शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक : मुख्यमन्त्री सिंह
राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले समृद्ध मधेस निर्माणका लागि शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताएका छन् । राजविराजमा आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन गुणस्तरीय शिक्षण सिकाइ र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिंहले अबको शिक्षा स्वदेशमै रोजगार र समृद्धि हासिल गर्ने खालको हुनुपर्ने भन्दै सोही उद्देश्यअनुसार प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको बताए ।
“प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर छ । दक्ष र प्रतिस्पर्धी बजारमा खपत हुने जनशक्ति उत्पादन गरेर भए पनि शिक्षा क्षेत्रलाई सुधार्न आवश्यक छ । त्यसका लागि प्रदेशमा प्राविधिक शिक्षा विकासमा जोड दिनुपर्ने आवश्यकता छ”, उनले भने ।
मुख्यमन्त्री सिंहले कृषि क्षेत्रमा सुधार नभएसम्म उद्योगको अवस्थामा सुधार नहुने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच प्राथमिकताका साथ काम गरिरहेको धारणा राखे ।