निस्कने गरेका छन् । पछिल्लो समय कतिपय वन्यजन्तुहरु देखिन छाडेका छन् । वन अधिकृत श्रेष्ठ पनि पछिल्लो समय वन्यजन्तुको संख्यामा कमी आएको बताउँछन् । 

केही वर्षअघि एउटा जरायो बलुबुले तालमा घाइते अवस्थामा फेला परेको थियो । स्थानीयले बालिनालीमा पसको भन्दै ढुङ्गामुढाले हानेर लखेटेका थिए । काँक्रेबिहार क्षेत्रभित्रको उक्त जरायोलाई तालको बिचमा फसेको अवस्थामा उद्धार गरिएको थियो । उपचारको क्रममा दुई दिनपछि उक्त जरायो मर्‍यो ।

कतिपय जरायो चोरी सिकारी गर्नेको निशानामा परेका छन् । ०८० असारमा काँक्रेबिहार संरक्षित क्षेत्रभित्रको जरायो मारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । 

वन क्षेत्रसँग जोडिएको नयाँ गाउँमा पासोमा पारी जरायो मारेको र मासु भागबण्डा गरिरहेको अवस्थामा सुशील चौधरी, आशाराम चौधरी, मिनबहादुर ओली, डम्बरबहादुर थारुलाई पक्राउ गरिएको थियो ।

वन अधिकृत श्रेष्ठ भन्छन्, ‘जंगलभित्र मान्छेको अस्वभाविक उपस्थिती, होहल्ला बढ्दा जनावरहरु त्रसित भएर बाहिर निस्कन थाले । मान्छेको बासस्थान पनि वरिपरी बढेकाले मानव–वन्यजन्तुबिच द्धन्द्ध बढेको छ ।’

संरक्षित वन क्षेत्रभित्र मानवको हस्तक्षेत्र बढेपछि कतिपय जनावर बाहिर नस्किेर विचलित भएर पनि मर्ने गरेका छन् । वन्यजन्तु असुरक्षित हुनुको अर्को कारण संरक्षित क्षेत्र वरिपरी पर्खाल नहुनु पनि हो । 

वन अधिकृत श्रेष्ठ त्यहाँ सुरक्षा शाखा राखिएको बताउँछन् । त्यसका अलवा तीन जना वन हेरालु राख्नुका साथै अहिले नियमित गस्ति समेत हुने गरेको बताउँछन् । अहिलेसम्म ७ किलोमिटरमा कम्पाउण्ड वाल लगाइएको उनले बताए । करिब ११ करोड लगानीमा उक्त वाल लगाउने काम भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप