बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

पेनलेस डेलिभरी : आमालाई पीडामा नपारी बच्चा कसरी जन्माउने ?

शुक्रबार, २३ कात्तिक २०८१, १३ : १९
शुक्रबार, २३ कात्तिक २०८१

नौ महिना गर्भधारणपछि सन्तानलाई जन्म दिने प्रक्रिया नै प्रसूति हो । पहिलोपटक सन्तानलाई जन्म दिँदा सामान्यतः १६ देखि १८ घण्टासम्मको प्रसव व्यथा रहन्छ, जुन वास्तवमै पीडादायक हुन्छ, तर मातृत्वको वास्तविक क्षण नै यही भएकाले यसलाई आनन्दको क्षणमा बदल्न नर्भिक इन्टरनेसनल अस्पतालले पेनलेस डेलिभरी अर्थात् पीडारहित प्रसूतिको अवधारणा ल्याएको छ । यसमा सामान्य सुत्केरीका बेलाजस्तो पीडा हुँदैन, जसले गर्दा आमाले हरेक पल आनन्द महसुस गर्न सक्छन् ।

  • सामान्य र पीडारहित प्रसूति  

सामान्य प्रसूतिमा गर्भधारणको नौ महिना लागिसकेपछि गर्भवती महिलालाई सुत्केरी हुने सम्भावित डेट दिइएको हुन्छ । उक्त मितिभन्दा एक हप्ताअघि या पछि प्रसव प्रक्रिया सुरु हुन्छ । 

सुरुलाई ‘लेटेन्ट फेज अफ लेबर’ भनिन्छ, जुन एक–दुई दिन रहन्छ । यस्तो बेला पीडा बिस्तारै हुन्छ तर बढी पीडा हुन थाल्यो, योनिबाट पानी बग्न थाल्यो भने वास्तविक प्रसवपीडा सुरु भएको मानिन्छ । यस्तो बेला पाठेघरको मुख बिस्तारै खुल्दै जाने र बच्चाको टाउको बिस्तारै तलतिर झर्दै आउनुपर्ने हुन्छ । पाठेघरको मुख चार सेन्टिमिटर खुलेपछि सक्रिय प्रसव सुरु हुन्छ । यही अवधिलाई पीडारहित बनाउने काम गरिन्छ । 
यस्तो बेला प्रसव प्रक्रिया त जारी रहन्छ तर पीडादायी क्षणलाई आमाले बिर्सन्छिन् । त्यो पलमा आमाले संसारमा अवतरण गर्न लागेको सन्तानको प्रतीक्षा गर्दै आनन्द अनुभूति गर्न सक्छिन् । प्रसूतिको यो प्रक्रियामा आमाले आनन्दको अनुभूति गर्न सकून् भनेर पीडारहित डेलिभरी सुरु गरिएको हो । 

बढी पीडा हुन थाल्यो, योनिबाट पानी बग्न थाल्यो भने वास्तविक प्रसवपीडा सुरु भएको मानिन्छ । यस्तो बेला पाठेघरको मुख बिस्तारै खुल्दै जाने र बच्चाको टाउको बिस्तारै तलतिर झर्दै आउनुपर्ने हुन्छ । पाठेघरको मुख चार सेन्टिमिटर खुलेपछि सक्रिय प्रसव सुरु हुन्छ । यही अवधिलाई पीडारहित बनाउने काम गरिन्छ । 
  • कसरी गराइन्छ पीडारहित प्रसूति ? 

पाठेघरको मुख चार घर अर्थात् चार सेन्टिमिटर खुलिसकेपछि ढाडमा एउटा इन्जेक्सन दिइन्छ, जसबाट क्याथेटर हालिन्छ । त्यो क्याथेटरबाट एनेस्थेसियोलोजिस्टले दुखाइ कम गर्ने औषधि राख्छन् । यो विधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । क्याथेटर लिएरै बाथरुम जान, यताउति हिँड्न सकिन्छ । दुखाई कम गर्ने औषधि दिँदा निश्चित समयसम्म पीडा महसुस हुँदैन । पुनः पीडा हुन थालेपछि औषधि पुनः थपिन्छ । 

यसरी दुखाइ कम गर्ने औषधि राख्दा सुत्केरीलाई नाइटोभन्दा मुनि पीडा महसुस हुँदैन । खुट्टाहरूमा अलिकता चेतना गुमेजस्तो या लाटोपन भएजस्तो अनुभूति हुन्छ । प्रसवपीडा भए पनि आमालाई प्रसवपीडामा भएजस्तो लाग्दैन । त्यो बेला उनीहरू परिवार, आफन्तजनसँग कुरा गर्दै आनन्द महसुस गर्दै बस्न सक्छन् । 

  • आमा र बच्चालाई हानि गर्छ कि गर्दैन ? 

पेनलेस डेलिभरीमा आमा र बच्चालाई कुनै हानि हुँदैन । नदुख्ने औषधि राखेपछि ‘एनेस्थेसियोलोजिस्ट’हरूले लगातार निगरानी गरिरहेका हुन्छन् । खुट्टामा चेतना कत्तिको छ ? खुट्टा चलेको छ कि छैन ? रक्तचाप र मुटुको चाल कति छ ? बिरामी हिँडेको वा पिसाब फेरेको छ कि छैन ? आदि कुरामा निगरानी गरी उनीहरूले औषधिको डोज घटाउने, बढाउनेजस्ता कुरा तय गर्छन् । यो बेला स्त्रीरोग विशेषज्ञहरूले पनि समानान्तर रूपमा निगरानी गरिरहेका हुन्छन् । 

पाठेघरको मुख १० सेन्टिमिटर खुलेपछि बच्चाको टाउको देखिन थालेको हुन्छ । त्यसो हुनेबित्तिकै क्याथेटरबाट दिइने औषधि बन्द गर्नुपर्ने हुन्छ । अनि बल्ल बिरामीलाई पीडा महसुस हुन्छ । 

त्यसपछि बच्चा निकाल्ने प्रक्रिया सुरु हुन्छ । बिरामीका पति अथवा परिवारलाई प्रसूति कक्षमै राखिन्छ । अनि, बिरामीलाई प्रोत्साहन गर्दै बल गर्न लगाइन्छ । यो प्रक्रिया दुई घण्टा जति चल्न सक्छ । दुई घण्टा जतिमा पनि बच्चा निस्केन, बच्चामा केही असहज अवस्था आयो भने अन्य साधन लगाएर बच्चा निकालिन्छ । 

बच्चा जन्मेपछि साल निकाल्न पनि बिरामीको सहयोग चाहिन्छ । साल निस्केपछि सबै ठिक छ भने एक घन्टा प्रसूति कक्षमै राखिन्छ । त्यो एक घण्टामा रगत नआओस्, पिसाब गर्न गाह्रो नहोस् भनेर हेरविचार गरिन्छ । यसरी दोस्रो चरणको प्रसव व्यथा सुरु भएपछि प्रसूति कक्षमा २ देखि ३ घण्टासम्म राख्ने गरिन्छ । त्यसपछि शिशुसहित वार्डमा पठाइन्छ । 

(वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. वैद्य नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. अचला वैद्य
प्रा.डा. अचला वैद्य
लेखकबाट थप