बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

निरौलालाई सांसदहरूको प्रश्न : अदालतप्रति भरोसा किन डगमगायो ?

शुक्रबार, २३ कात्तिक २०८१, १४ : २०
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलालाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । शुक्रवार संसदीय सुनुवाइका क्रममा निरौलालाई सांसदहरूले न्यायालयसँग जोडेर विभिन्न प्रश्न गरेका हुन् ।

सांसद जीवन परियारले निरौलालाई न्याय दिने प्रक्रियामा कर्मचारीबाट अदालतमा हुने असहयोगलाई कसरी हेर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।  ‘पञ्चायतकालमा समेत अदालतबाट न्याय पाईन्छ विश्वास थियो तर अहिले बहुदल आयो अदालतप्रति विश्वास हराउँदै गएको छ । यसको कमजोरी अदालतको हो कि संसद्को हो ? अर्को चुनौती फैसला कार्यान्वयनको छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?’ उनले निरौलालाई प्रश्न गरे । 

त्यस्तै सांसद प्रकाश अधिकारीले बार र बेन्चबिच अझै पनि विवाद कायम रहेको भन्दै त्यसलाई कसरी सुधार गर्नुहुन्छ भन्दै प्रश्न गरे । ‘देशमा सुशासन कायम गर्नुपर्ने छ तर न्यायालयबाटै त्यसको पालना हुँदैन भने देशमा कसरी सुशासन स्थापना  हुन्छ । न्यायाधीश सिफारिसमा पनि किन रोलक्रम वरिष्ठताका आधारमा सिफारिस हुँदैन ?’ प्रस्तावित न्यायाधीश निरौलामाथि अधिकारीको प्रश्न थियो ।

अधिकारीले भने- न्याय नपाए गोरखा जाउँ भन्ने भनाइलाई न्याय नपाए सर्वोच्च जाऊँ भन्ने अवस्थामा कसरी पुर्याउन सक्नुहुन्छ ? ’ अर्का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायालयमा सही न्याय भन्दा पनि बिचौलियाको प्रवेश बढ्दै गएको जनमानसको गुनासो रहेको बताए । उनले प्रश्न गरे- ‘सही न्याय दिन, फैसला कार्यान्वयनलाई व्यवहारमा उतार्न तपाईँको कस्तो भूमिका रहन्छ ?’ 

उनले न्यायिक सुशासन बोलेर मात्र होइन व्यवहारमा कसरी उतार्न सक्नुहुन्छ भन्दै प्रश्न गरे । उनले भने- ‘तपाईंको विरुद्धमा २ वटा उजुरी छ, त्यसबारेमा तपाईंको भनाई के छ ?

त्यस्तै सांसद महेशकुमार बर्तौलाले अदालतप्रति भरोसा डगमगाएको बताउँदै यो किन हुन खोजेको हो भन्दै प्रश्न गरे । ‘न्यायमुर्तिहरूको व्यवहार कार्यशैली जिम्मेवार रहेको छ । कुनै मुद्दामा बिहानै यो फैसला आउँदैछ भनेर अगाडि नै भन्न सकिने अवस्था भएको छ । फलानोको बेन्चमा पर्‍यो, त्यसबाट हुँदैन भनेर अर्को बेन्चका लागि मुद्दा सार्ने अवस्था किन सिर्जना भएको छ ? बर्तौलाकाे   प्रश्न थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप