केबुलकार निर्माणको विषयमा झडप, ६ जना घाइते (तस्बिरहरु)
![केबुलकार निर्माणको विषयमा झडप, ६ जना घाइते (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/taplejung-jhadap-(6)_Gd3CD4nyf5.jpg)
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् ।
झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको छ ।
केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने क्रममा झडप भएको हो । सुरुमा केबुलकार पक्ष र विपक्षबिच झडप हुनसक्ने भन्दै प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको थियो । प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएपछि परियोजना पक्षका जनशक्ति उत्तेजित हुँदा झडप भएको स्थानीय बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको निर्देशनअनुसार चाबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले चाबी नियन्त्रणमा लिएको कारण झडप भएको बताए । आजै परियोजना निर्माणको कामको शिलान्यास गर्न एक्साभेटर लैजान लागिएको थियो ।
निर्माणस्थलमा परियोजनाविरुद्ध रहेका पक्षको उपस्थिति र तत्कालीन स्थिति असहज देखिएकाले झडपको खतरा रोक्ना एक्साभेटरको चाबी नियन्त्रणमा लिनुपरेको प्रजिअ शर्माले बताएका छन् । केही समयको झडपपछि प्रहरीले परियोजना विरुद्धमा रहेकालाई लखेटेको थियो । पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । केबुलकार परियोजना निर्माण गर्न लागेपछि परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
तस्बिर : चन्द्र पंन्दाक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ठूला आयोजना निर्माणमा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह
-
‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
-
भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित