शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय
विज्ञ र प्राधिकरणलाई प्रश्न

स्तरोन्नतिका लागि विमानस्थल १० घण्टा बन्द गर्नु कति उचित ?

शुक्रबार, २३ कात्तिक २०८१, १५ : ४०
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (शुक्रबार)देखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर स्तरोन्नतिको काम गर्दैछ । क्षमता र गुणस्तर अभिवृद्धिका लागि स्तरोन्नति आवश्यक भएको भनिएको विमानस्थल शुक्रबारदेखि कम्तीमा ५ महिना राति १० देखि बिहान ८ बजेसम्म ठप्प हुनेछ । 

यसअघि विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । यो अवधिमा प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय ‘एप्रोन’ र पूर्वतर्फ ‘ह्याङ्गर एप्रोन’ बनाउने योजना बनाएको छ । यो योजना सम्पन्न भएपछि विमानस्थलको क्षमता २० प्रतिशतभन्दा बढी हुने र एयर ट्राफिक व्यवस्थापन सहज हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि १० घण्टाका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । ‘फराकिलो विमानस्थल भएको र पर्याप्त ठाउँ भइदिएको भए ट्याक्सी वे निर्माण गर्दा यति लामो समय विमानस्थल बन्द गर्नुपर्ने थिएन होला । तर हाम्रो विमानस्थल साँघुरो छ,’ अधिकारी भन्छन्,  ‘त्यसमाथि रातको समयमा प्रायः ठुला विमानहरू उडान, अवतरण गर्छन् । विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग हुनुपर्छ । जहाँ अन्य कुनै वस्तुहरू हुनुहुँदैन । यसले गर्दा उडान बन्द गर्ने निर्णय गर्नुपरेको हो ।’ 

उनी भन्छन्, ‘यसरी रनवेको दायाँबायाँ आइकाओको मापदण्ड पूरा हुन सकेन भने विमानस्थल खोल्नै पाइँदैन । यसमा अन्य प्राविधिक कारण पनि भएकाले बन्द गर्नुको विकल्प नदेखेका हौँ ।’

अधिकारीका अनुसार ट्याक्सीवेलाई रनवेमा जोड्नका लागि संरचनागत काम गर्नुपर्नेछ । त्यसको लागि विमानस्थल बन्द गर्नुको विकल्प छैन । त्यसमाथि गरिने पिच र अलकत्रा सेट हुन लाग्ने समयले पनि १० घण्टा बन्द गर्नुपरेको महानिर्देशक अधिकारीको भनाइ छ । 

यस विषयमा विज्ञहरूका पनि आ–आफ्ना तर्क छन् । पुलचोक क्याम्पस एरोस्पेस विभाग प्रमुख सुदीप भट्टराई विमानस्थलको सुरक्षा लगायत कारण निर्माणको क्रममा बन्द गर्नुलाई उचित ठान्छन् । ‘रनवेसँग जोडिएका प्राविधिक र संरचनागत काम गर्नलाई केही समय विमानस्थल बन्द गर्नुलाई अन्यथा मान्नु हुँदैन,’ उनी भन्छन्, ‘तर प्राविधिक पाटोको मिहिन विश्लेषण गरेर दैनिक १० घण्टाको समय छोट्याउने र ५ महिनाको साटो अलि लामो अवधि लगाउने विकल्पबारे अध्ययन पनि गर्न सकिन्छ ।’ 

दैनिक लामो समय विमानस्थल बन्द हुँदा त्यसले समग्र हवाई क्षेत्रलाई नै प्रभाव पार्ने भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘यसै पनि जाडो समयमा बिहान काठमाडौँबाट हुने हरेक उडानमा ढिलाइ हुन्थ्यो । अब झन् ८ बजे भनेको उडान दुई घण्टा मात्रै ढिला हुनसाथ त्यसले दिनभरको उडान, अवतरण तालिका र रातिको स्तरोन्नति दुवैलाई असर पार्न सक्छ ।’ 

एरोन्युटिकल इन्जिनियर सर्वज्ञ बराल भने यस्ता संरचनागत कामको लागि विमानस्थल बन्द गर्ने गरेको विषय अन्त कतै नसुनेको बताउँछन् । ‘ट्याक्सी वे, ह्याङ्गर एप्रोन जस्ता संरचना बनाउन यति लामो समय बन्द गर्नुपर्ने आवश्यकता छैन,’ उनी भन्छन्, ‘ट्याक्सीवेलाई रनवेसँग जोड्ने बेला केही दिन, केही समय मात्रै विमानस्थल बन्द गरेर यो काम गर्न सकिन्थ्यो ।’ सामान्य कामको लागि मुलुकको प्रमुख र चालु रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई यसरी भद्रगोल   बनाउँदा समग्र उड्डन क्षेत्र नै प्रभावित हुने उनको भनाइ छ । 

भैरहवा र पोखरा चलाउने गलत तरिका !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि लामो समय बन्द हुने भएसँगै प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पका रूपमा प्रस्तुत गरेको छ । त्यसैले विज्ञहरूले चलाउन नसकेका दुई विमानस्थल चलाउने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको नाममा बन्द गरिएको आशंका गरेका छन् । 

तर यी दुवै विमानस्थल प्राविधिक र आर्थिक रूपमा ठुलो विमानका लागि अनुपयुक्त रहेको विज्ञहरूको बुझाइ छ । पुलचोक क्याम्पसका भट्टराईका अनुसार पोखरा अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि योग्य नै छैन । भैरहवामा भने साना खालका क्षेत्रीय विमान उडान र अवतरण गर्न सकिन्छ । ‘भैरहवाको भौगोलिक बनोट र रनवेका कारण तुलनात्मक रूपमा पोखराभन्दा थोरै सहज छ । त्यसैले त्यहाँ क्षेत्रीय रूपमा उड्ने अन्तर्राष्ट्रिय विमानहरू उडान सकिन्छ । तर काठमाडौँबाट राति १० बजेपछि उडिरहेका ठुला विमानहरू भैरहवामा उड्न जटिल छ,’ उनी भन्छन्, ‘त्यसैले भैरहवाबाट ठुला खालका वाइडबडी, बोइङ लगायतका विमान उडान, अवतरण गराउनु प्राविधिक रूपमा उचित छैन । आर्थिक रूपमा पनि भैरहवा ठुला विमानका लागि अनुपयुक्त हो । ठुला विमानले त्यहाँको सञ्चालन खर्च नै धान्न सक्दैनन् ।’

एरोन्युटिकल इन्जिनियर बराल पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य नभएको बताउँछन् । ‘त्यो किन र केका लागि बनाएको सरकारलाई थाहा होला । तर भूबनोट, त्यसको अवस्थिति, रेनवे लगायतका कारण पोखरामा ठुला जहाज उडाउन सम्भवै छैन,’ उनी भन्छन्, ‘भैरहवामा ठुला जहाज मुस्किलले उडाए पनि आर्थिक रूपमा एयरलाइन्स टिक्न सक्दैन । त्यसैले काठमाडौँ विमानस्थललाई बन्दको बहाना बनाएर पोखरा, भैरहवा चलाउन खोज्नु थप मूर्खता हुनेछ ।’ काठमाडौँलाई ठुला विमानको केन्द्र र भैरहवालाई क्षेत्रीय उडानमा लगाउँदा मुलुकको हित हुने बरालको सुझाव छ ।

तर प्राधिकरणका महानिर्देशक अधिकारी बहानाभन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको बताउँछन् । उनी भन्छन्, ‘स्तरोन्नतिका लागि काठमाडौँ बन्द भएपछि भैरहवा र पोखरामा स्लट प्रस्ताव गरेका छौँ । यसमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले बिस्तारै चासो बढाएका छन् ।’

उनका अनुसार काठमाडौँ विमानस्थलमा उडान कटौती भएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गर्ने निश्चित भएको छ । थाई एयर एसिया, फ्लाई दुबई र जजीरा एयरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको छ । कतार एयरवेजले पनि भैरहवाबाट उडान गर्ने लगभग निश्चित छ । अधिकारी भन्छन्, ‘भैरहवा चलेसँगै काठमाडौँको चाप मात्रै कम हुनेछैन । प्रतिस्पर्धी हवाई भाडा पनि लागू हुनेछ ।’ 

प्राधिकरणलाई २ अर्ब नोक्सानी

स्तरोन्नतिका लागि १५ अर्ब खर्च गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले १० घण्टा विमानस्थल बन्द गर्दा ५ महिनामा २ अर्ब आम्दानीसमेत गुमाउने छ । अधिकारी भन्छन्, ‘चालु आवमा प्राधिकरणको २ अर्ब आम्दानीसमेत गुम्दैछ । यसरी जोखिम लिएर काम गर्न थालेको मुलुकको दीर्घकालीन हितकै लागि हो । अरु रणनीति केही छैन ।’ 

काठमाडौँ विमानस्थल केही समय बन्द हुँदा भैरहवा र पोखरा चल्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘क्यान समग्र रूपमा मुलुकको हवाई क्षेत्रको विकास र विस्तार गर्ने निकाय हो । यसले काठमाडौँ मात्रै हेर्नुपर्छ भन्ने छैन,’ महानिर्देशक अधिकारीले भने, ‘यताको स्तरोन्नति हुने र बाहिरका दुई विमानस्थल नियमित चले भने मुलुककै हित हुने नै हो नि होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप