शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटन व्यवस्थापनमा समस्या

टीआईएको सञ्चालन छोटिएपछि पर्यटन व्यवसायीसँग के छ विकल्प ?

शुक्रबार, २३ कात्तिक २०८१, १८ : ००
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सञ्चालनको अवधि छोटिएपछि पर्यटन व्यवसायीहरू त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्यामा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि लागु हुनेगरी विमानस्थलको सञ्चालन राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेसँगै आन्तरिक तथा बाह्य उडानहरु घटेका छन् ।

योसँगै विदेशबाट आउने पर्यटकको व्यवस्थापनदेखि आन्तरिक भ्रमणको व्यवस्थापन समेत असहज बनेको उनीहरूको भनाइ छ । हवाई भाडा अस्वभाविक रूपमा बढेकोले पर्यटन क्षेत्र नै धराशायी भन्ने समेत उनीहरूको चिन्ता छ ।

नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया अहिले भाडा अत्यधिक महँगो हुनुमा सरकार र नियामक निकायको निकम्मापन प्रमुख कारण रहेको बताउँछन् । यति लामो समय विमानस्थल बन्द गर्दा कस्तो असर पर्नसक्छ भन्ने अनुमान नै नगरी १० घण्टासम्म विमानस्थल बन्द गरिएकोमा उनको आपत्ति छ ।

‘हामीले विमानस्थल बन्द गर्नुस् तर ६ घण्टा मात्रै गर्नुस् भनेका थियौँ । बेलुका २ घण्टा समय बढेको भए बाहिरबाट आउने धेरै जहाज आउन सक्थे । यो भएको भए अहिलेको जसरी भाडा बढ्ने अवस्था आउँदैनथ्यो,’ थपलिया भन्छन्, ‘हामीले अघिल्लो पर्यटनमन्त्रीदेखि अहिलेको मन्त्रीसम्मलाई पटक पटक भेटेर भन्यौँ, तर उहाँहरूले मान्नुभएन ।’ उनका अनुसार बिहान पनि आठ बजे मात्रै एयरपोर्ट खुल्दा माउन्टेन फ्लाइट त गर्नसक्ने अवस्था छैन ।

हवाई भाडा बढ्दा के हुन्छ भन्ने महशुस गर्नसक्ने व्यक्ति निर्णय गर्ने ठाउँमा नहुँदा अहिलेको समस्या आएको उनी बताउँछन् । ‘नेपालको एउटा वर्ग छ जसलाई हवाई भाडा जति पुगे पनि समस्या छैन । किनभने उनीहरु जति भाडा तिरेर पनि यात्रा गर्छन्, सरकारसँग शोधभर्ना लिन्छन् । त्यही वर्गको मान्छे अहिले निर्णायक वर्गमा छन्, समय घटाएर भाडा बढ्दा रोजगारीका लागि विदेश जाने श्रमिकदेखि सानो सानो व्यवसाय गर्ने ट्राभल अपरेटर्ससम्मलाई कस्तो असर पर्छ भन्ने उहाँहरुलाई थाहै छैन ।’

विमानस्थल बन्दको निर्णय र नयाँ उडान तालिका समेत आइसकेपछि अब यो समय घटाउन सजिलो छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्रको अबको भविष्य के हुन्छ त ? थपलिया भन्छन्, ‘यसको विकल्प पर्यटकको अराइभल कम गर्ने नै हो । तेब्बर चौबर नेपाल घुम्न आउँदैन, उनीहरुसँग अरु पनि धेरै विकल्प हुन्छ ।’

उनका अनुसार सरकारको निर्णयले अर्को सिजनलाई पनि असर गर्छ । थपलिया भन्छन्, ‘क्यानले अप्रिल १ तारिखसम्म एयरपोर्ट बन्द हुन्छ भनेको छ । हाम्रो सिजन त्योभन्दा अगाडि नै सुरु हुन्छ, त्यसैले यो निर्णयले दुईवटै सिजनमा असर पर्छ ।’

‘अन्तर्राष्ट्रिय भाडामा नियन्त्रण हुनसक्छ’

क्यानले अन्तर्राष्ट्रिय हवाई भाडाको दर माग र आपूर्ति अनुसार निर्धारण हुने र यसमा आफ्नो कुनै भूमिका नहुने बताउँदै आएको छ । यद्यपि यसमा ट्राभल एजेन्टसहरु सहमत छैनन् । नाट्टाकै पूर्वअध्यक्ष अच्युत गुरागाईँ अहिलेकै अवस्थामा सरकारले अन्तर्राष्ट्रिय हवाई भाडाको नियमन गर्नसक्ने र यसअघि गरेको अभ्यास पनि रहेको बताउँछन् ।

कोभिडको समयमा आफू अध्यक्ष हुँदा सरकारलाई दबाब दिएर अमेरिकाको भाडादर घटाएको उनको स्मरण छ । गुरागाईँ भन्छन्, ‘त्यतिबेला मैले मन्त्रालयमा गएर दिनदिनै झगडा गरेर अमेरिका पुग्न ३२०० डलरको भाडा १७०० मा त झारेको हो नि । अहिले चाहिँ सम्भव नहुने भन्ने हुन्छ र ?’

त्यतिबेला भाडा नियन्त्रण गर्दा नेपाल एयरलाइन्सले खर्चको क्याल्कुलेसन गर्ने, लागतको आधारमा बढीमा १७०० अमेरिकी डलरभन्दा भाडा लिन नपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

अरु विमानस्थलको विकल्प कति ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटेसँगै अहिले भैरहवा पोखरादेखि सीमावर्ती भारतीय विमानस्थलदेखि दिल्लीलाई समेत विकल्पको रूपमा हेरिएको छ । तर, पर्यटन व्यवसायी भने यसमा आशावादी देखिँदैनन् ।

भैरहवा र पोखरा विमानस्थल राम्रोसँग सञ्चालन भए यसले टीआईएको विकल्पमा काम गर्ने भए पनि विमान कम्पनीहरूले त्यहाँ उडान भर्ने रुचि देखाएका छैनन् । सीमावर्ती भारतीय एयरपोर्टको विकल्प भए पनि त्यो गन्तव्यबाट पर्यटक सम्भव नभएको व्यवसायी बताउँछन् ।

नाट्टाका अध्यक्ष थपलिया सीमा नजिकका भारतीय विमानस्थलबाट पर्यटकलाई नेपाल सिभत्र्याउनसक्ने सम्भावना भए पनि दुईवटा कारणले तत्काल यो विकल्प उपयुक्त छैन । थपलिया भन्छन्, ‘यसका लागि लजिष्टिकको व्यवस्थापन गर्नुपर्छ, त्यसैले समय लाग्छ । अर्को चाहिँ त्यहाँबाट काठमाडौँ आउने बाटो पनि राम्रो छैन त्यसैले त्यहाँबाट पर्यटक भित्र्याउन सकिने भन्ने अवस्था पनि देखिँदैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप