आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

आन्तरिक रणनीति बनाउन व्यस्त तीन दल, कीर्तिपुर बन्यो मुख्य चासो

शुक्रबार, २३ कात्तिक २०८१, २० : १५
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।

त्यसका लागि उनीहरूले मातहतका कमिटीहरूमार्फत आन्तरिक रिपोर्ट मगाएर मतदाताको अवस्था, तालमेल र विपक्षीका उम्मेदवारबारे समेत विश्लेषण गरिरहेका छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मंसिर २ गतेको उम्मेदवारी दर्ताको समयलाई मध्यनजर गरेर प्रतिस्पर्धीको रणनीतिसमेत बुझ्दै र आफ्ना दलका उम्मेदवार छनोटको काम भइरहेको प्रमुख दलका नेताहरूको भनाइ छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, वडाध्यक्ष र जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने यो उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले तालमेल नगरी निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई उपचुनावको मुख्य कमाण्डर तोकेर आवश्यक रणनीतिसहितको गृहकार्य गरिरहेको छ । त्यसका लागि महामन्त्री शर्माले शुक्रबारमात्र बागमती र लुम्बिनी प्रदेश अन्तर्गत छलफल गरेका छन् ।

महामन्त्री शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजन समितिले सातै प्रदेशको चुनावका लागि समन्वय गर्न प्रदेश कमाण्डरहरू यसअघि नै तोकिसकेको छ ।

प्रदेश कमाण्डरहरूलाई स्थानीय तहका आफ्ना उम्मेदवार जिताउन प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीसँग आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ ।

निर्वाचनमा बढीभन्दा बढी परिणाम ल्याउन महालक्ष्मी उपाध्याय डिनालाई बागमती प्रदेश, भिष्मराज आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई कर्णाली र गण्डकीमा चुनावी कमाण्डर तोकेको कांग्रेसले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एनपी साउद तथा लुम्बिनी प्रदेश र निर्वाचन आयोगमा समन्वय गर्न पुष्पा भुसाललाई खटाएको उपनिर्वाचन संयोजन समितिका सदस्यसमेत रहेका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘कांग्रेसले निर्वाचन जितेका स्थानमा सुशासनको ग्राफ राम्रो भएकाले पनि यो चुनावमा राम्रो परिणाम ल्याउनेमा विश्वस्त छौँ’, विश्वकर्माले भने, ‘अहिले हुन गइरहेका अधिकांश स्थान पनि कांग्रेसले नै जितेका भएकाले उहाँहरूले गरेका राम्रा कामलाई निरन्तरता दिन पनि मतदाताले कांग्रेसलाई रोज्छन् भन्नेमा ढुक्क छौँ ।’

विश्वकर्माले उपनिर्वाचन केन्द्रित पार्टीको आन्तरिक रणनीति अहिले नै खुलाउन नमिल्ने जनाए । ‘स्पेसिफिक रणनीति यही हो भनेर भन्न मिल्दैन । त्यो त फिल्डमा देखिने हो’, विश्वकर्माले रातोपाटीसँग भने, ‘आवश्यक सबै रणनीति अपनाइन्छ ।’

दोस्रो ठुलो दल नेकपा एमालेले प्रदेश तथा जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस र छनोटको जिम्मा दिएको छ । उसले आफ्नो आन्तरिक चुनावी रणनीति बनाउन शनिबार केन्द्रीय सचिवालयको बैठक डाकेको छ । उक्त बैठकले चुनाव जित्न सक्ने स्थान र उम्मेदवारको विश्लेषण गरेर सोही अनुसार थप सैद्धान्तिक रणनीति तर्जुमा गर्ने बताइएको छ ।

‘उपनिर्वाचनको आवश्यक रणनीति बनाउन सचिवालय बैठक बस्दैछ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले रातोपाटीसँग भने, ‘धेरैजसो जिम्मेवारी जिल्ला र प्रदेशलाई दिइएको छ । सैद्धान्तिक रणनीति आवश्यक परे सचिवालयले सोही अनुसार निर्देशन दिन्छ ।’

त्यस्तै पहिलो पटक स्थानीय निर्वाचनको परीक्षण गर्न लागेको चौथो दल रास्वपाले तालमेल नगर्ने नीति बनाएको छ । अन्य पार्टीभन्दा फरक ढंगले उम्मेदवार छनोटको विधि अपनाएको रास्वपाले उम्मेदवार बन्न चाहनेसँग आवेदन मागिसकेको छ । प्राप्त आवेदनका आधारमा उसले कार्तिक २९ गते उम्मेदवार छनोट गर्ने जनाइएको छ ।

राप्रपा र नेकपा एकीकृत समाजवादीले पनि उपचुनावको तयारी आआफ्नै ढंगले गरिरहेको बताएका छन् ।

कीर्तिपुरमा प्रमुख दलको चासो

यो उपचुनाव पार्टीहरूका लागि आफ्नो जनमतको ताजा अवस्थाबारे नमुना परीक्षणको अवसरसमेत हुने देखिएको छ । किनभने ‘मिसन ०८४’ मा लागेका प्रमुख दलहरूले आफ्नो वास्तविक धरातलको छनक यही उपचुनावबाट बुझ्ने अवसरका रुपमा लिने देखिन्छ ।

त्यसैले पनि दलहरूले उपचुनावलाई चासो र प्रतिष्ठाको विषय बनाएको नेताहरू बताउँछन् ।

यस क्रममा देशकै राजधानी काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमाथि प्रमुख दलहरूको मुख्य नजर र सरोकार देखिएको छ ।

कीर्तिपुरको मेयरसहित दुई वडाध्यक्ष र काठमाडौँ महानगरपालिका– १६ वडामा हुने उपनिर्वाचनको नतिजा आआफ्नो पक्षमा पार्न उनीहरूले सम्पूर्ण शक्ति खर्चिने र नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्ने भएका छन् ।

‘कीर्तिपुर नगरपालिकामा हाम्रो मुख्य फोकस हुन्छ । साथै अरु स्थानमा पनि जतिसक्दो बढी नतिजा आफ्नो पक्षमा पार्ने प्रयत्नलाई कमी हुन दिँदैनौँ’, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा नगरसभापति कृष्णमान डंगोलसहित ११ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

कीर्तिपुरमा २०७९ मा भएको स्थानीय चुनावमा मेयर पदमा कांग्रेसकै राजकुमार नकर्मी निर्वाचित भएका थिए । कांग्रेसलाई यो पटक आफ्नो सो विरासत जोगाउने चुनौती छ ।

त्यस्तै एमालेले पनि कीर्तिपुर नगरपालिकालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम आसन्न उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरको प्रमुख र कामनपा वडानम्बर १६ एमालेका लागि प्रतिष्ठाको विषय भएको बताउँछन् ।

‘राजधानीको सचेत जनमतले के नतिजा दिन्छ भन्ने कुरा निर्णायक र नमुना हुन्छ । सचेत जनताको जनादेश कता जान्छ भनेर सबैको ध्यान केन्द्रित भएको अवस्थामा एमालेलाई पनि चासो हुने नै भयो’, गौतमले रातोपाटीसँग भने, ‘कीर्तिपुर नगरपालिका संगठनात्मक रुपमा नेकपा एमालेको बलियो जनाधार र २०७४ मा पनि जितेको क्षेत्र हो । त्यो इतिहास फर्काउन एमाले लागिरहेको छ ।’

उनले गत संसदीय निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनसँग एक्लै सामना गर्नुपरेको अवस्थामा पनि एमालेले सम्मानित मत प्राप्त गरेको स्मरण गराए । यो पटक एक्लाएक्लै चुनाव लड्ने अवस्थामा बौद्धिक र स्थानीयको समेत प्रतिनिधित्व गर्ने उम्मेदवार बनाएकाले कीर्तिपुरसहितका बहुमत स्थानमा एमालेले चुनाव जित्ने उनको दाबी छ ।

कीर्तिपुर नगरपालिकामा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । २०७० सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेर दोस्रो भएका मानन्धर एमालेभित्र बौद्धिक नेताका रुपमा चिन्छिन् ।

२०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेको कीर्तिपुर नगरपालिकामा माओवादीको पनि उल्लेख्य जनमत रहेको सो पार्टीका नेता बताउँछन् । कीर्तिपुरसहित समग्र उपनिर्वाचनबारे आवश्यक रणनीति बनाउन माओवादीले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।

‘आवश्यक रणनीतिका लागि आइतबार पदाधिकारी बैठक बस्दैछ’, उपाध्यक्ष पम्फा भुसालले रातोपाटीसँग भनिन्, ‘कीर्तिपुरको चुनाव जिताउने जिम्मा काठमाडौँका इन्चार्ज सुर्य सुवेदीलाई दिइएको छ ।’

कीर्तिपुरको मेयरका लागि माओवादीले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । महर्जनलाई रोज्नुमा माओवादीले बौद्धिकता, खानेपानी समस्या समाधानमा भूमिका खेलेको र सहकारीबाट जनताको आर्थिक समस्या समाधानमा भूमिका खेलेको आधार पेस गरेको छ ।

राप्रपाले कीर्तिपुरको नगरपालिका प्रमुखमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

काठमाडौँको १६ नम्बर वडा पनि चासो 

कीर्तिपुरपछि प्रमुख दलहरूका लागि काठमाडौँ महानगरको वडा नम्बर १६ मा पनि मुख्य चासो देखिएको छ । यसअघि कांग्रेसबाट मुकुन्द रिजालले जितेको यो वडामा उनको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठुलोमध्येमा पर्ने र सर्वाधिक मतदाता रहेको यो वडाले शहरी जनमतको ताजा अवस्था प्रस्ट्याउने दलहरूको बुझाइ छ । सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्रका मतदाताले उपनिर्वाचनमा मतदान गर्दैछन् ।

१६ नम्बर वडामा गत निर्वाचनमा कांग्रेसका मुकुन्द रिजाल ४,०१९ मतका साथ वडाध्यक्ष निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३,३१० मत पाएका थिए । एमालेले उपनिर्वाचनमा पनि तुलाधरलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेस र माओवादीले भने अझै टुङ्गो लगाइसकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप