शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा

शनिबार, २४ कात्तिक २०८१, ०१ : ३०
शनिबार, २४ कात्तिक २०८१

गुल्मी । रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्दर्यताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आउने जो कोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टीकोणले पनि रेसुङ्गा आफैँमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । 

यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् ।

पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको 'भ्यूटावर'बाट माछापुच्छ्रे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ ।  

गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताइन् ।

गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको 'जाउँ हिँड रेसुङ्गा' अभियानले पनि जिल्लाको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताइन् । 

हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकहरुले यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाएका थिए।

उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो । रेसुङ्गा क्षेत्रको भ्रमणपछि उनीहरुले अन्य साथीहरुलाई पनि यहाँ घुम्न आउनका लागि निम्तो दिने बताएका थिए । 

भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरुलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको बताएका थिए । उनीहरुले यहाँका डाँडापाखा र वनजङ्गल सहितको प्राकृतिक सौन्दर्यता र संस्कारलाई यसैगरि बचाइ राख्न नगरपालिकालाई आग्रह गरेका थिए ।

गुल्मीको विविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्नका लागि पहिलो पटक गुल्मी आइपुगेको उनीहरुको भनाइ थियो । 

मदाने गाउँपालिका अन्तर्गत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटक योग साधना गर्न र यहाँको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम पुगेका छन् ।

एक महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटक गुल्मीको मदाने गाउँपालिका अन्तर्गत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रमको योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुर हुँदै काठमाडौँ फर्कने आश्रमका गुरु रामचन्द्र दासले जानकारी दिए ।
 
जिल्लामा आउने पर्यटक रेसुङ्गा क्षेत्रसँगै, विचित्र गुफा, कालीगण्डकीलगायत ठाउँको भ्रमण गरि फर्कने गर्दछन । जिल्लामा आउने बाह्य पर्यटकलाई रेसुङ्गा नगरपालिकाले विमानस्थलमै पुगेर स्वागत गर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप