१२ बजे, १२ समाचार : 'हवाई टिकटमा कालोबजारी' देखि 'धनराजकी पूर्वपत्नीविरुद्ध रेड नोटिस' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. मानव तस्करी प्रकरण
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले छानबिन नहुँदासम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् । अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । अधिकारी एमाले कोशी प्रदेश सदस्य हुन् ।
२. उपनिर्वाचनमा दलहरुको रणनीति
प्रमुख राजनीतिक दलहरू आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।
त्यसका लागि उनीहरूले मातहतका कमिटीहरूमार्फत आन्तरिक रिपोर्ट मगाएर मतदाताको अवस्था, तालमेल र विपक्षीका उम्मेदवारबारे समेत विश्लेषण गरिरहेका छन् ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मंसिर २ गतेको उम्मेदवारी दर्ताको समयलाई मध्यनजर गरेर प्रतिस्पर्धीको रणनीतिसमेत बुझ्दै र आफ्ना दलका उम्मेदवार छनोटको काम भइरहेको प्रमुख दलका नेताहरूको भनाइ छ ।
३. न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा भएको सुनुवाइका क्रममा निरौला र पाण्डेले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरूको कार्य योजनामाथि प्रश्न गर्दै सांसदहरूले प्राप्त उजुरीबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए ।
४. हवाई टिकटमा कालोबजारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द भएको छ । विमानस्थलको रन–वे र ट्याक्सी–वे मर्मतका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द सुरु गरिएको हो । यसअघि विमानस्थल दैनिक तीन घण्टा अर्थात् राति १ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको थियो । यससँगै हवाइ टिकटमा पनि कालोबजारी सुरु भएको छ ।
५. भ्याकेटको निवेदन
राष्ट्रिय परिचयपत्र वितरणका सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता भएको छ। सरकारका तर्फबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका तर्फबाट शुक्रवार सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गरिएको हो ।
६. मनाङेको विज्ञप्ति
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।
केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।
७. रेड नोटिस
मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
८. आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।
९. विकास खर्च निराशाजनक
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको अवस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आए पनि परिणाम उत्साहप्रद देखिएको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले तयार पारेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कर्णाली सरकारले कुल बजेटको ६ प्रतिशत अर्थात् दुई अर्ब २२ करोड ७० लाख ८९ हजार २६० रुपैयाँ २३ पैसा खर्च गरेको छ ।
१०. राजश्व चुहावट नियन्त्रणमा सरकार
राजश्व चुहावटसम्बन्धी अनुगमन गर्न सरकारले उच्च स्तरका दुई छुट्टाछुट्टै संयन्त्र बनाएको छ । शुक्रबार मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
११. २ अर्बको धान किन्दै खाद्य कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष साढे दुई अर्बभन्दा बढीको धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको धानको समर्थन मूल्यमा देशभरबाट उक्त रकम बराबर ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन) धान खरिद गर्ने भएको हो ।
१२. ट्रम्पले जित्दा मख्ख छिन् हसिना
ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले कतिपय देशमा असहजता बढाएको छ भने कतिपय देश खुसी देखिएका छन् । के ट्रम्पको कार्यकालमा बंगलादेशले पहिलेजस्तो समर्थन प्राप्त गर्न सक्ला ? के अवामी लिगकी प्रमुख शेख हसिनाले गुमाएको राजनीतिक जग फिर्ता पाउन सक्लिन् ? अमेरिका र बंगलादेशको सम्बन्ध कुन दिशामा जाला ? यी प्रश्नप्रति धेरैको चासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश